३-९ असोज २०७२ | 20-26 September 2015

एउटा दासको कथा

Share:
  
लघु चलचित्र कमारो ले इतिहासको कटुसत्यबाट वर्तमानलाई व्यंग्य गर्न खोजेको छ।

'बा, सारै जाडो भो, घर जाऊँ न।'

जाम्बवान् अर्थात् भोटेकुकुरको खोरमा सुतिरहेको अदानेले एकदिन बुबा महाजितेसँग यस्तो आग्रह गर्‍यो।

'हामी मालिकका कमारा हौं अदाने, मालिकले जे भनेका छन्, त्यही मान्नुपर्छ। बढ्ता कुरा सोच्नु र गर्नुहुँदैन। यो जाम्बवान जति आज्ञाकारी छ, हामी पनि त्यसभन्दा कम हुनुहुँदैन बुझिस्।'

अदानेले जसै बुबाको जवाफ सुन्यो, दोहोर्‍याएर कहिल्यै प्रश्न गरेन। ठिहिर्‍याउने चिसोमा कुकुरसँग रात काटिरहँदा घरमा भने मालिक अदानेकी आमालाई भोगिरहेको हुन्थ्यो। महाजितेले नै हो, अदानेकी आमालाई मालिकसँग छाडेर आएको। यो उसको पुर्खौंदेखिको कर्म हो, कारण ऊ कमारो हो।

२०५९ सालमा प्रकाशित महेशविक्रम शाहको कथासंग्रह सिपाहीकी स्वास्नी भित्रको एउटा कथा हो, कमारो। जहाँ कथाकारले खसजातिको उत्पत्तिस्थल ठानिने कर्णालीको सिंजा उपत्यकामा २००८ सालतिर विद्यमान कमारो प्रथाका पीडाबारे लेखेका थिए। त्यसको १३ वर्षपछि त्यही कथामा आधारित लघु चलचित्र बनेको छ, कमारो।

१ वैशाख १९८२ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले मुलुकमा दासप्रथाको उन्मूलनको घोषणा गरे पनि अभावको राजधानी मानिने कर्णालीमा यसको खासै असर परेन। महाजितेले जसरी छोरो अदानेलाई कमारोको 'धर्म' सम्झाएका थिए, उसैगरी उनका बुबा, हजुरबुबाले हरेक पुस्तालाई यो कर्तव्य बोध गराउँदै आएका थिए। चलचित्रको अन्त्यमा अदानेको बालक छोरो चन्देले पनि उसैगरी 'जाडो भयो घर जाऊँ न' भन्दा २२ वर्षअघि आफ्ना बाबुले त्यही ठाउँमा भनेको उही वाक्य दोहोर्‍याउँछ।

चामलको भात खान नपाएको बालक अदानेले मालिकका छोराहरूको जूठो भात खाएको, अदानेलाई घोडा बनाई चढेका दृश्य हृदयविदारक छन्। मालिकले राति ढोकामा लात्ती बजारेपछि हत्तपत्त छोरो बोकेर खोरमा जान लागेको महाजितेको नियति देखेर उनकी श्रीमतीले आँसु झारेको दृश्य मार्मिक छ।

तिब्बती शरणार्थीको प्रवेश र एक वर्षअघि नै नेपालमा प्रजातन्त्र आएकोबारे भर्खरै थाहा पाएको बताउने शिक्षकको संवादले त्यसवेलाको बन्द समाजको झल्को दिन्छ। कथामा अस्पष्ट र अपूर्ण कतिपय वाक्यलाई दृश्यले जीवन्त बनाएको छ। सिंजाका गाउँ, रोपाइँ र नाचगानका दृश्यले चलचित्रलाई धनी बनाएका छन्।

चेतनामूलक टेलिश्रृंखलामा छाप छाडेकी सिरु विष्टको अदानेकी आमाको भूमिका स्मरणीय छ। अदाने बनेका ७ वर्षीय तारा सार्कीको अभिनय वास्तविक लाग्छ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने ध्येय बोकेको २३ मिनेट ११ सेकेण्ड लामो यो चलचित्रको पटकथा र निर्देशन अरुणदेव जोशीले गरेका हुन्। 'नुमाफुङ' निर्देशक नवीन सुब्बाले समेत कमारो हेरेपछि जोशीको क्षमता र परिश्रमको तारिफ गर्दै 'बजारको व्यावसायिकता भन्दा माथि उठेर गरिएको प्रयास' भनेका छन्। कथाकार शाहले चलचित्रले आफ्नो कथाको मर्मलाई टपक्कै टिप्न सफल भएको बताएका छन्। “चलचित्रको माध्यमबाट इतिहास उत्खनन् गर्ने सानो प्रयास हो, यो विषयमा अझै खोज गर्न सकिन्छ”, निर्देशक जोशी भन्छन्।

निशु फिल्म प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको विशेषता भनेको सिंजाकै गाउँ पुगी कथानुसारकै स्थान र परिवेश देखाउन प्रयत्न गर्नु हो। निर्मात्री निशा श्रेष्ठ महिलामाथिका भेदभावबारे केही गर्ने सोचले आफूलाई 'कमारो' सम्म ल्याएको बताउँछिन्। 'चलचित्रमार्फत इतिहासको कुनै कालखण्ड देखाएर त्यसलाई वर्तमानसँग कसरी जोडेर हेर्न सकिन्छ भन्ने हाम्रो प्रयास हो', उनी भन्छिन्।
त्यसो त कमारो हेरिरहँदा सुदूरपश्चिमका हलियाका कथा सामुन्ने आउँछन्, जो कागजमा मुक्त त भइसके तर कतिपय अझ्ौ पनि मालिककै शरणमा छन्।

कम्लरीले यसलाई आफूसँग जोडेर हेर्न सक्छन्। प्रथा बनिनसकेको र व्यथा उस्तै रहेका वर्तमानका आधुनिक दासले पनि पात्रभित्र आफू अर्थ्याउन सक्छन्। किनभने मालिक र दासका परिभाषा फेरिएको लोकतन्त्रका हरेक अंगमा यो प्रवृत्ति ज्यूँदै छ। यसलाई उजिल्याउन कमारो जस्ता थुप्रै चलचित्र बन्नुपर्ने हुन्छ।

रविन गिरी

comments powered by Disqus

रमझम