संविधान, सुस्वागतम्!

Share:
  
- महेश थापा

प्रिय संविधान,

भानु भट्टराई
पत्यार लागिरहेको थिएन, तर तिमी आयौ! लामो समयदेखिको इन्तजार तोड्दै झवाट्ट मुखडा देखाउली भन्ने शुभशंकै थिएन। तिमी भनौली– म स्वर्गकी अप्सरा हुँ र त्यस्तो 'सेन्टी' हुनलाई? तर, धरोधर्म तिम्रो आगमनबाट पुलकित भई स्वागत–शुभकामना टक्र्याउन यो खत लिख्दैछु। तिमीलाई लाग्ला, कस्तो दिलफेंक टाइपको घामट परेछ, शुभकामनै दिन यत्रो परिपाठ पारिरहनुपर्छ? फोन, एसएमएस, ट्वीट वा फेसबुके स्टाटसबाट पनि काम निप्टाउन सकिन्थ्यो? तर, तिमीलाई केही 'टिप्स' दिनु जरूरी ठानेकोले 'सिद्राको व्यापार' गर्ने लेठो मोलें।

भर्खरै भित्रिएकी बेहुली जस्ती भएकीले तिम्लाई यो घरको चाला थाहा छैन, तर झुरेष्ट ठाम्मा फसिएछ भन्दै नहडबडाऊ। आफ्ना सम्बन्धीहरूबारे हल्का जानकारी हुँदा भविष्यमा व्यवहार गर्न सुबिस्ता होला भनी दुई/चार बात बतियाउनु कर्तव्य ठानें। हेर, यो घराँ भित्र्याउनु अगावै तिम्रो काँधमा अपेक्षाको पहाड बोकाइएको छ। तिम्रो ज्यानले एकैचोटि त्यत्रो वजन थेग्न सक्ला/नसक्ला भन्नेतिर स्वप्नजीवीहरूले बालमतलब गरेनन्। तिमी वनवासी हुँदा युधिष्ठिरले सूर्योपासना गरी हत्याएको अक्षयपात्र जस्तै हौ भनी ढिंढोरा पिटाएर मरे, जसमा पकाएको अन्न पाञ्चालीले परोसुन्जेल मुखाँ माड लाउने टन्टै खलास हुन्थ्यो!

द्वापर युगमा भगवान दयालु भएकाले जुवाडेमाथि निगाह गरे, अहिले भए सीधै हनुमानढोका लगेर जाक्थे। अझ् 'फेमिनिस्ट' को फन्दामा पर्‍या'भे जोईलाई दाउमा थाप्ने खैंजडी पोइको खैरियत जोगाउन खोज्दा साक्षात् पशुपतिनाथ पनि अनाथ हुन सक्थे। ऊ वेला मायाजाल चले'नि कलियुगमा त्यसले माखो नमार्ने देखल छ। पुलाउ खयाली भए पनि देश, काल विचार्नुको अलावा खप्पर छेउमा ढसमसिएको राहुको गति/मति नापेर मात्र बाँड्नुपर्नेमा बेसोमतीहरूले 'संविधान मैयाँ, मेरो भागको बासमती धान सरक्कन भर त' भन्दै धोक्रो थाप्न बेर छैन। अपेक्षाहरूको उरुङले छोपे तिमी नअत्तालिनु, मान्छेहरूको भेजामा बात विस्तारै घुस्नेछ।

तिमीलाई रुजु गर्न हस्ते धस्काएर पनि तिम्रो आवाभगत गर्न अनेक अत्तो थाप्नेहरूको लबस्तर्‍याइँ सम्झ्ेर मन अमिलो पार्नु पर्दैन। यस्तो दोगलागिरी तिमीले धेरै देख्नुपर्ने हुन्छ, समयसँगै आदत बस्ला। तिम्रो थोपडा मन नपरेर तिनलाई ज्वरो फुटेको होइन। स्वजनको भन्दा पराइहरूको चासो पूरा नभएकोमा सुर्ताउने बराहरूको व्यथा वेग्लै छ। प्रतिभा लदालद् भए पनि तिनले खोपडीको चाबी अन्तै बन्धकी राखेका छन्। तिनको दासत्व मोचन होस् भनी संयुक्त कामना गरौं, दिलछोटा गर्ने कौनो दरकार नाईं।

हामी भर्भराउँदो बैंसतिर उक्लिंदै गर्दा एकथरी पण्डाले दागा धरे– जनताजनार्दनकै हातबाट संविधान बने नयाँ नेपाल, नत्र उही खुइले नेपाल। अहिले जिन्दगीको ढलान ओर्लिने तरखरमा रहँदा बल्ल तिम्रो दर्शनभेट पाइयो। तिमीसँग ढोगभेट नहुँदै उनै सूत्रधारहरूले 'गिलास आधा खाली कि आधा भरी?' भन्ने फर्मूला हँुडलेर जात्रा छ। यो कुन तोर्पेको गँजडी 'थ्यौरी' पर्‍यो भन्दै छारो उडाउन खोजौली, तिनको क्षमतामा मलाई रत्तिभर शंका छैन। यही दार्शनिक पेंचमा मार्तोल घुसाएर तिर्तालेहरूले हाम्रो बुढ्यौलीको पनि सत्यानाश गरिदिन बेर छैन! मरुभूमिमा भौंतारिएर गलित भएको वेला तिमीले ल्याएको कोसेलीले घाँटी भिजाउन त दिनु नि!

नयाँ नेपालमा धूर्तहरूले चोर्न, लुट्न, ठग्न र धुत्न पाउनुपर्ने जिकिर गर्दै हुलहुज्जत गरेर खपिखानु थिएन। तिम्रो आगमनसँगै जन्डुहरूले ड्यामे भेटेर ठेगान लाग्लान् भनेको त पारिका बड्के साहुजी समेत आफ्नो दादागिरी ओझ्ेल परेको औडाहामा पतलुन उतारेर मैदानमा ओर्लिए। तर, जस्ट ईग्नोर देम्, हामी आफ्नो पिना सुकाउँ्क, कौवाहरू कराउँदै गर्छन्।

लोकतान्त्रिक गणतन्त्रलाई शिशु बताएर फेरि पनि ऐजन–ऐजन पार्न खोज्नेलाई चाहिं तिमीले लाफा दिनू। म पनि कस्तो हुस्सु हेर न! तिमी त पिलर र बिमले बनेको ढाँचा मात्र पो हौ। त्यसलाई मर्मतसम्भार गर्दै सुन्दर आवास बनाउने कि गोदाम वा खण्डहरमा परिणत गर्ने? हाम्रै बर्कतमा भर पर्छ। तर, संविधान टोक्ने लत लागेका हुर्मतहाराहरूले आफ्नो नालायकी लुकाउन तिमीतिरै दोष देखाउन खोज्लान्। तिमी बदलिनै नसक्ने पत्थरको लकीर होइनौ, तर दुई/चार जना लाउकेले पाखुरा सुर्केर सडकमा ढ्याङ्ग्रो ठटाउँदैमा लुत्रुक्क पर्ने गरी कोमल पनि होइनौं। नत्र, गुरु घन्टालहरूले तिम्लाई निमेषभर स्थिर भई बसिखान दिन्नन्।

मुस्तण्ड र हुल्लडहरूको होहल्ला सुनेर तिमीले लत्ती नछाड्नू, बहुसंख्यक नेपालीको आशा, भरोसा र शुभेच्छा तिम्रो साथ छ। प्रिय संविधान, सुस्वागतम्! सुदूर यात्राको लागि हातेमालो गर्दै लम्कौं।

comments powered by Disqus

रमझम