२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

'अमानवीय कार्य अक्षम्य'

Share:
  

तराई मधेशमा भइरहेको विरोध प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्ती भन्छन्, “कसैले कुनै पनि बहानामा मानवअधिकार उल्लंघन गर्न पाउँदैन, हिंसा क्षम्य हुन सक्दैन।”

कैलाली घटनामा माओवादी पूर्व लडाकूको संलग्नता भन्ने आयोगको ठहर आयो। यसको संकेत के हो?

यो आयोगको ठहर होइन, हामीले विज्ञप्तिमा अरुबाट प्राप्त जानकारी उद्धृत गरेका मात्रै हौं। कैलालीको घटना नियोजित हो भन्ने चाहिं हाम्रो निष्कर्ष छ।

तराई मधेशको विरोध प्रदर्शन झन् हिंसात्मक बन्दै गएको छ। त्यहाँ मानवअधिकार रक्षाका निम्ति आयोगले के गर्न सक्छ?

आयोग जुनसुकै पक्षबाट हुने मानवअधिकार उल्लंघनको विपक्षमा छ। शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्ने अधिकारको हामी सम्मान गर्छौं। तर हिंसा कुनै पनि हालतमा हुनुहुँदैन। प्रदर्शन नेतृत्वकर्ताको नियन्त्रण बाहिर गएको हो कि जस्तो देखिएको छ। हामीले विज्ञप्तिमार्फत बारम्बार आग्रह गरिरहेका छौं। अनुगमन र अनुसन्धान पनि जारी छ।

घाइते प्रहरीलाई एम्बुलेन्सबाट निकालेर हत्या भएको खबर आएको छ। यो घटनालाई कसरी हेर्नुभएको छ?

घटनाको विस्तृत विवरण आएको छैन। समाचार आए जस्तै घटना भएको हो भने त्यो अक्षम्य अपराध हो। यस्तो घटनाको औचित्य कसैगरी पनि पुष्टि गर्न सकिंदैन। यस्ता घटना तत्काल रोक्न आग्रह गर्दछु। घटनाका दोषीले कानूनी कारबाहीको भागीदार हुनुपर्दछ।

प्रदर्शनको क्रममा सुरक्षाकर्मीको भूमिका कस्तो पाउनुभएको छ?

कारण के हो थाहा छैन, तर सुरक्षाकर्मी कि आक्रामक कि भयभीत देखिएको छ। यो दुवै अवस्था राम्रो होइन। टाउको, छातीमा गोली हानेको देखिएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैमा संयमता आवश्यक छ।

प्रदर्शनलाई हिंसात्मक हुन नदिन आयोगको अधिकतम भूमिका केसम्म हुनसक्छ?

यो वा त्यो बहानामा मानवअधिकार उल्लंघन आयोगका लागि असह्य हो। मानवअधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि हामी सरकारी निकाय, मानवअधिकार क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गर्छौं।

comments powered by Disqus

रमझम