नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भन्छन्, “प्रतिष्ठानको गरिमामा आँच नआउने गरी व्यापारिक भवन बनाउने योजना छ।”
प्रतिष्ठानले एक–एकदेखि पाँच–पाँच वर्षमा वितरण गर्ने विभिन्न प्रज्ञा पुरस्कार छन्। हरेक वर्ष दिइने प्रज्ञा नेपाली साहित्य पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य पुरस्कार र दुई–दुई वर्षमा दिइने नेपाल प्रज्ञा भाषा पुरस्कार दिन ढिलो भएको थियो। प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसँगै पुरस्कार वितरण सम्भव भयो।
स्थापित पुरस्कार त्यो पनि संस्थागत, निरन्तर हुन नसक्नुको कारण के हो?
म कुलपति हुनुअघिको एक वर्षसम्म प्रतिष्ठान पदाधिकारीविहीन थियो। त्यसैले ढिला भएको हो। वैशाख–जेठमा वितरण गर्नुपर्ने पुरस्कार भूकम्पका कारण पनि प्रभावित बन्यो।
तालुकवाला मन्त्रालयमा निर्भर नभई अगाडि बढ्न प्रतिष्ठानसँग के–के उपाय छन्?
हामीलाई आर्थिक सहयोग गर्नु मन्त्रालयको दायित्वभित्रै पर्छ। तर, हामीले आत्मनिर्भर बन्ने योजना ल्याएका छौं। कमलादीस्थित प्रतिष्ठान हाताभित्रको ९ रोपनी क्षेत्रफलमा व्यापारिक भवन निर्माणको योजना अध्ययन सकिएको छ। निजी क्षेत्रको लगानीमा बन्ने यो भवन २५ वर्षपछि प्रतिष्ठानको स्वामित्वमा आउनेछ।
प्रतिष्ठान गतिशील बनाउने तात्कालिक योजना चाहिं के–के छन्?
सार्कस्तरीय साहित्य सम्मेलनको तयारी गर्दैछौं। सबै भाषाभाषीको आकांक्षा पूरा हुने गरी अध्ययन, अनुसन्धान, छलफल गर्दैछौं। प्रतिष्ठानका ११ वटै विभागलाई परिणाममुखी बनाउने गरी क्रियाशील गराउँदैछौं।
दलीय झण्डा र भागबण्डाको आधारमा प्रतिष्ठानमा प्राज्ञ नियुक्त हुने अभ्यासप्रति तपाईंको धारणा के छ?
राजनीतिक संक्रमणकालको प्रभाव सबैतिर छ। सकेसम्म धेरैलाई समेट्ने क्रममा भागबण्डा जस्तो देखिएको हो। सरकारलाई असहयोग गर्नेलाई राख्नुपर्छ भन्ने पनि छैन। राजनीतिक आस्था के हो भन्दा पनि उसले प्राज्ञको मर्यादा कायम राख्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हो।