रोजाइ व्यावहारिक विषय

Share:
  
- सजना बराल
पढेलगत्तै रोजगारी पाइने विषयतर्फ विद्यार्थीको आकर्षण बढेको छ।

किंग्स कलेज, बबरमहल।
कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशन हुन बाँकी नै छ। तर पनि, विद्यार्थीमा स्नातक तहबारे कौतुहल शुरू भइसकेको छ। कतिपय त स्नातकमा कुन विषय लिने र कहाँ पढ्ने भनेर खोजीनिती गर्न थालिसकेका छन्। केही विद्यार्थीले त कलेजमा अनौपचारिक रूपमा भर्ना समेत गरिसकेका छन्।

बबरमहलस्थित किंग्स कलेजका एसोसिएट प्रोग्राम डाइरेक्टर विप्लव सिंह विद्यार्थीले फोन र इमेलका अतिरिक्त कलेजमै आएर पढाइको गुणस्तर, शुल्क, भौतिक संरचनालगायत बारे बुझन थालेको बताउँछन्। “नोभेम्बरको अन्तिमतिर भर्ना खुल्ने भएकाले यतिवेला विद्यार्थीका जिज्ञासा मेटाउने काम गरिरहेका छौं”, उनी भन्छन्।

लामो समयदेखिको बन्दका कारण कलेज छनोटमा उपत्यका बाहिरका विद्यार्थीलाई भने मर्का परिरहेको शिक्षकहरूको भनाइ छ। त्यसैले कतिपय कलेजले बाहिरका विद्यार्थीका लागि कोटा पनि छुट्याइदिएका छन्। “इमेलमार्फत कलेज भर्नासम्बन्धी आधिकारिकता आए हामी अहिल्यै सीट राखिदिन्छौं”,

नयाँबानेश्वरमा रहेको युनिग्लोब कलेजका प्रधानाध्यापक नरबहादुर बिष्ट भन्छन्, “कोटा पनि निर्धारण गरेका छौं। अप्ठ्यारो वेला विद्यार्थीलाई सहयोग गर्न यस्तो प्रावधान ल्याएका हौं।” युनिग्लोबमा पोखरा विश्वविद्यालय अन्तर्गतको बीबीए पढाइ हुन्छ।

प्राथमिकतामा प्रयोगात्मक शिक्षा

केही वर्षअघिसम्म अभिभावकको कर–बल र साथीको लहलहैमा विषय, संकाय र कलेज रोज्ने प्रवृत्ति देखिने गरेकोमा अहिले विद्यार्थी स्वयंको रुचि प्राथमिकतामा परेको शिक्षकहरूको अनुभव छ। “अभिभावकले सन्तानमाथि आफ्नो इच्छा लाद्न छाड्दै गएकाले पनि विद्यार्थी स्वतन्त्र भएका हुन्”, ललितपुरको एकान्तकुनास्थित एशियन कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक चेतन पोखरेल भन्छन्, “अधिकांश विद्यार्थीको मन पढेपछि जागिर पाइने व्यावहारिक विषयतर्फ देखिन्छ।”

एशियन कलेज, एकान्तकुना।
व्यवस्थापन संकाय अन्तर्गत बीबीए, बीएचएम, बीएस्सी–आईटी, बीएस्सी–कम्प्युटिङ जस्ता प्रयोगात्मक विषयमा विद्यार्थीको संख्या बढिरहेको छ। मानविकीमा ग्रामीण विकास, मनोविज्ञान, समाजशास्त्रमा विद्यार्थीको रुचि उक्लिंदो छ। विज्ञानमा सूक्ष्मजीव विज्ञान, खाद्यप्रविधि र वातावरण विज्ञान आदिमा विद्यार्थीको रुचि पाइन्छ। “विद्यार्थीको चासो बजारको मागसँग सम्बन्धित देखिन्छ”, ब्रिटिश कलेज, थापाथलीका बजार व्यवस्थापक सुमन श्रेष्ठ भन्छन्, “त्यसैले हामीकहाँ सूचनाप्रविधिमा स्नातक गर्नेको संख्या धेरै छ।”

ब्यांक तथा वित्तीय संस्था, ट्राभल एजेन्सी, होटल आदिमा काम पाइने वा आफ्नै व्यवसाय समेत गर्न सकिने भएकाले व्यवस्थापन विषय सधैं विद्यार्थीको रोजाइमा पर्दै आएको छ। कतिले चाहिं विदेशमा स्नातकोत्तर गर्ने मनसायले त्यही अनुसार विषय छान्ने गरेको ज्ञानेश्वरस्थित इन्टरनेशनल स्कूल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्रधानाध्यापक सिर्जना बस्नेत बताउँछिन्। “होटल म्यानेजमेन्टका ६० प्रतिशत विद्यार्थी स्नातकपछि विदेशिन्छन्”, उनी भन्छिन्, “यस्तो योजना भएकाहरूले बीएचएम, बीबीए जस्ता विषय रोज्छन्।”

त्यसो त त्रिभुवन विश्वविद्यालयले स्नातक तहलाई चार वर्षमा तन्काएपछि कक्षा १२ लगत्तै विदेशमा पढ्न जानेको संख्या घटिरहेको जानकार बताउँछन्। चारवर्षे प्रणाली अपनाइएकाले विद्यार्थीले स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्नातक शिक्षाको अवसर पाएका हुन्। यसमा पनि सेमेस्टर प्रणाली लागू गरिएका बीबीए, बीएचएम जस्ता विषयमा विद्यार्थी आकर्षित भइरहेको आइन्स्टाइन एकेडेमीका प्रमुख कार्यकारी निर्देशक कविराज राई बताउँछन्। एशियन कलेजका प्र्रधानाध्यापक चेतन पोखरेल भन्छन्, “यो प्रावधानले विद्यार्थीले धेरै नयाँ कुरा सिक्न पाएका छन्।”

उच्च शिक्षाको प्रतिस्पर्धी बजारमा अध्यापनलाई व्यावहारिक बनाउन कलेजहरूले कसरत पनि गरिरहेका छन्। विदेशी विश्वविद्यालयसँग सम्बन्धनमा उही स्तर र शैलीमा अध्यापनको प्रयास पनि भइरहेको छ। विद्यार्थीलाई स्थलगत भ्रमण, अनुसन्धान आदिमा सहभागी गराउन थालिएको छ। “राजनीतिक अस्थिरता अन्त्य हुने हो भने अब विद्यार्थी पढाइका लागि बाहिरिनुपर्दैन”, लगनखेलस्थित साउथ एशियन इन्ष्टिच्यूट अफ म्यानेजमेन्ट (एसएआईएम) का डीन विजय केसी भन्छन्, “स्वदेशमै स्तरीय पढाइ हुन थालिसकेको छ।”

बन्द र हड्तालका कारण उपत्यका बाहिरबाट कलेजबारे बुझ्न नपाएका विद्यार्थीका लागि कोटा छुट्याएका छौं।

नरबहादुर विष्ट

प्रधानाध्यापक, युनिग्लोब कलेज

बीबीएस, अर्थशास्त्र, समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता जस्ता राम्रा विषयको महत्व बुझाउन नसकिएकाले विद्यार्थीको रुचि घट्दो छ।

रमेश सिलवाल, प्रमुख कार्यकारी अधिकृत

गोल्डेन गेट इन्टरनेशनल कलेज

विद्यार्थी र शिक्षक दुवैलाई मिहिनेती र सिर्जनशील बनाउने प्रणाली अपनाइरहेका छौं।

विप्लव सिंह

एसोसिएट प्रोग्राम डाइरेक्टर

किंग्स कलेज

मलेशियाको लिंकन विश्वविद्यालयसँग सम्बन्धन लिएको अनामनगरस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक डा. विनोदबहादुर खत्री पनि स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिने भएकैले नेपाली विद्यार्थीको रोजगारीका लागि विश्वबजार खुला रहेको तर्क गर्छन्। खत्री भन्छन्, “तालिका अनुसार निश्चित समयमा पढाइ र परीक्षा हुने भएकाले थप समय लाग्दैन।”

पालो विषयगत विशेषज्ञताको

सबै संकाय वा एकै संकायभित्रका अनेक विषय पढाउनुभन्दा विषयकृत विशेषज्ञताका आधारमा कलेजले भर्ना लिने चलन बाक्लिएको छ। अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन लिएको किंग्स कलेजमा बीबीए मात्रै पढाइन्छ भने मण्डिखाटारस्थित गेट कलेज, लखनखेलको एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट, आईएसटी कलेज आदिमा बीएचएम मात्रै अध्यापन गराइन्छ।

सिल्भर माउण्टेन कलेज।
१७ वर्षअघि खोलिएको एशियन कलेज अफ म्यानेजमेन्टले पनि आठ वर्षयता बीबीएस मात्रै पढाउन थालेको छ। मानविकीमा पनि फेसन डिजाइनिङ, आमसञ्चार तथा पत्रकारिता, फाइन आर्टस् लगायत विषयगत विशेषज्ञताका आधारमा निजी क्याम्पस खुल्न थालेका छन्। “स्तरीय शिक्षाका लागि यो अत्यावश्यक छ”, एकेडेमी अफ क्युलिनरी आर्टस्का प्रबन्ध निर्देशक आशिष महर्जन भन्छन्, “एउटै विषय मात्र पढाउँदा आवश्यक स्रोत–साधन सजिलै जुटाउन सकिन्छ, विद्यार्थीले पनि तिनको उपयोग राम्ररी गर्न पाउँछन्।”

स्तरीय शिक्षाका लागि किंग्स कलेजले बीबीएका विद्यार्थीलाई अनुसन्धानमूलक र सिर्जनात्मक अभ्यास गराउने डिस्ट्यान्स् एडुकेसन एक्रिडिटिङ कमिसन (डीईएसी) को मान्यता प्राप्त वेस्टक्लिफ विश्वविद्यालयको पाठ्यक्रम अनुरूप अध्यापन गराउने भएको छ। “वेस्टक्लिफको स्तर अनुसारको अध्यापनबाट यो पाठ्यक्रमले विद्यार्थी र शिक्षक दुवैलाई सिर्जनशील र मिहिनेती बनाउँछ”, कलेजका विप्लव सिंह भन्छन्।

स्वीट्जरल्याण्डको स्वीस होटल एसोसिएसनसँग सम्बन्धन प्राप्त गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाई होटल व्यवस्थापन विषयप्रति विद्यार्थीको बढ्दो आकर्षण देखेर नै आठ वर्षअघि कलेज स्थापना गरेको बताउँछन्। “एउटै संकाय भएकाले कलेज व्यवस्थापन र विद्यार्थीको गतिविधि नियाल्न सजिलो भएको छ”, उनी भन्छन्, “परीक्षाफल पनि सन्तोषजनक छ।”

बीबीए र बीबीएस पढाइ हुने जावलाखेलको डीएभी कलेजले आठ वटै सेमेस्टरमा पाठ्यक्रम बाहिरको कोर्समा पनि सहभागी गराइरहेको छ। बीबीएस पहिलो सेमेस्टरमा औद्योगिक क्षेत्र भ्रमण, दोस्रोमा व्यक्तित्व विकास तालीम, तेस्रोमा सामाजिक भ्रमण हुँदै अनुसन्धान, प्रतिवेदन लेखनलगायत अन्य प्रस्तुतिमा संलग्न गराइने डीएभीका कार्यक्रम संयोजक बसन्त ढकाल बताउँछन्। “पढाइ सकिएपछि विद्यार्थीलाई जागिर खोज्ने होइन रोजगार सिर्जना गर्ने बनाउनु नै हाम्रो उद्देश्य हो”, उनी भन्छन्। गत वर्ष एक हजार जनाबाट ६४ जनालाई मात्रै भर्ना लिएको भन्दै उनी विद्यार्थीको संख्याले भन्दा गुणस्तरले कलेजको पहिचान बनाउने दाबी गर्छन्।

विद्यार्थीलाई पढाइ सकिएपछि जागिर खोज्ने होइन, रोजगार सिर्जना गर्ने बनाउनु हाम्रो लक्ष्य हो।

वसन्त ढकाल

कार्यक्रम संयोजक

डीएभी कलेज

आफ्नो क्षमता अनुसार अध्ययन गरे जुनसुकै विषयमा पनि करिअर निर्माण गर्न सकिन्छ।

सन्दिपा थापा

फिल्ड एण्ड मार्केटिङ निर्देशक,

सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट

राजनीतिक अस्थिरता अन्त्य हुनासाथ नेपाली विद्यार्थी बाहिरिन छाड्नेछन्।

विजय केसी

डीन, एसएआईएम

ओरालो लागेका विषय

इन्टरनेशनल स्कूल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट (आईएसटी), ज्ञानेश्वर।
बत्तीसपुतलीस्थित गोल्डेन गेट इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल पछिल्ला वर्ष अर्थशास्त्र, समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता जस्ता विषयमा विद्यार्थीको रुचि सेलाउँदै गएको पाउँछन्।

“विद्यार्थीलाई यी विषयको महत्व बुझाउन सकिएको छैन”, उनी भन्छन्, “पर्याप्त रोजगारीका अवसर नभइदिनाले विषयप्रति आकर्षणमा कमी आएको हो।”

चारवर्षे भएर पनि सेमेस्टर प्रणालीमा नगइसकेकाले बीबीएसमा पनि विद्यार्थी संख्या ओरालो लागेको आइन्स्टाइन एकेडेमीका कविराज राईको भनाइ छ। “चौथो वर्षको पाठ्यक्रम तयार भएर हामीकहाँ आइपुगेपछि चाहिं आकर्षण बढ्न सक्छ”, राईको आशा छ।

आफ्नो क्षमता अनुसार अध्ययन गरे जुनसुकै विषयमा पनि 'करिअर' निर्माण गर्न सकिने सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टकी फिल्ड एण्ड मार्केटिङ निर्देशक सन्दिपा थापा बताउँछिन्। “अभिभावक र विद्यार्थी स्पष्ट हुँदा पढाइ सम्बन्धी थुपै्र भ्रम हराउने थियो।” बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन लिएको सिल्भर माउन्टेनले विषयगत शिक्षासँगै विद्यार्थीको क्षमता विकासमा पनि ध्यान दिंदै आएको छ।

स्वदेशमै अन्तर्राष्ट्रिय डिग्रीको सुविधा भएपछि नेपाली विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ।

डा. विनोदबहादुर खत्री

प्रधानाध्यापक

फिनिक्स कलेज अफ म्यानेजमेन्टजमेन्ट

चारवर्षे स्नातक तहको प्रावधानले विद्यार्थीले धेरै नयाँ कुरा सिक्न पाएका छन्।

चेतन पोखरेल

प्रधानाध्यापक

एशियन कलेज अफ म्यानेजमेन्ट

होटल म्यानेजमेन्ट पढेकाहरूले सजिलै रोजगारी पाइने भएकाले यो विषयप्रति आकर्षण बढ्दो छ।

सिर्जना बस्नेत

प्रधानाध्यापक

आईएसटी कलेज

हामीकहाँ उच्चसूचना प्रविधि र अद्यावधिक पाठ्यक्रम छन्। जमाना यसैको छ।

सुमन श्रेष्ठ

मार्केटिङ म्यानेजर

ब्रिटिश कलेज

comments powered by Disqus

रमझम