९ -१५ जेठ २०७३ | 22-28 May 2016

'निःशुल्क डायलासिसले मात्रै पुग्दैन'

Share:
  

सरकारको मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलासिस गराउने घोषणाबारे राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले भन्छन्, “मिर्गौला फेल हुनै नदिने कार्यक्रम ल्याए मात्र यस्ता घोषणाको महत्व हुनेछ।”

राजेश राई
मिर्गौला रोगीलाई निःशुल्क डायलासिस गराउने सरकारी नीतिको कस्तो प्रभाव पर्ला?

यसअघि पनि दुई वर्षसम्म निःशुल्क डायलासिस गराउने व्यवस्था थियो। अब भने उनीहरूले आजीवन डायलासिसमा खर्च गर्नु नपर्ने भएको छ।

यसबाट मिर्गौलाका बिरामीले कसरी लाभ लिन सक्लान्?

बिरामीका लागि यो ठूलो राहत हो। यसले बिरामीलाई डायलासिस नपाएर मर्नु पर्दैन भन्ने अनुभूत गराउँछ। डायलासिसमा मासिक रु.३० हजार खर्च गर्न सक्ने परिवार एकदमै न्यून छन्। खासगरी प्रत्यारोपणमा जान नसक्ने र प्रत्यारोपणपछि पुनः डायलासिस गर्नुपर्नेहरु यसबाट लाभान्वित हुन्छन्।

करीब चार लाख बिरामीलाई निःशुल्क डायलासिस गराउन सम्भव होला?

घरपायक डायलासिस पुर्‍याउन सम्भव छैन। तर सरकारले तोकेका ठाउँबाट निःशुल्क यो सुविधा दिन नसकिने भन्ने छैन।

डायलासिसको सट्टा निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिनुपर्ने मागबारे के भन्नुहुन्छ?

मिर्गौला प्रत्यारोपणका लागि रु.२ लाख र प्रत्यारोपण सफल भएपछि रु.१ लाख दिने व्यवस्था अहिले पनि छ। कुरा प्रत्यारोपण कि डायलासिस भन्ने होइन। यो सुविधा प्रत्यारोपणमा जान नसक्ने र गएर पनि असफल भएकाहरूका लागि हो।

मिर्गौला फेल हुन नदिन के के गर्नुपर्छ?

सरकारले मिर्गौला फेल हुने अवस्था नै आउन नदिने कार्यक्रम ल्याउनुपर्दछ। ३० वर्ष उमेर पुगेपछि, मोटो शरीर भएका, परिवारमा कसैको मिर्गौला फेल भएको छ भने वा मधुमेह र उच्च रक्तचाप छ भने वर्षमा कम्तीमा एकपटक मिर्गौला परीक्षण गराउनुपर्दछ। शरीरलाई हानि नगर्ने खाना खाने, व्यायाम गर्ने, समयमा सुत्ने, योग प्राणायाम गर्ने र पर्याप्त पानी पिउनुपर्दछ। मिर्गौला सुरक्षाबारे पर्याप्त जनचेतना फैलाउनु आवश्यक छ।

comments powered by Disqus

रमझम