३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

'परिस्थितिजन्य सतर्कता मात्र हो'

Share:
  

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको 'राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा खतरा पुर्‍याउने स्थिति सिर्जना भए सरकारको निर्देशन अनुसार परिचालन हुन सेना तयार रहेको' अभिव्यक्तिबाट उत्पन्न तरंगबारे सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्की भन्छन्, “यो भनाइले देशको परिस्थिति, सेनाको तयारी र सतर्कता सम्बोधन गरेको छ।”

प्रधानसेनापतिको सम्बोधनले के भन्न खोजेको हो?

सेनापतिले सेना दिवसका अवसरमा सकलदर्जालाई मुलुकको समग्र सुरक्षा र वस्तुस्थिति बुझाउने गरी गरेको सम्बोधन हो। उहाँले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने खालका सुरक्षा चुनौती सिर्जना भए संविधानले दिएको जिम्मेवारी, संवैधानिक प्रक्रिया र सरकारको निर्देशन अनुसार पूरा गर्न सेना तयार छ, हुनुपर्छ भन्नुभएको हो।

अहिल्यै त्यस्तो बोल्नुपर्ने सन्दर्भ र आवश्यकता चाहिं किन पर्‍यो?

देशको परिस्थिति कस्तो छ र त्यसअनुरुप सेनाको 'अपरेशनल' तयारी कस्तो छ भन्नेबारे सकलदर्जालाई सूचित गर्नुपर्ने हुन्छ। अहिलेको परिस्थितिको गम्भीरता र जिम्मेवारी बुझाउन सेनापतिले यस्तो सम्बोधन गर्नुभएको हो।

कस्तो अवस्थामा सेना परिचालन हुन्छ भन्ने कुरा सेनापतिले बोल्ने विषय हो र?

यो सम्बोधन आवश्यक पर्‍यो भने संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना तयार रहनुपर्छ भनेर गरिएको 'अलर्टनेश' (सतर्कता) हो। देश नै विखण्डन गर्ने खालका जुनसुकै गतिविधिबारे हामी सचेत छौं र त्यसका लागि तयारी अवस्थामा रहनुपर्छ भनेर निर्देशन दिइएको हो।

प्रधानसेनापतिको भनाइले मधेशकेन्द्रित दलहरूलाई आक्रोशित बनाउन सघाउ पुर्‍यायो नि?

पत्रपत्रिकाका कतिपय कुराले सेनापतिको भनाइलाई 'फेब्रिकेट' गरे। सीमांकन, संघीय संरचनाबारे बोलेको भन्ने समाचार आए। सेनापतिले त्यसबारे बोल्नुभएकै छैन। त्यो विशुद्ध राजनीतिक प्रक्रिया हो।

यस्ता भनाइले सेनालाई विवादमा पार्दैन र?

सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा सबै कुरा स्पष्ट छ। सेनाको अराजनीतिक र व्यावसायिक चरित्र विवादमा पर्ने गरी उहाँले बोल्नुभएको छैन। देशको परिस्थिति, सेनाको तयारी र त्यसप्रतिको सतर्कता मात्र देखाएको हो।

comments powered by Disqus

रमझम