२४-३० असोज २०७२ | 11-17 October 2015

'औषधिको अभाव हुँदैन'

Share:
  

भारतको अघोषित नाकाबन्दी र मधेश आन्दोलनको अस्तव्यस्तताका बीच पनि मुलुकले तत्काल औषधि अभाव खेप्नु नपर्ने बताउँदै औषधि व्यवस्था विभाग महानिर्देशक बालकृष्ण खकुरेल भन्छन्, “औषधि पुग्दो छ तर इन्धनका कारण ढुवानीमा समस्या आउन सक्छ।”

औषधि मौज्दातको अवस्था कस्तो छ?

आन्दोलन, नाकाबन्दीले असहज भए पनि औषधि अभाव हुन दिएका छैनौं। पर्याप्त औषधि मौज्दात छ। जुनजुन औषधि सकिएको
छ, तत्काल आपूर्ति गरिहाल्ने व्यवस्था
मिलाएका छौं।

कहिलेसम्म ढुक्क हुन सकिन्छ?

दुई–तीन महीनालाई पुग्ने औषधि छ। समस्या औषधिभन्दा पनि इन्धन अभावमा समयमै ढुवानी गर्न नसकिएला कि भन्ने हो। कुनै ब्रान्डको औषधि पाइएन भने तुरुन्तै त्यस्तै काम गर्ने अर्को औषधि सिफारिश गर्छौं।

औषधिको माग र आपूर्ति सहज बनाउन विभाग के गरिरहेको छ?

औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रालय र औषधि व्यवसायीसँग समन्वय गरिरहेका छौं। आपूर्ति सहज बनाउन सुरक्षा निकायसँग सहयोग मागेका छौं। वीरगञ्जमा रोकिएका औषधिका ट्रक पनि 'स्कर्टिङ' गरी काठमाडौं ल्याउँदैछौं। जीवन बचाउने औषधि ओसारपसारमा कसैले अवरोध पुर्‍याउनुहुँदैन।

कथंकदाचित बन्द लम्बिएको अवस्थामा के हुनसक्ला?

औषधिमा चिन्तित हुनुपर्ने अवस्था छैन। तथापि अप्रिय अवस्था आइहालेमा विकल्प पनि छन्। औषधिको आयातमा तुलनात्मक रुपमा सहज छ। भण्डारण गरेर पनि लामो समयसम्म पुर्‍याउन सकिन्छ।

औषधिमा मुलुक आत्मनिर्भर हुन सक्दैन?

सबै औषधि आफैं उत्पादन गर्छु भन्नु 'फिजिवल' हुँदैन। खुला अर्थतन्त्रमा जहाँ गुणस्तरीय औषधि उचित मूल्यमा पाइन्छ त्यहींबाट किन्नुपर्दछ। नयाँ प्रविधि पनि प्रयोग गर्दै जानु राम्रो हुन्छ। अर्को कुरा, आफैंले औषधि उत्पादन गर्दा पनि कच्चा पदार्थ र 'फर्मूलेसन' त बाहिरैबाट ल्याउनुपर्दछ। औषधि जस्तो संवेदनशील वस्तुलाई देशको सीमामा सीमित पार्नुहुँदैन।

comments powered by Disqus

रमझम