१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

विनाशका नदेखिने आयाम

Share:
  
- शमिक मिश्र, दीपक अर्याल
विनाशको पछि लागेर आएका सामाजिक, आर्थिक र राजनीतिक आयामको गठजोड नियाल्न सकियो भने व्यवस्थापनका प्रयास सफल बन्छन्।

२०७२ सालको भूकम्पले १९९० साल सम्झायो। प्रधानमन्त्री सुशील कोइरालाको सन्देश पछि श्री ३ जुद्धशमशेरको भाषण चर्चित बन्यो। उद्धार र पुनःनिर्माण प्रयासमा ९० सालमा ती कामहरू कसरी भएका थिए भनेर सम्झ्न खोजियो। मौका छोपेर नाफा लिने व्यापारीहरूलाई ठीक पार्न जुद्धशमशेरले कस्तो व्यवस्था गरेका थिए भन्ने सोसल मिडियामा खूब प्रचार भए।

त्यसवेलाका कुरा खोजेर पढ्दा १९९० सालको महाभूकम्पपछि सरकार साँच्चै सक्रिय भएको, सरकारी संयन्त्रहरू चुस्तदुरूस्त रहेको, उद्धार–राहतमा ढिलाइ नभएको, पुनःनिर्माण पनि चाँडो सकिएको र भ्रष्टाचार नभएको भन्ने लाग्छ। त्यो समयका पुस्तक, पर्चा–पम्प्लेट र सवाईका गाथा पढ्दा त्यो विनाशबाट उठ्न नेपाललाई १०० वर्ष लाग्ने अनुमान गरिए पनि 'सरकारको प्रताप' ले दुई–चार वर्षमै सम्पन्न भएको बुझन सकिन्छ। (कलानाथः १९९१)

वास्तवमै त्यस्तो भएको थियो वा थिएन भनेर जान्न चाहिं तत्कालीन समयका मह140वपूर्ण दस्तावेजका आधारमा घटनाक्रमको मिहिन अध्ययन गर्नुपर्ने हुन्छ। हाल चर्चामा रहेका वा देखिएका त्यस्ता दस्तावेज वा पुस्तकहरूको आधारमा घटनाक्रमको समाजशास्त्रीय, आर्थिक र राजनीतिक चलखेलको अध्ययन गर्दा तिनले कसरी 'सरकारी मुखपत्र' को काम गरिरहेका छन् भन्ने बुझ्िन्छ। र, तिनको अपुरोपन पनि थाहा हुन्छ।

९० सालको भूकम्प

पुराना महाविनाशमध्ये १९९० सालको भूकम्पका विषयमा धेरै सामग्री उपलब्ध छन्। महिला, पुरुष, बालबालिका तथा क्षेत्रगत आधारमा हताहत, घाइते भएकाहरूको विवरण, राहत, पुनःनिर्माण तथा आर्थिक सहयोगका विषयमा थुप्रै सामग्री पाइन्छन्। त्यो विनाश पछि नेपालमा प्राविधिक हिसाबले जमीनको जानकारी लिने प्रयास र भूकम्प प्रतिरोधक घर बनाउने विधिका विषयमा पनि खोजीनिती हुन थाल्यो। विकासपछि दैनिक उपभोगका परम्परागत ढाँचा र राजनीतिक माहोलमा पूरै परिवर्तन आयो। त्यो समयको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, प्राविधिक वा कानूनी पक्ष केलाउँदा विनाशपछिको परिवर्तनको नक्शा देखिन्छ।

९० सालको भैंचालोलाई राज्यले दैवीप्रकोप मात्र मानेको थिएन बरू प्राकृतिक प्रकोपका रूपमा चित्रित गर्दै आफ्नो उपस्थिति बढाउँदै सहयोगको पहल गरेको थियो। जङ्गी कानून लागू गरेर सेना, प्रहरी र स्वयंसेवीको परिचालनका साथै आपत्कालीन उपचारकेन्द्र, पानी, बिजुली, फोन र बाटोको आपत्कालीन व्यवस्था गरिएको थियो। विनाशलाई 'देशको दुःख' को रूपमा लिएर पहिलो पटक राज्य र गैर–राज्य दुवै परिचालित भएका थिए। निर्माण र पुनःनिर्माणका योजना बनेका थिए, विदेशी सहयोग पनि लिइएको थियो। विदेशी सहयोग लिन हुने वा नहुने भन्ने विषयको बहस पनि त्यही महाभूकम्पले जन्माएको थियो।

यस वेला पनि राहत, उद्धार र निर्माणमा जस लिने होडबाजी चलेको यथेष्ट प्रमाण भेटिन्छन्। आफ्नो समूहले काम गरेको प्रचार गर्ने चलन त्यो विनाशपछिको खिचातानीले प्रष्ट पार्छ। त्यो वेलाका पत्रपत्रिका, किताब, सवाई आदिलाई आधार मान्दा विनाश आफैंमा विनाश वा प्राकृतिक प्रकोप मात्र रहँदैन; राजनीतिक, आर्थिक वा सामाजिक अध्ययनको आधार पनि बनिदिन्छ भन्ने प्रष्ट हुन्छ। भूकम्पपछिको उद्धारलाई लिएर आलोचना हुनु, उठेको पैसाको पारदर्शितामाथि प्रश्न उठ्नु, जेलभित्र आन्दोलन हुनु, राणाका कुनै वर्ग सक्रिय र कुनै पूर्ण निष्त्रि्कय हुनुले तत्कालीन समयको राजनीतिक चलखेल/असन्तुष्टिहरूको जानकारी दिन्छ।

२००७ सालसम्म प्रकाशितमध्ये नेपालबाट प्रकाशित सामग्रीले ९० सालको भूकम्पपछि राहत र पुनःनिर्माणको काम अभूतपूर्व रूपमा सम्पन्न भएको दाबी गर्छन्। ती सामग्रीले राहत–पुनःनिर्माण मात्र होइन, महाराजाहरूको उदार मन, देश र जनताप्रतिको माया, दया तथा स्नेहका कारण नै जनताले तत्कालै राहत, आर्थिक तथा भौतिक सहयोग र ऋण पाएको तथा कतिपय ऋण मिनाह भएको बताउँछ। साथै, भ्रष्टाचार नभएको, हिसाब पारदर्शी भएको, आफ्नै पहलमा उद्धार तथा भूकम्प पीडितोद्धारक फन्ड बनेको, त्यसमा यथेष्ट रकम जम्मा भएको, विदेशी सहयोग नलिएको र आफ्नै बलबुतामा उभिएको दाबी गर्छन्।

ब्रह्मशमशेरको किताब

यस्तो दाबी गर्ने विविध सामग्रीमध्ये ब्रह्मशमशेरद्वारा लिखित 'नेपालको महाभूकम्प १९९०' लाई सबभन्दा आधिकारिक मानिन्छ। १९९० सालको महाभूकम्प र त्यसपछिका घटनाक्रमका विषयमा यो पुस्तकले जति विस्तृत जानकारी अन्य कुनै सामग्रीले दिएको छैन। यस अर्थमा, त्यस समयको स्थिति बुझाउन यो नै सबभन्दा महत्वपूर्ण पुस्तक हो। तत्कालीन समयका अन्य घटनाक्रमलाई केलाउँदै पढ्ने हो भने यो पुस्तकका लेखकले के देखाउन र के लुकाउन खोजेका छन् भन्नेतर्फ केही अपत्यारिला सङ्केत देखा पर्छन्।

ब्रह्मशमशेर यो पुस्तकका लेखक वा अनुसन्धानकर्ता मात्र नभएर बबरशमशेरका छोरा थिए। भूकम्पको उद्धारमा खटिएकाहरूलाई पुरस्कृत गर्ने क्रममा यी पिता–पुत्र दुवै पुरस्कृत भएका थिए। बबरशमशेर भूकम्पका वेला शिकारका लागि पश्चिम तराईमा रहेका जुद्धशमशेरसँगै थिए। उनीहरू २२ माघमा काठमाडौं आइपुगेका थिए। बबरशमशेर त्यसपछि मात्र उद्धारमा खटिएको प्रष्टै छ। यता काठमाडौंमा २ माघमा महाभूकम्प आएको केही दिनमै उद्धारका लागि पद्मशमशेर, भैरवशमशेर, शमशेरविक्रम, प्रचण्डशमशेर, कृष्णशमशेर, सूर्यशमशेर आदि सम्मिलित संयन्त्र बनेको थियो, जसमा कमाण्डर इनचिफ रुद्रशमशेरको कुनै भूमिका थिएन। अरू कैयौं राणाको भूमिकाका विषयमा पनि ब्रह्मशमशेरको किताब बोल्दैन।

९० को भूकम्प अगाडि र पछाडिको राजनीतिक शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको देखिन्छ। जस्तो, १९८६ मा भीमशमशेरले बाँडेको रोलक्रममा १०औं नम्बरमा रहेका बबरशमशेर भूकम्पपछिको दुई महीनामा चौथो नम्बरमा पुगेका थिए। चाखलाग्दो के छ भने, १९९० चैत ५ गतेको रोलक्रममा धर्म, रूद्र, तेजशमशेरहरू पर्दै परेनन्। १९८६ को रोलक्रममा क्रमशः भीम, जुद्ध, धर्म, रुद्र, पद्म, तेज, मोहन, हिरण्य, प्रताप, बबर, बहादुर, अग्नि र सिंहशमशेर रहेकोमा ९० साल चैतमा जुद्ध, पद्म, मोहन, बबर, केशर, बहादुर, अग्नि, हरि, प्रचण्डशमशेर आदि हुन पुगे।

भूकम्प उद्धारमा खटिएर पुरस्कार पाउनेमा बबरशमशेर, केशरशमशेर, बहादुरशमशेर, अग्निशमशेर आदि अगाडि देखा पर्छन्। भूकम्पका समयमा कमाण्डर इनचिफ रहेका रुद्रशमशेर लगायतले के गरिरहेका थिए भन्ने किताबमा धेरै सामग्री छैन। भूकम्पको दुई महीनापछि रूद्रशमशेरलाई पाल्पा, हिरण्यशमशेरलाई धनकुटा, रामशमशेरलाई सप्तरी, धनराजलाई पोखरा, मेघराजशमशेरलाई नेपालगंज धपाइएको भने देखिन्छ। किताबमा यो समूहका राणाजीहरूले न भूकम्प उद्धारक संघमा कुनै आर्थिक सहयोग गरे न अन्य कुनै काम। यसमा तीन वटा अनुमान गर्न सकिन्छ– यिनीहरूले गरेका कामको जानाजान उल्लेख गरिएन, यो समूह वास्तवमै निष्त्रि्कय रह्यो र राजनीतिक शक्तिका रूपमा कमजोर बनिसकेकाले उनीहरूलाई कुनै भूमिकाका निम्ति उपयुक्त ठानिएन।

२०७२ मा जस्तै त्यो वेला पनि लोकप्रियताका लागि उद्धार–राहतको नेतृत्व र जस लिने मह140वाकांक्षा देखा परेका थिए। जनतालाई दिइएको ऋण मिनाहा गर्ने कि नगर्ने भन्ने छलफलमा तेजशमशेरले सम्पूर्ण रकम आफूले तिरिदिने भनेका थिए, तर त्यसो गर्दा 'सी' वर्गका राणाहरूको लोकप्रियता बढ्ने भएकाले जुद्धशमशेरले सरकारबाटै मिनाह हुने निर्णय गराएका थिए।

ब्रह्मशमशेरको पुस्तकले समेटेका उद्धार, रिलिफ फण्ड, प्राविधिक विषय, घर बनाउने तरीका, पहिलेका भूकम्प आदि विषय बाहेक गोरखापत्र ले पनि त्यसबारे यथेष्ट समाचार दिएको देखिन्छ। ती समाचारका सूचनाहरू केही फेरबदल गरेर तथा केही जानकारी थपेर पुस्तक प्रकाशन भएको थियो भन्दा पुस्तकमाथि धेरै अन्याय हुँदैन। अर्को कुरा, पुस्तकको प्रुफ हेर्ने पं प्रेमराज, भूकम्प सम्बन्धी नियमित समाचार छाप्ने गोरखापत्र का सम्पादक पं. प्रेमराज र भूकम्पपछि ठाउँ–ठाउँमा पुगेर जानकारी बटुल्ने पं. प्रेमराजले पुस्तक प्रकाशनमा कति सघाए वा ब्रह्मशमशेरले प्रेमराजको कति सहयोग लिए भन्ने कुरा पुस्तकको भूमिकामा ब्रह्मशमशेरले प्रेमराजलाई दिएको धन्यवादले मात्र प्रष्ट पार्दैन।

गोरखापत्र को भूकम्पसम्बन्धी सामग्री र ब्रह्मशमशेरको पुस्तकको तुलना गर्दा पुस्तकलाई गोरखापत्र को सङ्कलन वा सरकारी मुखपत्र गोरखापत्र कै अर्को रूप भन्न कर लाग्छ। तर, यसो भन्दाभन्दै पनि यसले गोरखापत्र ले नसमेटेका थप विषयवस्तु पनि समेटेको छ र १९९० को भूकम्प बुझ्ाउने अरूभन्दा राम्रो स्रोत बनेको छ। पुस्तकले सरकारले लुकाउन चाहेका कुरा राम्रोसँग लुकाएको, देखाउन चाहेको देखाएको छ।

(६–८ साउन २०७२ मा नेपाल र हिमालयका सम्बन्धमा आयोजित काठमाडौं सम्मेलनमा प्रस्तुत कार्यपत्रका आधारमा)

comments powered by Disqus

रमझम