१-१४ कात्तिक २०७२ | 18-31 October 2015

'ढुक्क हुनोस्, खाद्यान्न अभाव हुँदैन'

Share:
  

दुई महीनादेखिको तराई–मधेश आन्दोलनका कारण पेट्रोलियम पदार्थको हाहाकार भए पनि खाद्यवस्तु अभाव नहुने बताउँदै नेपाल खाद्य संस्थानका प्रवक्ता श्रीमणिराज खनाल भन्छन्, “खाद्यवस्तुमा ढुक्क हुनुभए हुन्छ, हामीसँग पर्याप्त मौज्दात छ।”

बिक्रम राई
तराई–मधेशमा जारी आन्दोलन र अघोषित नाकाबन्दीले खाद्य क्षेत्रमा कस्तो असर पारेको छ?

खाद्य वस्तु खरीद, संकलन, ओसारपसारका साथै आवश्यक स्थानमा गोदाम निर्माण, संचय र बिक्रीवितरण गर्ने हाम्रो जिम्मेवारी हो। यसका लागि हामी प्रतिबद्ध छौं। आन्दोलन र इन्धन अभावले आन्तरिक ढुवानीमा असर परेको छ।

खाद्यान्न मौज्दातको अवस्था कस्तो छ?

सरकारको नीतिअनुरुप खाद्यान्नको आन्तरिक आवश्यकता परिपूर्तिका लागि यथासम्भव परिमाणमा राष्ट्रिय खाद्य सुरक्षा भण्डारणको व्यवस्था गर्ने जिम्मेवारी हाम्रो हो। संस्थानको न्यूनतम मौज्दात नै २५ हजार टन हो। त्यसैले खाद्यान्न अभाव हुन्छ भन्ने सोच्नै पर्दैन। दुई–तीन महीना पुग्ने खाद्यान्न मौज्दात छ।

दशैंका वेला बढी खपत हुने मासु, चिनी, तेल, दाल आपूर्तिको अवस्था कस्तो छ?

दशैं मात्रै होइन तिहार र छठलाई पुग्ने खाद्यान्न छ। भेडा, च्याङ्ग्रा बिक्री गर्न थालिसकेका छौं। मासु, नून, तेल, चिनी, दालको कमी छैन।

चाडपर्वको मौका छोपी हुने खाद्यवस्तुको कालोबजारी रोक्न के गरिरहेको छ?

प्राकृतिक प्रकोप, बन्द हड्ताल वा बढी खाद्य सामग्रीको माग हुने चाडपर्वकै वेला कालोबजारी होला भनेरै हामीले मौज्दात राख्ने हो। खाद्यान्न अभाव मात्रै होइन कृत्रिम मूल्यवृद्धि पनि नहोस् भन्नेतर्फ हामी सचेत छौं।

बन्द/नाकाबन्दी लम्बियो भने संस्थानले के गर्छ?** ** आशा गरौं, लम्बिंदैन। भइहाले पनि हामी सरकार र निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा छौं।

comments powered by Disqus

रमझम