३-९ असोज २०७२ | 20-26 September 2015

सल्लाहमा सिमेन्ट

Share:
  
- मिलन बगाले
घर बनाउँदा नेपाल गुणस्तर चिह्न प्राप्त ओपीसी सिमेन्ट प्रयोग गर्नुस् मात्र भनेर नपुग्ने भएको छ।

अग्लो र ठूलो घरलाई प्रतिष्ठा बनाउँदा मध्यम र निम्नमध्यम वर्ग कि भ्रष्ट बनेको छ कि हीनताबोधको शिकार। ठूलो घरको 'जबर्जस्त' सपनाले खानलाउन पुग्नेहरू पनि विदेशिएका छन्। जति कमायो घरमै पोख्यो।

दुःखले कमाएको पैसा अनावश्यक रूपमा मार्बल, पार्केट, टायलमा पोख्नु बुद्धिमत्ता होइन। घर राम्रो बनाउन पहिले त यी घातक सोचबाट उम्किनुपर्‍यो। सुरक्षा पहिलो शर्त हो। अनि मात्र शान्त, बसौं–बसौं लाग्ने वातावरण र सुन्दरता।
एउटा राम्रो र बलियो घर बन्न आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, सिभिल इन्जिनियर र दक्ष निर्माण व्यवसायी चाहिन्छ। तर, नक्शामा खर्च नगर्ने, निर्माण व्यवसायी छान्दा सस्तोमा लटरपटर काम गरिदिने मान्छे खोज्ने, कमसल निर्माण सामग्रीको प्रयोग गरी जानीजानी कमजोर संरचना बनाई प्लाष्टर र रंगरोगनले छोप्न खोज्ने, मार्बल, टायल र फर्निचरमा पैसाको खोलो बगाउने चलन छ।

मेरा अधिकांश सेवाग्राही भूकम्पबाट नथर्कने घर बनाउँदा कति अतिरिक्त पैसा लाग्छ? भनी सोध्छन्। एउटा नमीठो प्रश्न। घर बनाएकै प्रकोपसँग जुध्न हो। अधिकांश शहरका घरमा बाढी, पहिरो र आँधीबेहरीको पीर छैन। तर, भैंचालोको पीर छ। यही भुईंचालोको क्षतिबाट बच्न घरमा गर्ने लगानीलाई चाहिं हामी अतिरिक्त खर्च ठानिरहेका छौं, किन?

सानो घर बनाउनलाई त प्रचलित भवन निर्माण मापदण्ड, भवन संहिता पालना गरिदिए धेरै सोच्नै पर्दैन। संरचना बलियो बनाउन ध्यान दिऔं। फिनिसिङ ठूलो कुरो हैन। महँगो रंग पोत्ने पैसा छैन भने बरु रातोमाटो र कमेरोले लिपे पनि हुन्छ।

कुन सिमेन्टले घर बनाउने? निकै सोधिने प्रश्न हो। पहिलेपहिले मेरो जवाफ हुन्थ्यो, 'नेपाल गुणस्तर चिन्ह भएको जुनसुकै ओपीसी सिमेन्ट प्रयोग गर्नुभए हुन्छ।' तर, त्यसो मात्र भनेर नहुने रहेछ। बोराभित्र सर्लक्क खरानी पोको पारेर राखिए झैं लाग्ने सिमेन्ट पनि हुँदा रै'छन् नेपालभित्रै। ती सिमेन्ट घोल्दा खरानी र बालुवाको मिश्रण झैं लाग्ने। एक हप्तासम्म पनि सिमेन्ट र ईंट पटक्कै नटाँसिने। पिलरको फर्मा खोल्दा पिलरै धूलोपीठो हुने। छाडा अर्थतन्त्रको असाध्यै कुरुप अनुहार सिमेन्टको बोराभित्र छ। दुनियाँको सम्पत्ति खरानी बनाएका छन् तिनले। त्यसकारण पनि सिमेन्ट चिन्न होश पुर्‍याउनुपर्छ। यसका लागि प्राविधिककै सल्लाह उपयुक्त हुन्छ।

पहिलो तलामा खासगरी बरण्डाको दायाँ–बायाँ सर्प झुन्ड्याए झैं लामा–लामा, मोटा–मोटा गोला पिलर र त्यसमाथि नमस्तेको बडेमाको भारी झुन्ड्याइने घातक अभ्यासलाई कतिपय 'डिजाइन' ठान्छन्। जग विना पहिलो या दोस्रो तलामा झ्ुन्डिएका पिलर (फ्लोटिङ पिलर) ले भैंचालोको वेलामा बिम र जोर्नीमा धक्का पुर्‍याउँछ। भुईंचालोमा तिनै पिलरको भारले बिम भाँचिएको पनि देखियो। त्यस्तो काम नगरौं।

घर जमीनमा बनाउने हो। तर, हामीले माटो चिनेका छैनौं। कृषिप्रधान देश नेपालमा कहाँको माटोको प्रकृति कस्तो छ, थाहा छैन। माटो नचिनेरै खेती गरिरहेका छौं। र, त मुरी फल्ने ठाउँमा मानो फलिरहेको छ।

घर बनाउँदाको हालत पनि उस्तै छ। देशकै सबैभन्दा मलिलो, हिलो र गिलो खेतमा सिमेन्ट उमारिएको छ। र, ती घरका जग भास्सिएका पनि छन्। मोटर लगाएर, पानी तानेर ५―७ फिट खाल्डो बडो मुश्किलले खनेर गिलो माटोमा जबर्जस्ती जग राख्ने चलन छ काठमाडौं लगायतका शहरमा। दहीभित्र गुच्चा अड्याए जस्तो हो, यो। माटोले कति तले, कति क्षेत्रफलको घर धान्छ, त्यही अनुसार घरको डिजाइन गर्ने र बनाउने नियम चाहिएको छ। तर, हामीकहाँ त रीत पुर्‍याउनका लागि मात्र भए पनि बहुतले व्यावसायिक भवन बनाउँदा मात्रै माटो जाँच्नुपर्ने कानून छ। भुईंचालोले बारम्बार सताउने कारण पनि यही हो। माटो जाँच्ने, माटो जान्ने रहर नगर्दा हामीले असाध्य दुःख पाएका छौं। अब माटोले धान्ने संरचना निर्माणको थालनी गरिहाल्नुपर्छ।

घर बनाउने भन्नासाथ १२ वैशाखको महाभूकम्प सम्झ्ने गरौं।

(बगाले भर्नाकुलर आर्किटेक्चरका आर्किटेक्ट हुन्।)

comments powered by Disqus

रमझम