'नकारात्मक सोचले समाज अघि बढ्दैन'

Share:
  
p56
 
तस्वीरः ऋषिराम कट्टेल

२०२२ सालमा बाग्लुङको बलेवामा जन्मेर गाउँबाटै एसएलसी गरेका चन्द्र ढकालले काठमाडौंको सरस्वती क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरे। पाँच वर्ष राष्ट्रिय वाणिज्य ब्याङ्कमा काम गरेर कार्गो व्यवसायमा हात हालेका उनले १२ वर्षअघि स्थापना गरेको इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) अहिले मुलुकमा रेमिट्यान्स भित्र्याउने प्रमुख कम्पनी बनेको छ। नेपाली पुगेका सबैजसो देशमा फैलिएको आईएमईले गर्दा नेपाली कामदारहरूले विदेशमा कमाएको पैसा घरपरिवारमा पठाउँदा हुण्डी जस्ता अनौपचारिक र असुरक्षित माध्यमबाट मुक्ति पाएको ढकाल बताउँछन्। पछिल्लो समय ब्याङ्क, जलविद्युत्, पर्यटन, व्यापार जस्ता क्षेत्रमा पनि लगानी विस्तार गरिरहेका ढकालले आफ्नो व्यवसायको आकार फराकिलो पारेर आईएमई ग्रुप स्थापना गरेका छन्। 

नेपालमा अस्वाभाविक लाग्ने सफलता हासिल गर्नुभयो, कसरी सम्भव भयो?
म २० वर्षदेखि इमान, समर्पण र मिहिनेतका साथ व्यापार–वाणिज्य क्षेत्रमा क्रियाशील छु। मेरो व्यवसाय छोटो अवधिमा अस्वाभाविक रूपले विस्तार भएको होइन। हामीले काम शुरू गर्दा विदेशमा नेपालीहरूले पसिना बगाएर कमाएको रकम स्वदेश भित्र्याउने वैधानिक माध्यम अति आवश्यक थियो। त्यसमा अवसर देखेर हामीले आईएमई रेमिटको रूपमा विदेशका नेपालीहरूको कमाइ केही मिनेटभित्रै परिवारको हातमा पार्ने विश्वासिलो नेटवर्क बनायौं। १२ वर्षमा यसले हामीलाई सफल व्यवसायी बनायो। हामीले काम थाल्दा करीब २० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट र बाँकी ८० प्रतिशत अनौपचारिक माध्यमबाट भित्रिन्थ्यो भने अहिले औपचारिक माध्यमबाट ८० प्रतिशत र अनौपचारिक माध्यमबाट २० प्रतिशत भित्रिने गरेको छ।  
 
विदेशमा कम्पनी खोल्न व्यवधान भएन?  
मलेसियाबाट काम शुरू गर्दा केही अप्ठ्यारा थिए। तर, सबै देशले औपचारिक माध्यमबाटै वित्तीय कारोबार होस् भन्ने चाहने हुनाले त्यहाँका सरकार र केन्द्रीय ब्याङ्कहरूले सहयोग गरे। बरु कम्पनी खोल्न भन्दा पनि ग्राहकहरूलाई औपचारिक ब्याङ्किङ माध्यमबाट पैसा घरपरिवारमा पुर्‍याइदिन्छौं भनेर बुझ्ाउन धेरै मिहिनेत गर्नुपरेको थियो।
 
देश–विदेशमा तपाईंहरूको सञ्जाल कस्तो छ?
नेपालमा आईएमईको सञ्जालमा २२०० भन्दा बढी संस्था आबद्ध छन्। विदेशमा नेपालीहरू पुगेका सबै देशमा हामी कतै प्रत्यक्ष उपस्थित छौं भने कतै विश्वव्यापी कम्पनीहरूसँग मिलेर काम गरिरहेका छौं। मलेशियाबाट शुरू भएको आईएमई अन्तर्राष्ट्रिय रेमिट्यान्स बजारमा स्थापित ब्राण्ड भइसकेको छ। विभिन्न मुलुकका वाणिज्य ब्याङ्कहरूको सहकार्यमा दक्षिण एशिया, दक्षिण–पूर्वी एशिया, मध्यपूर्व, अमेरिका लगायतका देशमा आईएमईको सुविधा लिन सकिन्छ। नेपाली मात्र नभई इन्डोनेशिया, फिलिपिन्स, बङ्गलादेश, पाकिस्तान, भारत तथा अन्य देशका आप्रवासी कामदारको बीचमा पनि आईएमई प्रचलित र स्थापित नाम भएको छ, जुन हाम्रा लागि गौरवको कुरा हो। 

भारतमा काम गर्ने ३० लाखभन्दा बढी नेपालीको कमाइ अनौपचारिक माध्यमबाट आउँदा वित्तीय प्रणालीमा सहयोग पुगेको छैन। भारतमा काम गरेर फर्कने नेपालीहरू सीमामा लुटिने, मारिने र उनीहरूको कमाइ नेपाल आइपुग्दा भारु ५०० र १००० को नोटका कारण अवैधानिक हुने समस्या छँदैछ। राष्ट्र ब्याङ्कले वर्षेनि डलर बेचेर भारु किन्नु परिरहेको छ। यो अवस्थामा ६ महीनादेखि युनाइटेड ब्याङ्क अफ इन्डिया, ग्लोबल आईएमई ब्याङ्क र आईएमई रेमिट्यान्स कम्पनी मिलेर भारतमा नेपालीहरू धेरै बस्ने शहरमा रकम लिन र जिल्लामा भुक्तानी दिन शुरू गरेका छौं। ९० प्रतिशत रेमिट्यान्स अनौपचारिक माध्यमबाट भित्रिरहेको दक्षिण कोरियामा छिट्टै सेवा विस्तार हुँदैछ, अष्टे्रलियामा पनि शुरू गर्दैछौं।  
 
रेमिट्यान्सबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्दै हुनुहुन्छ, होइन?
काठमाडौंमा थानकोट–चन्द्रागिरि केवुलकार हाम्रो प्राथमिकताको प्रोजेक्ट हो। राजधानी नजिकै घुम्न जाने रमणीय गन्तव्यको रूपमा चन्द्रागिरिलाई प्रबर्द्धन गर्ने हाम्रो योजना छ। दुई वर्षमा यो प्रोजेक्ट सकिन्छ। केवुलकारसँगै चन्द्रागिरिमा फनपार्क, थिमपार्क र रिसोर्ट खोल्ने योजना छ। रु.२ अर्बभन्दा माथिको यो परियोजनामा भाटभटेनी समूह र गैर–आवासीय नेपालीहरूको पनि लगानी हुनेछ।  
 
तैपनि तपाईंहरूको लगानी त्यति विविधीकरण हुन सकेको देखिंदैन नि?  
हाम्रो कार्गो व्यवसाय अहिले पनि चलिरहेको छ। एएमडब्लु र सामे ब्राण्डका टि्रपर र ट्याक्टर बिक्रीबाट अटोमोबाइल्स व्यवसाय शुरू गरेका छौं। लमजुङमा २७ मेगावाटको दोर्दी जलविद्युत् आयोजनाका लागि पहल गरिरहेका छौं। देशको आवश्यकता र सम्भावनाअनुसार थप जलविद्युत् आयोजनामा लगानी गर्दैछौं। अरू उत्पादनमूलक क्षेत्र पनि खोज्दैछौं।
 
ग्लोबल ब्याङ्क, आईएमई र लर्डबुद्ध फाइनान्स गाभिएपछि संस्थाको अवस्था कस्तो छ?  
कमर्सियल ब्याङ्क र फाइनान्स कम्पनीहरूको पहिलो मर्जर भएकाले राम्रोसँग चलिरहेको संस्था बिग्रने पो हो कि भन्ने डर थियो, तर अहिले ब्याङ्क सुदृढ हुनपुगेको छ। विगत भन्दा बढी प्रतिफल दिन सफल ब्याङ्कले आउने दिनमा अझ् राम्रो नतिजा दिनसक्ने देखिन्छ। शेयर बजारमा पनि ग्लोबल आईएमईप्रति लगानीकर्ताले राम्रो भरोसा देखाएका छन्। शाखा सञ्जालको हिसाबले निजी क्षेत्रको सबैभन्दा ठूलो ब्याङ्क भएको र व्यावसायिक आँकडाको हिसाबले पनि निकै राम्रो अवस्थामा पुगेको छ।
 
रेमिट्यान्स कारोबारमा तपाईं औपचारिक–अनौपचारिक दुई किसिमको सफ्टवेयर प्रयोग गरेर हुण्डी पनि आफैं चलाउनुहुन्छ भन्ने आरोप छ नि?
यो प्रश्न हालै बजारमा फैलाइएको ब्याङ्कले दुई वटा सफ्टवेयर प्रयोग गर्‍यो भन्ने अनर्गल प्रचारसँग जोडिए जस्तो लाग्छ। मर्जरअघि तीन वटै संस्थामा फरक ब्याङ्किङ सफ्टवेयर थिए, पछि एकीकृत सफ्टवेयरको रूपमा विश्वस्तरीय फिनाकल प्रयोग गरेका छौं। रेमिट्यान्सको कुरा हो भने यो प्रश्न पनि जायज छैन। जो मान्छेले अनौपचारिक माध्यमबाट आइरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन संघर्ष र मिहिनेत गर्‍यो, जसको रेमिट्यान्स मोडललाई विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्क जस्ता संस्थाले प्रशंसा गरेका छन् र यही औपचारिक रेमिट्यान्सले आज देशको अर्थतन्त्र धानेको छ भने त्यस्तो आधारहीन र भ्रमपूर्ण आरोपले कुनै अर्थ राख्दैन। मैले आईएमई शुरू गर्दा हुण्डी धन्दा गरिरहेकाहरूले दिएको धम्की सम्झ्ँदा अहिले पनि अत्यास लाग्छ।  
 
तपाईंलाई नातेदार राष्ट्र ब्याङ्कको सञ्चालक नियुक्त भएपछि राजनीतिक शक्ति केन्द्रलाई रिझाएर आफ्नो स्वार्थ पूरा गर्न खप्पिस भनी व्यवसायीहरू नै टिप्पणी गर्छन्!
कसैको नातेदार हुँदैमा योग्य व्यक्तिले अवसर पाउनुहुँदैन भन्ने तर्क गलत हो। मुख्य कुरा व्यक्ति कति सक्षम छ र काम कस्तो गरेको छ भन्ने हो। जहाँसम्म मैले नातेदार नियुक्त गराएको भन्ने कुरा छ, त्यो आधारहीन प्रचारवाजी मात्र हो। इमान र मिहिनेतको बलमा शून्यबाट उठेको मान्छेलाई अनावश्यक टिप्पणी गरेर हतोत्साही बनाउने नराम्रो चलन छ, हामीकहाँ। अरूको योगदानको सही मूल्यांकन नगरी नकारात्मक टिप्पणीमा केन्द्रित भएर समाज अगाडि बढ्दैन।  
 
निजी क्षेत्रबाट बारम्बार नेपालमा लगानीमैत्री वातावरण नभएको गुनासो आउँछ। यसले तपाईंको कामलाई असर पारेको छैन?  
हरेक व्यवसायमा राजनीतिक अस्थिरता र विद्युत् अभावको असर परेको छ। त्यसमाथि नेपालको श्रम समस्या र नीतिगत अनिश्चितताले विदेशी मात्र होइन स्वदेशी लगानीकर्ता समेत निरुत्साहित छन्। म अलि आशावादी भएर चुनौतीका बीच पनि सम्भावना खोज्न सकिन्छ भनेर विभिन्न क्षेत्रमा लगानी अघि बढाइरहेको छु। वातावरण सुधि्रएपछि मात्र लगानी गर्छु भनेर बस्दा न आफ्नो व्यवसायले गति पाउँछ न त देशको आर्थिक स्थिति सुदृढ हुन्छ। यो सोचाइ अरू धेरै व्यवसायीमा पनि छ। निजी क्षेत्रले लगानी गरेकै कारण अर्थतन्त्र जेनतेन बाँचेको हो।  

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन वातावरण नबनाई हुँदैन। राजनीतिक स्थिरता, श्रम समस्याको हल, विद्युत् आपूर्ति र नीतिगत सुनिश्चितता हुनासाथ वैदेशिक लगानीको समस्या हुँदैन। यसमा निजी क्षेत्रले पहल गरिरहेको पनि छ। लगानी बोर्ड, एकद्वार नीति, उद्योग दर्ता आदिका प्रक्रिया हेर्दा सरकारले पनि लगानीमैत्री वातावरण बनाउन प्रयास गरिरहेको देखिन्छ। तर, या पर्याप्त छैन।

comments powered by Disqus

रमझम