३-९ असोज २०७२ | 20-26 September 2015

अञ्जुको आधुनिक भाका

Share:
  

हिन्दू महिलाले मनाउने हरितालिका तीजलाई लक्षित गर्दै थुप्रै कलाकारले गीत तथा म्युजिक भिडियो सार्वजनिक गरे। नवगायिका अञ्जु श्रेष्ठ पनि यही वेला 'रातो साडी फरर' गीतको म्युजिक भिडियोसहित झुल्किइन्। आफ्नै रचना र राज सागरको संगीतको यो गीतलाई श्रोताले अलि फरक ढंगको ठाने। कारण, प्रायः लोकलयमा गाइने तीजका भाकालाई अञ्जुले आधुनिक स्वाद दिएकी थिइन्।
कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट डिप्लोमा दोस्रो वर्षमा आधुनिक गायनमा स्वर्ण पदक हासिल गरेकी अञ्जु आफ्नो दक्षता भएकै विधामा गाएकै कारण गीतले प्रशंसा पाएको बताउँछिन्। “आधुनिक भाकाले श्रोतालाई फरक महसूस गराउन सक्छ भन्ने लागेर यसो गरेकी हुँ”, उनी भन्छिन्।


बत्ती देउता

सांगीतिक समूह 'जोइन्ट फ्यामिली इन्टरनेशनल' को 'बत्ती देउता' गीतले यतिवेला चर्चा बटुल्न थालेको छ। डेढ महीनाअघि सार्वजनिक रेगे शैलीको यो व्यंग्यात्मक गीत खासगरी युवामाझ गुन्गुनाइने गरेको छ। “देश पशुपतिनाथको कृपाले चलेका वेला यो गीत राष्ट्र गीत मान्नुपर्छ। सरकारसँग मागेर केही पाइएन अब भगवानसँग मागिन्छ, यही गीत गाउँदै”, गीतबारे विशाल आचार्यले युट्युबमा यस्तो टिप्पणी गरेका छन्।

नेपालमा बिजुली, पानी, नबिग्रिएको सडक र विवेकको अभाव भएको भन्दै गीतमा देउतासँग यी चिज जुटाइदिन आग्रह गरिएको छ। त्यसो त यस समूहको पहिलो गीत 'नेताजी' मा पनि व्यंग्य रस थियो। सञ्जय श्रेष्ठ, इनपराज श्रेष्ठ, जिम्बा, किस्मत, बिजेन्त, वसन्त, महेश र जिम्मा जोइन्ट फ्यामिलीका सदस्य हुन्।


कल्याण कोषमा झरना

चलचित्र विकास बोर्डले २८ भदौमा अभिनेत्री झरना थापालाई 'चलचित्रकर्मी कल्याणकोष' सञ्चालक समितिको संयोजक नियुक्त गरेको छ। “कोषको कार्य पद्धति बुझ्न अलिकति समय लाग्नेछ,” थापा भन्छिन्, “अनि जोडतोडका साथ के–के गर्न सक्छु, गर्छु।”

चलचित्र 'ए मेरो हजुर' निर्देशनको तयारीमा रहेकी झरना अघि कोषको नेतृत्वमा अभिनेत्री बसुन्धरा भुसाल थिइन्। यो कोषले चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका आर्थिक रूपमा कमजोर चलचित्रकर्मीलाई उपचार लगायतमा मासिक रु.५ हजार अशक्तवृत्ति पनि प्रदान गर्दै आएको छ। कोषको कार्यकाल दुई वर्षको रहेको छ ।

comments powered by Disqus

रमझम