३-९ असोज २०७२ | 20-26 September 2015

विप्रेषणको अन्तर्य

Share:
  

मध्यपूर्व तथा अरब प्रायद्वीप (खाडी मुलुक) मा तन्दुर वा भट्टीमा पोलिने आँटा वा मैदाको रोटी हो, खबुज। बेन्यामिनले मलयालम भाषामा लेखेको मूल उपन्यास 'आडु जिविदम' लाई जोसेफ कोइप्पालीले अंग्रेजी अनुवाद गर्दा 'गोट डेज' नाम राखे। नेपालीका अनुवादक दिनेश काफ्लेले भने यही उपन्यासलाई खबुज भनी न्वारान गरेका छन्। खाडीको खानेकुरा खबुज नेपालमा पुस्तक बनेको छ।
केरलाको सुरम्य उपत्यकामा हुर्केर बालुवाखानीमा काम सिक्दै गरेको नजिब गर्भवती श्रीमती छाडेर सपना पछ्याउँदै अरबको बाख्रा फार्ममा पुग्छ, गोठालोे काम गर्दागर्दै ऊ बाख्रा जस्तै बन्न पुग्छ, जहाँ सपनाका पोया भेट्नु त कता हो कता, प्राण जोगाउनै हम्मे–हम्मे पर्छ, अदम्य आशावादिताकै कारण साढे दुई वर्षपछि ऊ देश फर्कन सफल हुन्छ, खबुज को कथा यत्ति हो।

पुस्तक खबुज लेखक बेन्यामिन

अनुवादक दिनेश काफ्ले

प्रकाशक फाइनप्रिन्ट बुक्स

पृष्ठ १६४+१२,

मूल्य रु.२५०

तर, उपन्यासकार बेन्यामिनले आपसी आत्मीयताबाट मनुष्य–पशु एकाकार भएको कल्पना र यस्तै जीवन भोगेका नजिबको माध्यमबाट लाखौंको दर्द चित्रण गर्छन्। जतिसुकै कष्टमा पनि मनुष्य सपनाकै कारण बाँच्दछ। सपनामै रमाउँछ। यही सपनाकै संसारलाई मन छुने किसिमले प्रस्तुत गरेकाले उपन्यास उम्दा भएको छ। वास्तविक घटनामा आधारित खबुज को विषयवस्तु सामान्य छ तर प्रस्तुति असामान्य। प्रस्तुतिको यही शैलीले पाठकलाई लामो समयसम्म झ्ाक्झ्ाक्याउने सामर्थ्य राख्छ।

मलयालम, अंग्रेजी हुँदै नेपालीमा अनूदित पुस्तकको भाषालाई अनुवादकले आफू जन्मे–हुर्केको भाषिक परिवेशमा ढालेर रसिलो बनाएका छन्। यो शैलीको अनुवाद अनुवादशास्त्रीका बीच बहसको विषय पनि बन्न सक्छ, तर पाठकले भने आनन्द महसूस गर्नेछन्। यसर्थ पनि भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अंग्रेजी साहित्यमा विद्यावारिधि गरिरहेका अनुवादक काफ्ले प्रशंसाका पात्र बनेका छन्।

सत्य के पनि हो भने नजिबले अरबमा बाँचेको नारकीय जीवन खाडी जाने अधिकांश नेपालीकै जीवन हो। उनीहरुले नै पठाएको पैसा (विप्रेषण) ले नै मुलुकको अर्थतन्त्र धानेको वास्तविकता हामीसामु छ। यो यथार्थबीच यो उपन्यास पढिनु नै ती आप्रवासीप्रतिको सम्मान हुनेछ।

शंकर तिवारी


पुस्तक चिनारी

पण्डित नभएमा

विधाः कर्मकाण्ड

लेखन तथा सम्पादनः अर्जुन न्यौपाने

प्रकाशकः नव उद्यान प्रतिष्ठान

पृष्ठः २३८+२३,

मूल्यः रु.२३०

अंग्रेजी भाषाका शिक्षक अर्जुन न्यौपानेको संस्कृतप्रतिको चासोले जन्माएको पुस्तक हो, 'पण्डित नभएमा'। वैदिक सनातन हिन्दूधर्म र संस्कृतिका पूजाविधिमा आधारित यो पुस्तकले उत्तरआधुनिकतातर्फ उन्मुख जीवनशैलीमा कर्मकाण्डका लागि पण्डितकै भर नपर्न सुझाउँछ।

नेपाली अर्थतन्त्रको सम्भावना

विधाः लेखसंग्रह

लेखक/प्रकाशकः रिसव गौतम

पृष्ठः १६०+४

मूल्यः रु.२५० (व्यक्तिगत), रु.५०० (संस्थागत)

आर्थिक विषयमा सञ्चारमाध्यममा विचार पस्कँदै आएका रिसव गौतम 'नेपाली अर्थतन्त्रको सम्भावना' मार्फत कृतिकारका रुपमा उदाएका छन्। पहिल्यै प्रकाशित गौतमका लेखहरूको यो संग्रहले देशको अर्थतन्त्रप्रति एउटा नागरिकको चिन्ता बोकेको छ।

हलेसी

विधाः स्थान परिचय

सम्पादकः भोगीराज चाम्लिङ

प्रकाशकः हलेसी विकास समिति

पृष्ठः २५२+४

मूल्यः रु.२००

पुस्तकले किरात, हिन्दू र बौद्ध समुदायको आस्थाको संगम मानिएको खोटाङको महादेवस्थान गाविसमा पर्ने हलेसीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व वर्णन गर्छ। भोगीराज चाम्लिङले सम्पादन गरेको पुस्तकमा हलेसीबारे लेखिएका १६ वटा आलेख समावेश छन्।

आँधी रोकिएपछि

विधाः कविता

लेखकः टोपबहादुर राई 'याक्खा'

प्रकाशकः साब्लाबुङ

प्रकाशन, हङकङ

पृष्ठः ७१+२९

मूल्यः रु.१२०

संखुवासभाका टोपबहादुर राई 'याक्खा' हङकङ बस्छन् तर हरक्षण आफ्नी आमा, सँगी र घरगाउँ सम्झिरहन्छन्। ३० वटा कविताको संग्रह 'आँधी रोकिएपछि' उनका तिनै भावनाका उपज हुन्। संग्रह पढ्दा परदेशले उनको प्रतिभा झनै माझिएको पुष्टि हुन्छ।

comments powered by Disqus

रमझम