२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

'ऐन अभावमा वनस्पति संरक्षणमा समस्या'

Share:
  

स्थापनाको ५६औं वर्षगाँठका अवसरमा २९ चैतमा वनस्पति दिवस मनाइरहेको वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादव भन्छन्, ”वनस्पति ऐनको अभावमा संरक्षणमै समस्या परिरहेको छ।“

गोपेन राई
नेपालमा पाइने वनस्पतिको विश्वव्यापी महत्व के छ?

नेपालमा फूल फुल्ने र नफुल्ने गरी ११ हजारभन्दा बढी वनस्पति प्रजातिको पहिचान भइसकेको छ। फूल फुल्ने वनस्पति मात्र ५ हजार ५०० भन्दा बढी छन्।
विश्वको कुल भूभागको ०.१ प्रतिशत क्षेत्रफल ओगटेको नेपालमा वानस्पतिक विविधता भने ३.२ प्रतिशत छ। हामी विश्व जैविक विविधताको २५औं स्थानमा छौं। तीमध्ये पनि नेपालमा मात्र पाइने ३२० भन्दा बढी फूल फुल्ने प्रजाति छन्। लेउ, झ्याउ, उन्यू आदिको विविधता पनि उल्लेख्य छ।

वनस्पति संरक्षणमा नेपालका प्रमुख चुनौती के के हुन्?

घरेलु औषधिको रुपमा परम्परागत तरीकाले प्रयोग हुँदै आएका निर्यातजन्य जडीबुटीको खेती नगरिनु, जंगलबाट अनियन्त्रित र जथाभावी रुपले संकलन गरी बिक्री गर्नु नै प्रमुख चुनौती हो। यसको समाधानका साथै दुर्लभ, लोपोन्मुख र संकटापन्न वनस्पति संरक्षणका लागि विशेष ऐन र नियमको खाँचो छ। महत्वको अनुपातमा बजेट न्यून हुँदा पाइलैपिच्छे समस्या बेहोर्नुपर्छ।

नेपालको जेठोमध्येको वनस्पति विभागले अहिलेसम्म ऐन नपाउनुको कारण चाहिं के हो?

बल्ल 'वनस्पति स्रोत विधेयक' संसद्मा पुगेको छ। विधेयकमा राष्ट्रिय वनस्पति उद्यान, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला सम्बन्धी व्यवस्थाका साथै नेपाल फ्लोरा अभिलेख सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ। यसपटक भने ऐन आउनेमा आशावादी छौं।

ऐन अभावमा के–कस्ता समस्या छन्?

ऐन नहुँदा वनस्पति अध्ययन अनुसन्धान प्रभावित बनेको छ, जसले मुलुकलाई आर्थिक रुपमा थप समृद्ध बनाउन बाधा पुर्‍याइरहेको छ। सरकारले सन् २०२० सम्ममा 'नेपाल फ्लोरा' प्रकाशनको लक्ष्य लिएको छ, वनस्पति र जडीबुटीको अनियन्त्रित संकलन बिक्री–वितरणको समस्या छ, उद्यानमा परस्थानीय र स्वस्थानीय संरक्षण गर्नुछ, ऐन नभएका कारण सबै काम अपुरा, अधुरा छन्।

यस्तो अवस्थामा वनस्पति दिवस मनाइरहनु कत्तिको सान्रुदर्भिक छ?

विभागले ६ दशकदेखि गरिरहेको शोध र अनुसन्धानद्वारा प्राप्त ज्ञान जनसमक्ष पुरुर्‍याउने विशेष अवसरका रुपमा दिवस मनाउँदै आएका छौं।

comments powered by Disqus

रमझम