१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

छिपेको सत्य

Share:
  
- ज्ञानमणि नेपाल
निमकहराम भनेर प्रचार गरिएका कर्णेल जितबहादुर र कीर्तिमान; मेजर दानबहादुर र अमरध्वज वास्तवमा निमकको सोझो गर्ने राष्ट्रभक्त थिए।

अंग्रेज रेजिडेन्ट र कप्तान अष्टमानबीच संवादको दैनिकी चलिरहेछ। रेजिडेन्ट सपरिवार बग्गीमा आएर टुँडिखेलमा महाराज चन्द्रशमशेरसँग बसेर १९६० सालको फूलपातीको बढाइँ हेर्छन्। त्यसवेला चलेको रेजिडेन्ट र सेक्रेटरीको अदलाबदली हुने चर्चा अनुसार राजपुतानाका रेजिडेन्टले नोकरी छाडेपछि त्यहाँ कर्णेल भीड आउने र नेपालका रेजिडेन्ट र्‍यामोसा बडौदा जाने कुरा थियो, तर यिनले चाहिं यही बस्ने इच्छा गरेकोले थमौती भयो। सेक्रेटरीमा मार्लबरो आउनेबारे कप्तानले सोध्दा उमेर कच्चा भएकोले संभव छैन भन्छन्, रेजिडेन्ट।

फेरि उही चौंरीका कुरा हुन्छ। अंग्रेज–भोट युद्धको तयारी जोडतोडसँग चलिरहेछ। युद्ध सामग्री र रसदपानी बोक्नलाई महाराजले १६ हजारसम्म चौंरी जम्मा गर्न सकिने, त्यसमध्ये ३५ सय सहयोगमा दिने र अरू भाडा तिरेर लैजानुपर्ने भनेका छन्। चौंरीहरू लेकको घुमाउरो बाटोबाट लैजानुपर्ने, एकैचोटि पठाउन नमिल्ने, धेरै दिन लाग्ने हुँदा बाटोमा धेरै मर्ने सम्भावना थियो। बरु, कुल्ली भरिया पठाउन सजिलो हुन्थ्यो। त्यसवेला कुल्लीको ज्याला खाना बाहेक महीनाको रु.१२ र नाइकेको रु.२० थियो।

त्यसवेला महाराजले दरबारका चारजना विशिष्ट अफिसर कर्णेल जितबहादुर, कर्णेल कीर्तिमान, मेजर दानबहादुर र मेजर अमरध्वजलाई अकस्मात् बर्खास्त गरेर घर गई बस भनिदिएका थिए। त्यो कुरा कप्तानले सुनाउँदा चतुर रेजिडेन्टले त्यसको कारण नसोधी के छाड्थे! यी अफिसरहरू देवशमशेरका विश्वासपात्र भएकोले उनको सुरक्षा गारत थिए। तर, देवशमशेरलाई बाँधेर गद्दीच्युत गरिंदा यिनीहरूले आफ्ना हातका हतियार पनि सरक्क सुम्पेर बसे। आफ्ना अन्नदाता निकालिंदा त केही प्रतिरोध गरेनन् भने केही गरी मलाई पनि यसैगरी कसैले निकाल्यो भने यिनले त्यसै गर्नेछन् भनेर महाराजले निमकहरामहरूलाई निकालेको कप्तानले बताए। यही प्रचार थियो।

यो भनाइ झ्ट्ट सुन्दा सही लाग्छ, तर यसैलाई प्रमाण मानेर इतिहास लेख्नेले डोठ्याङ खान्छ। तात्कालिक इतिहासका पात्रले नै भनेको तथ्य भए पनि यसलाई धोईपखाली नगरी लेख्ता अनर्थ हुन्छ। इतिहास तथ्यमा आधारित मात्र होइन, वैज्ञानिक पनि हुनुपर्छ। एउटा प्रमाण भेटियो भन्दैमा त्यसैको पछि दौडने हो भने साँचो इतिहास हराउँछ। यस विषयमा कतिपयसँग मेरो विवाद पनि पर्ने गरेको छ। खासमा ती अफिसरहरू साँच्चै निकमहराम थिए भने आफू शक्तिमा पुगेपछि पनि महाराजले करीब अढाइ वर्षसम्म किन निकालेनन् त? यो विचारणीय प्रश्न हो।

वास्तवमा महाराजले भनेजस्तो र कप्तानले सुनाएजस्तो हुँदैहोइन, ती अफिसरहरू निमकको सोझ्ो गर्ने राष्ट्रभक्त थिए। अंग्रेजले भोटसँग युद्ध गर्दा नेपालले प्रत्यक्ष–अप्रत्यक्ष कुनै सहायता गर्नुहुँदैन, भोट हाम्रो मित्र हो, सन्धिअनुसार परेका वेलामा हामीले भोटलाई नै सहयोग गर्नुपर्छ, नत्र तटस्थ बस्नुपर्छ भनेर जोडदार कुरा राख्नेमा थिए, ती। त्यसैले निकालिएका हुन्। अघि रणबहादुर शाहले विधवा बाहुनी राख्दा पनि विरोध गर्ने काका बहादुर शाहलाई जेलमा हालियो। आरोपमा चाहिं सम्पत्ति हिनामिना, शासनमा जथाभावी भनियो। मित्रराष्ट्रलाई बहादुर शाहका दोषैदोष देखाइयो। पछि उही बाहुनीका छोरालाई राजा बनाउने लालमोहरमा सही नगर्दा बहादुर शाहलाई कुटी–कुटी जेलैमा मारियो, झ्ुन्ड्याइयो अनि झ्ुन्डिएर मरे भनियो। मित्रराष्ट्रमा चाहिं उपचार गर्दा गर्दा केही लागेन, अतिसारको व्यथाले मरे भनेर लेखियो।

त्यस्तै, राजाका खोपीभित्र राति नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा मारिए। भोलिपल्ट राजाले माथवरलाई मैले गोली ठोकें भनेर घोषणा गरे। राजाले भनेको सबैले पत्याए पनि। रेजिडेन्सीबाट कलकत्ता पठाएको पत्रमा भने शंकै गरिएको थियो। पछि जंगबहादुरले 'मैले नै मामालाई मारेको हुँ' भनेपछि मात्र साँचो कुरा बाहिर आयो। कतिपय घटनाको सत्य भित्रै छिपिरहेको हुन्छ। अन्तर्निहित सत्य पत्ता लगाउन नसक्दा अन्तर्दशा नहेरी–नबुझी मूल दशाबाट गरेका ज्योतिषीको फलादेश जस्तो मात्र हुन्छ।


रेजिडेन्ट र्‍यामोसा–कप्तान अष्टमान संवाद

२६ सेप्टेम्बर सेटर्डे

रेजिडेन्ट– आज बेहानसम्म रातभरिमा २.२२ इन्च पानी पर्‍यो. फूलपातिलाई मेमसाहेबहरू समेत जानेछन्.

कप्तान– उसो भये २ बजे लि आउंला.

२८ सेप्टेम्बर मन्डे (फुलपाती)

आज ३.४५ बजे रेजिडेन्ट डाक्टर येक बगीमा मिसस् मिस रामनसा आर्को बगिमा भै फुलपातीका बढायीं हेर्न टुडीखेलमा उतरे. माहाराजसंग घोडा चढी रेजीडेन्ट डाक्टर टुनीखेल १ चक्कर घुमी बढायीं हेरि फर्के.

रे–चिनिको बेपार बुझ्नलाई सतिसचन्द्र बोस आउंछु भनेको, हिउदो लाग्यो अब आउछन् कि.

क– महाराजसंग विन्ति चढाउंला र तपायींलाई भनुंला, मि. मार्टिन्डलले नोकरि छाड्ने, उनको ठाउं राजपुतानामा कर्णेल भीड जाने, नेपालको रेजीडेन्ट कर्णेल र्‍यामोसा बरोदा जाने भनि अखबारमा लेखिएको रहेछ.

रे–तेसो हो. बरोदा जान्छौ कि भनि गभर्मेन्ट इन्डीयाले सोधिपठायेको थियो, यहि बस्नामा राजी छु भनि लेखिपठायें अब जानुपर्दैन.

क– ड्युक अफ मार्लबरो सेक्रेटरी अफ इण्डीया हुन्छन् भनि लेखेको छ.
रे–त्यो होइन, ३३ वर्षको कचा उमेर छ.

२९ सेप्टेम्बर ट्युज्डे

रे–नेपालको गाउंहरूसमेतको नक्सा तयार भयो कि भनि कर्णेल मानिपटेले लेखि पठायेको छ, तयार भयो कि.

क–मलाई था छैन. महाराजसंग विन्ति चढाउंला.

३ अक्टोवर सन्डे

क.कर्णेल हर्षजङले पठायेको तार तपायींलाई देखाउन भनि माहाराजबाट पठाई बक्सेको छ. चौरीहरू अक्टोवरको २१ तारिखमा टिपताला पुग्ने भयो।

रे– महाराजलाई सलाम दिनु औ नक्सा सारीलियो भनि भनिदीनु.

क– अघि महाराजबाट तपायींसंग कुरा हुंदा यहांबाट चौरीहरू १ महिनामा पुग्छ भनि हुकुम भयेको हो. हाल रिपोर्टहरूबाट जाहेर भयो कि चौरीहरू २–३ महिना नभै नपुग्ने बुझियो, किनभने चौरीहरू लैजादा हिमालबाट घुमाउरो गरि लैजानुपर्छ. हीउं नभएको ठाउं फेदीबाट लगे बिरामी हुने रहेछ. यस विषयमा अरु कुरा भेट हुने वित्तिकै महाराजबाट तपायींसंग गरि बक्सनु हुनेछ.

रे–चौरी ८००० को विसयेमा होला, होइन.

क– तेसै होला.

रे–दार्जिलिङमा कुली जनहि १२ रुपैयां र खानाखर्च औ नाइकेलाई २० रुपैया र खाना खर्च पाउछन् भन्ने चिठी लेखेको छु. यो भोटेको नक्सा समेत महाराजलाई दिनु.

क–हुन्छ.

रे–सिम्राबासबाट अम्बाबास भै मोतीहारी जानालाई बाटो कस्तो, कति टाढा छ. बुझि मलाई भन्नुहोला.

क– लेखिपठाई तपाईलाई भनुंला.

रे–कोरोनेशनको दिन महातोपको सलामी भयो, भएन.

क– भयो भन्ने सुनेको हुं. हामीहरू यहां थिइन भोलि बुझि तपायींसंग भनुला.

४ अक्टोबर मन्डे

क– यो चिठी महाराजबाट पठाइबक्सेको छ औ हर्षजंगबाट यो तार आयेको रहेछ. तपायींलाई देखाउनु भनि पठाई बक्सेको छ.

र– म सारी लिन्छु, वेरी सेटिसफ्रेक्टरी.

रे–पानी परिरहेको हुनाले तारा हान्न गौचर जानसकेको छैन. कम्पनीहरू खटाइपठाई दिनु. म यतैबाट गै फर्कुला.

६ अक्टोबर वेड्नस्डे

रे– ३५ हण्ड्रेड याक गभर्मेन्टलाई चाहियो भने कतिमा डेलिभरी दिन सक्नुहोला.

क– २ हजार १ महिनामा अर्को २ हजार २–३ महिनामा भन्ने महाराजबाट तपायींसंग कुरा गरिबक्सेको हो. ३५ सयेलाई येति महिना लाग्ला भनि भन्न सग्दीन. महाराजसंग विन्ती चढाई भनुंला।

रे– यसमा महाराजलाई चिठी लेख्नु असल देखछु।

७ अक्टोबर थर्सडे

छेकवार लागिदिंद बहुत खुशी. यो सित्तैमा दीनु हुंदैन. कतिसम्म बनाउनेलाई दिनुपर्ला सोधी मलाई भन्नु, रेजीडेंट साहेब बंबै जाने प्रोग्राम दिये अक्टोबरको २२ तारिखमा यहांबाट ६ बजे जाने उसैदिन चितलाङलाई यौटा मोटो घोडा मागेको छ उसै दिन चिसापानी बसि डाडीको डाकबाट रक्सौल जाने नोभेम्बरको ६ तारिखमा चिसापानी फर्की पस्ने ७ तारिखमा २ बजे थानकोटमा १ बगी मागेको छ.

९ अक्टोबर फ्राइडे

क– छेकवारलाई ५० रुपयादेखि १०० रुपयासम्म तपायींले तजविजले दिनुहोला भनि महाराजबाट हुकुम भयेको छ.

रे–हुन्छ, बहुत खुशी छु.

१० अक्टोबर सटर्डे

क– कर्णेल जीतबहादुर, कर्णेल कीर्तीमान, मेजर दानबहादुर, मेजर अम्बरधोज इनिहरूलाई खोसी यहा नबस्नु घर जानु भनि महाराजबाट पठाई बक्सियो। यो कुरा केही सुन्नु भयो कि.

रे–केही सुने तर कारण केही पायेको छैन, किन हो.

क– इनिहरू महाराज देवशमशेरको गारतको अफिसर खुब मन परेका हुन् तर महाराज देवशमशेर यहां गिरफ्तार हुंदाखेरी इनिहरू पनि साथैमा थिये तापनि इनिहरूले केही मद्द नगरी आफ्नु हतियार सुपुर्द गरिदिये. इनिहरूलाई हालका महाराजले आफ्नु पोजिसन बलियो नहुन्ज्याल राखिबक्सियो. इनिहरूलाई केही सजाय भयेन भने इनिहरूको देखासुकी अरुले पनि नकल गर्ने हुनाले पठाई बक्सिएको हो.

रे–इनफर्मेसन दिनाले बहुत खुशी भयें. येस्तो मानिस राख्नु पनि ठीक पर्दैन.

comments powered by Disqus

रमझम