पद्मकन्या क्याम्पसमा अंग्रेजी विभाग प्रमुख तथा संयुक्त राष्ट्रसंघीय महिला विकास कोष (युनिफेम) को दक्षिण एशिया कार्यक्रम निर्देशकको जिम्मेवारी पूरा गरिसकेकी चाँदनी जोशी भन्छिन्, “महिलाका लागि निश्चित अवधिसम्म सकारात्मक विभेद नीति अनिवार्य छ।”
महिलाले गर्ने कामले मान्यता नपाउनु सबैभन्दा ठूलो समस्या हो। आफ्नो काम गणनामा नपर्दा महिलाको शिक्षा, अभिवृद्धि, स्वास्थ्योपचारदेखि प्रतिष्ठामा सोझो असर पर्छ। उनीहरूलाई सीप र क्षमता विस्तारको अवसर दिइँदैन।
शहरी र ग्रामीण महिलाको अवस्थामा कस्तो भिन्नता छ?
प्रतिभाशाली, सक्षम, समझदार र हिम्मतिला महिला गाउँ–गाउँमा हुनुहुन्छ। तर शहरमा जति पहुँच, सुविधा र सूचना गाउँमा पुग्न सकेको छैन।
सकारात्मक विभेदको नीतिले महिला सशक्तीकरणमा कस्तो भूमिका खेलेको छ?
एउटा २० वर्षीय युवा र ७० वर्षीय वृद्धबीच दौड प्रतियोगिता राख्नु न्यायोचित हुँदैन। सयौं वर्षदेखि पढ्न, लेख्न र घर बाहिर निस्कन समेत नपाएका महिलालाई सशक्त पार्न सकारात्मक विभेद अनिवार्य छ। केही महिलाहरू क्षमतामा मात्रै जोड दिनुपर्छ भन्छन्। तर क्षमता विकासका लागि पनि निश्चित अवधिसम्म सकारात्मक विभेद जरुरी छ। र, यसलाई अझ प्रभावकारी बनाउनुपर्छ।
नीतिनिर्माण तहमा महिला प्रतिनिधित्व बढाउन चाहिं के गर्नुपर्छ?
सबैभन्दा पहिले त महिला भएकै कारण गर्न सक्दैनन् भन्ने मानसिकता बदल्नुपर्छ। क्षमता अनुरुपको अवसरबाट बञ्चित गराइनुहुँदैन। परराष्ट्र मन्त्रालयमा महिलाले नाम निकालेरै देखाए। सागमा स्वर्ण पदक जिते।
महिला सशक्तीकरणका लागि अत्यावश्यक तर अहिलेसम्म ध्यान नपुगेको विषय के होला?
कामकाजी महिला पनि घरायसी कामबाट मुक्त हुँदैनन्। तर, घरायसी कामको आर्थिक र सामाजिक मूल्यांकन गरिंदैन। महिलाले घरमा गर्ने कामको पनि लेखाजोखा गरिनुपर्छ।