१०-१६ साउन २०७२ | 26 July - 1 Aug

'गोर्खालीले न्याय पाउने छन्'

Share:
  

नेपाल–बेलायत कूटनीतिक सम्बन्धको २०० वर्ष पुगेको अवसरमा बेलायतमा प्रस्तुतिको तयारी गरिरहेको सांगीतिक समूह नेपथ्य का गायक अमृत गुरुङ भन्छन्, “यो कार्यक्रम सम्पूर्ण गोर्खाली सैनिकप्रति समर्पित हुनेछ।”

१२ वैशाखपछिका सांगीतिक कार्यक्रमहरू भूकम्पपीडितको सहयोगमा केन्द्रित गर्ने घोषणा गर्नुभयो। के कति सहयोग जुट्यो?

उठेको रु.४० लाख प्रधानमन्त्री राहत कोषमा हालिदियौं। मैले व्यक्तिगत रुपमा सिन्धुपाल्चोक र दोलखावासीलाई पनि सहयोग गरें। उनीहरूका कुरा सुनें। धेरैले 'हाम्रो जिन्दगीमा अरू वेला पनि भूकम्प आएकै थियो, अहिले अलि बढी लथालिङ्ग पारेको मात्रै हो' भने।

विश्वकै चर्चित विम्बले एरेनापछि ओ टु ब्रिक्सटन हलमा कार्यक्रम गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ?

राम्रो हलमा कार्यक्रम गर्ने इच्छा त रहन्छ नै। विडम्बना हामी नेपाली अझ्ौ पनि सभा हल वा सिनेमा हलमै सीमित छौं। यसपटकको कार्यक्रम नेपाल–बेलायत दौत्य सम्बन्धको २०० वर्ष पुगेको अवसरमा गर्न लागिएको हो। उच्चस्तरीय साउन्ड, लाइट र दर्शकको उपस्थिति पाउँदा वेग्लै मजा आउँछ।

गीत चाहिं उही पुरानै हुन् या नयाँ पनि छन्?

यसपटक नेपथ्यको दशौं अल्बममा समावेश हुने चार/पाँच वटा गीत सुनाउने छौं। विशेषतः भारतीय गोर्खा रेजिमेन्टहरूमा लोकप्रिय 'नैनाताल, नैनाताल घुमी आयो रेल' र हाक्पारे 'कोशीको पानी यो जिन्दगानी' पनि प्रस्तुत गर्छौ। यो कार्यक्रम विश्वभर तैनाथ गोर्खा सैनिकप्रति समर्पण गरेका छौं।

तर, बेलायतले मनाइरहेको २०० वर्षको कार्यक्रमलाई पूर्व बेलायती गोर्खा सैनिकले बहिष्कार गर्ने निर्णय गरेका छन् नि?

हामी जस्ता कलाकारले यस्ता विषयमा नबोलेकै बेस! हुन त म लाहुरे संस्कारमै हुर्किएको हुँ। मेरा बाजे, काका–मामाहरू लाहुर गएकै हुन्। बेलायतलाई चाहिएका वेला गोर्खालीले ज्यानको बाजी थापेर लडे। अहिले तिनै गोर्खालीका सन्तानलाई भेदभाव गरिंदैछ। गोर्खालीले यसकै विरोध गरेका होलान्। एक दिन न्याय पाउने छन्।

यसबाहेक नेपथ्यका योजना के के छन्?

दशौं अल्बम निकाल्ने तयारीमा छौं। दशैंअघि नेपालमै कन्सर्ट गर्नेछौं। नेपाली संस्कार र कथा–व्यथा बुझ्न यसपालि सुदूरपश्चिम घुम्ने योजना छ। स्थानीयको भावना गीतमा उतार्न आफूलाई परिष्कृत गर्ने मेसो मिलाइरहेको छु।

comments powered by Disqus

रमझम