३-९ असोज २०७२ | 20-26 September 2015

फर्निचरको पुनःप्रयोग

Share:
  
पुराना फर्निचरलाई मर्मत गरी नयाँ स्वरुपमा पुनःप्रयोग गर्न सकिन्छ।

इन्टरनेट तस्वीर
गोल्फुटार, काठमाडौंका युनबहादुर विश्वकर्मा (४३) ले दुई वर्षअघि मात्र बुक र्‍याक मर्मत गराएका थिए। १२ वर्षअघि आफ्नै किताब–कापी राख्न किनेको र्‍याक अहिले छोराका लागि उपयोगी भएको छ। “र्‍याकमाथि तातो भाँडा राखेकाले सेतो दाग लागेको थियो, सिसा फुटेका थिए”, कपडा व्यापारी विश्वकर्मा भन्छन्, “मर्मतपछि चिटिक्क देखिन्छ। अझै १५–२० वर्ष आरामले टिक्छ।”

घरका फर्निचर थोत्रिए वा बिग्रिएमा हामीमध्ये अधिकांश तिनलाई आगो बाल्न प्रयोग गर्छौं। फर्निचरका काठ मिल्काएको पनि देखेकै छौं। केहीले भने नचाहिने फर्निचर सस्तो मूल्यमा फर्निचर पसलमा बेच्ने गरेका छन्। तर, फर्निचर व्यवसायी सुजिल श्रेष्ठ काठका अधिकांश फर्निचर मर्मत गरेर उपयोग गर्न सकिने बताउँछन्। “काठको अवमूल्यन गर्नुहुँदैन”, डिल्लीबजारस्थित ग्लोबस इन्टरप्राइजेजका श्रेष्ठ भन्छन्, “अनेक तरीकाले पुनःप्रयोग गर्न सकिन्छ।”

सोफा, डाइनिङ टेबुल, खाट, र्‍याक, डे्रसरलगायत फर्निचर मर्मत पछि पुनःप्रयोग गर्न मिल्छन्। हार्डउड फ्लोर, झ्याल–ढोका, दराज–सेट आदि बिग्रिएमा पनि निराश भइहाल्नु पर्दैन। दाग लागेका, खुइलिएका, खुट्टा भाँचिएका र कोतरिएका फर्निचरलाई सानो प्रयासले नयाँ जस्तै बनाउन सकिन्छ। “पुरानो फिनिसिङमाथि नयाँ क्लियर कोट प्रयोग गरेपछि कुरुप फर्निचर पनि सुन्दर बन्छन्”, श्रेष्ठको अनुभव छ।

पुराना फर्निचरको आकार–प्रकार वा बुट्टा बदलेर नयाँ शैलीमा बनाउन सकिन्छ। अर्को फर्निचर निर्माणमा पनि प्रयोग गर्न सकिन्छ। “अनावश्यक र पुराना फर्निचर नयाँसँग साट्न खोज्ने पनि धेरै छन्”, चार वर्षदेखि भृकुटीमण्डपमा फर्निचर एण्ड फर्निसिङ एक्स्पो आयोजना गर्दै आएका सीएन उपाध्याय भन्छन्, “त्यसैले यसपालिको प्रदर्शनीमा फर्निचर एक्सचेन्ज स्टल पनि राख्ने योजना छ।”

फर्निचरको फिनिसिङमा सेतो दाग हटाउन लेमन ओएल र वाक्स मिसाई लगाउनुपर्ने अमेरिकास्थित युट स्टेट युनिभर्सिटी को–अपरेसन एक्स्टेन्सनका क्यारोल विलियम्सको 'क्लिनिङ, रिपेयरिङ एण्ड रिकन्डिसनिङ उड फर्निचर' शीर्षकको अध्ययनमा जनाइएको छ। अध्ययनका अनुसार फर्निचरको कालो दाग अक्जालिक एसिड वा उड ब्लिचले मेटाउँछ भने कोतरिएको ठाउँमा काठकै रङको जुत्तामा लगाउने पालिस लगाउन सकिन्छ। काठ चिरा नै परेको खण्डमा चाहिं 'प्याचिङ' पद्धतिबाटै पुर्न सकिन्छ।

पुराना फर्निचर चिनोका रूपमा जस्ताको तस्तै राख्न चाहने पनि हुन्छन्। तर, मर्मतका क्रममा फर्निचरको रुपमा केही परिवर्तन हुन्छ नै। त्यसैले फर्निचर मर्मत गर्नुभन्दा राम्ररी प्रयोग गर्नु उपयुक्त हुने तीन दशकदेखि सक्रिय सुजिल श्रेष्ठको सुझ्ााव छ। भन्छन्, “टी–टेबुल, डाइनिङ टेबुल, बुक र्‍याक माथि चढ्नुहुँदैन। तातो भाँडा, गमला आदि लामो समय राख्नुहुँदैन।”

वेला–वेलामा फर्निचर क्लिनर, कन्डिसनर वा पालिसले कुना–काप्चा सफा गरे फर्निचर सदैव आकर्षक देखिन्छन्। खाट, सोफा, दराज आदिमा लेमिनेट गरिएको छैन भने तिनमा कीरा लाग्न सक्छ। यस्तो वेला कीरा मार्ने औषधि प्रयोग गर्नुपर्छ। तीन चम्चा तातो आलसको तेलमा दुई चम्चा टर्पेन्टाइन र एकचौथाइ तातोपानी घोलेर कपडामा चोप्दै सफा गर्दा फर्निचर चिटिक्क र बलियो हुने क्यारोल विलियम्सको अध्ययनमा उल्लेख छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम