३-९ असोज २०७२ | 20-26 September 2015

पाँच प्रतिशतको दुःख

Share:
  
- डा. सुमनराज ताम्राकार
हर्नियाको स्थायी समाधान भनेको शल्यक्रिया मात्र हो।

पेटको भित्ताको कमजोर भाग (प्वाल) बाट कुनै आन्तरिक अङ्ग (प्रायशः आन्द्राको कुनै भाग) बाहिर आउँदा हर्नियाको समस्या हुन्छ। जन्मजात (अम्बिलिकल), ईन्ग्युइनल (पुरुषमा बढी हुने), फेमोरल (महिलामा बढी हुने), ईन्सिजिनल (पेटमा पहिले घाउ बनाइएको ठाउँमा) लगायत विभिन्न खालका हर्निया हुन्छन्। कुल जनसंख्याको करीब पाँच प्रतिशत मानिसलाई हर्नियाले दुःख दिने गरेको छ।

कहिलेकाहीं गर्भ भित्रै रहेको शिशुको फोक्सो र पेटबीच रहने डायफ्राम्याटिक नामको मांसपेशी निकै कमजोर हुन गई शिशुको आन्द्रा लगायतका आन्तरिक अङ्गहरू फोक्सोतिर धकेलिन्छ। गर्भमा आमाबाटै अक्सिजन तथा अरू पोषण पाइरहने भए पनि आन्तरिक अङ्गहरू फोक्सोतिर धकेलिएका शिशुलाई जन्मपछि तुरुन्त उपचार (शल्यक्रिया) नभए प्राणघातकसिद्ध हुन्छ। गर्भको शिशुमा त्यस्तो समस्या रहे नरहेको राम्रोसँग भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गरेर पत्ता लगाउन सकिन्छ।

हर्नियाको समस्याबाट महिला अलि बढ्ता प्रताडित हुने गरेको पाइएको छ। पटक–पटकको प्रसूति र सिजेरियन अप्रेशनको जटिलताका कारण महिलाको पेटको भित्ता कमजोर हुन गई हर्नियाको सम्भावना बढ्छ। कतिपय व्यक्तिमा जन्मजात रूपमा पनि यो समस्या हुन्छ, तर उचित उपचारको वातावरण बन्न पाउँदैन। हर्नियाको कारक तत्वहरूमा जन्मजात, बढ्दो उमेर, चोटपटक, भारी उठाउनुपर्ने व्यवसाय, पेटको शल्यक्रिया, मोटोपना, कब्जियत, जीर्ण खालको खोकी तथा दम, प्रोस्टेट वा ट्युमरको कारण पिसाबमा अवरोध हुने, पटक–पटकको गर्भाधान, पेटको मांसपेशीको कमजोरी, वंशाणुगत रूपमा मांसपेशीको कमजोरी आदि हुन्। खोकी र कब्जियत लगायतका समस्याले पेटको आन्तरिक चाप बढाएर हर्नियाको समस्या बल्झाउने हुनाले हर्नियाको उपचार (शल्यक्रिया) अगाडि प्रताडित व्यक्तिहरूले धुम्रपान छोड्नुपर्छ। त्यस्तै, कब्जियतको पनि पहिल्यै उपचार गराउनुपर्छ।

लक्षण र उपचार

पेटको कुनै भागमा पीडा हुन्छ वा भारी सामान उठाउँदा वा आन्तरिक चाप बढ्दा पेट सुन्निन्छ भने त्यसलाई हर्नियाको लक्षणको रूपमा बुझनुपर्छ। दिसापिसाब गर्न गाह्रो हुनु र लामो समय उभिरहँदा र दिन ढल्किंदै जाँदा पेटको दुःखाइ बढ्नु पनि हर्नियाको लक्षण हो। शुरूमा सहन सकिए पनि समस्या विस्तारै बढ्दै जान्छ। हरेक पटक खोक्दा र गह्रुँगो सामान उठाउँदा पेटमा आन्तरिक चाप बढेर हर्नियाको आकार बढ्छ।

खोक्दा, पटक–पटक गहु्रँगो सामान उठाउँदा, भारी बोक्दा, कब्जियत हुँदा वा पिसाब गर्न कन्नुपर्दा पेटको आन्तरिक चाप बढ्दै गएर पेटको कमजोर भागबाट आन्द्रा बाहिरतर्फ आउँछ। पेटमा बल पर्दा हर्निया भएको भागमा आन्द्रा आउने र जाने हुन्छ। समयमै उपचार नभए हर्निया भएको ठाउँमा आएको आन्द्रा वा अरू आन्तरिक अङ्ग लामो समय अड्किएर रक्त संचालनमा समस्या आई कुहिने वा फुट्ने हुनसक्छ। त्यो परिस्थिति भनेको साधारण समस्याको जटिल परिणाम हो।
होशियार हुने हो भने साधारण क्लिनिकल जाँचबाटै हर्नियाको निदान गर्न सकिन्छ। हर्नियाको कारण जटिलता उत्पन्न भइसक्यो वा आन्द्रा नै फुटेको वा दिसा गर्न नसकेको अवस्थामा एक्सरे वा अल्ट्रासाउण्ड र त्यसपछि शल्यक्रिया जरूरत पर्छ। शल्यक्रियाका लागि बिरामी 'फिट' छन्/छैनन् थाहा पाउन रगत, पिसाब, ईसीजी लगायतका विभिन्न जाँच–पड्ताल गर्नुपर्छ।

औषधि सेवनबाट यो समस्याको स्थायी समाधान हुँदैन। शल्यक्रिया यो समस्याको स्थायी निराकरण हो भने बेल्ट प्रयोग अस्थायी समाधान। बालबालिकामा हुने हर्नियाको लागि साधारण खालको शल्यक्रिया (हर्नियोटोमी) गरिन्छ। वयस्कलाई हर्नियामुक्त पार्न पहिले सीधै पेटमा शल्यक्रिया गरिन्थ्यो, अहिले ल्यापारास्कोपिक उपचार सम्भव भएको छ। यो पद्धतिबाट शल्यक्रिया गरेको व्यक्ति केही दिनमै आफ्नो नियमित काममा फर्किन सक्छ।

कतिपय हर्नियाको शल्यक्रियाको क्रममा कमजोर भागलाई टेवा दिन जाली (मेश) राख्नुपर्ने हुन्छ। आजभोलि पोलिप्रोपेलिनबाट बनाइने 'मेश' मानव शरीर सुहाउँदो हुन्छ। यसले अनावश्यक प्रतिक्रिया गराउला कि भनेर डराउनुपर्दैन। ल्यापारास्कोपिक पद्धतिको उपचार अलि महँगो भने हुन्छ।

comments powered by Disqus

रमझम