जब तपाईं उपल्लो मुस्ताङ टेक्नुहुन्छ, क्षणभरका लागि त समय नै टक्क अडिए जस्तो लाग्छ। शहरको अस्तव्यस्ततादेखि धेरै टाढाको यो दुर्गम गाउँको जीवनको गति आफ्नै छ। लोमान्थाङका प्रत्येक बाटा र चोकमा तपाईंलाई मुस्कानसहितको न्यानो नमस्तेले स्वागत गर्छ। हरेक कुरा विशेष लाग्छन्।
तिब्बती पहिरनमा सजिएका स्थानीयहरू आनन्दले घाम तापिरहेका भेटिन्छन्। सूर्य अस्ताएसँगै गाउँ मौन हुन्छ। रात यति चकमन्न हुन्छ कि तपाईं हावाको वहाव सुन्न सक्नुहुन्छ।
२ भदौमा लोमान्थाङ पुग्दा त्यहाँ यार्तुङ खेल भइरहेको थियो। शरद ऋतुको स्वागतमा गरिएको यो घोडादौड प्रतियोगिता हेर्न आएका युवतीहरू रोमाञ्चित देखिन्थे। घोडा, भिक्षु र पर्वतको रंग उस्तै–उस्तै देखिन्थ्यो।
१२ वैशाखको भूकम्पको असर यहाँका घरहरूमा परेको देखिंदैन। तर, पर्यटनमा पुगेको क्षति भने प्रष्ट छ। यहाँका अधिकांश पसल खुला तर, खाली छन्। ग्राहक देखिंदैनन्। होटल पनि आधाउधी मात्रै भरिएका छन्। दुई दिनभन्दा बढी एउटै होटलमा बस्नुभयो भने तपाईं परिचित बन्नुहुनेछ, र स्थानीयहरू कुरा गर्न थाल्नेछन्।
यहाँका घर, गुम्बा र असंख्य छोर्तेनका कारण मात्र होइन; भाषा, रहनसहन, संस्कार र संस्कृतिमा तिब्बती बौद्ध धर्मको गहिरो प्रभाव देखिन्छ। लाग्छ, हरेक व्यक्तिमा अध्यात्मको बास छ।
उपल्लो मुस्ताङको सुन्दरताको वर्णन गरेर अघाउनेहरू शायदै भेटिन्छन्। यत्ति मात्र भनौं, प्रकृतिलाई आमा मान्ने हो भने उपल्लो मुस्ताङ उनको हृदयले बनाएको ठाउँ हो, एउटा 'सांग्रिला'।