१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

सपनाहरूको अवसान

Share:
  
- बच्चु विक, महेन्द्रनगर, केशव राना, बाँके, सुरेश बिडारी, वीरगञ्ज , श्रवण देव, सप्तरी
मधेश आन्दोलनका क्रममा मारिएका सर्वसाधारण, आन्दोलनकारी र सुरक्षाकर्मीका परिवार आफन्त वियोगको पीडामा छट्पटाइरहेका छन्।

सुरेश बिडारी
प्रहरीको गोलीबाट वीरगञ्जमा मारिएका दिनानाथ साहकी पत्नी अञ्जली।
एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १८ महीने बालक मारिएको ७ भदौदेखि चौबीस घन्टे कर्फ्यू, सुरक्षाकर्मीका गाडीको एकोहोरो आवाज, दोहोरो झ्डपको त्रास झेलेको टीकापुरले पछिल्लो एक सातादेखि भने विस्तारै सास फेर्न थालेको छ।

“छोरो मारिएको दुःख त छ। मर्न सकिन्न, बाँच्नै पर्‍यो। आफ्ना पीडा आफैंले कम गर्नुपर्‍यो” टीकापुर घटनामा मारिएका प्रहरी हवल्दार जनक नेगीका बुबा वीरसिंह भन्छन्। कमजोर आर्थिक अवस्था भएको नेगी परिवारको घर बाहेक केही छैन। जनकको कमाइमै निर्भर परिवारलाई कसरी बाँच्ने भन्ने चिन्ताले पिरोलेको छ।

कञ्चनपुरको झ्लारी पिपलाडी नगरपालिका–६ कसरौलका जनककी पत्नी नरमादेवी पाँच छोराछोरीसँगै माइतीले बनाइदिएको भीमदत्त नगरपालिका–१८ स्थित घरमा बस्दै आएकी थिइन्। “पहिले त उहाँ (जनक) ले हेर्नुहुन्थ्यो अब यिनीहरूलाई कसरी पाल्नु?” नरमादेवी रनभुल्लमा परेको बताउँछिन्। ८ कक्षामा पढ्ने लक्ष्मी (१५), ६ मा पढ्ने कमल (१३), ५ मा पढ्ने देवकी (१०), यूकेजीका प्रकाश (६) र १४ महीने हरिको पठनपाठनको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्छ, नेगी परिवार।

टीकापुरमा मारिएका सशस्त्र प्रहरी हवल्दार ललितबहादुर साउद, प्रहरी हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्दसँगै प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहराको परिवारले १३ दिने काजक्रिया सकेका छन्। “यति छिट्टै बिर्सिन त कहाँ सकिन्छ? नबिर्सी पनि हुँदैन, एकअर्कालाई सम्झाउने कोशिश गरिरा'छौं” प्रहरी निरीक्षक केशवका बुबा प्रेमसिंह बोहरा भन्छन्। पत्नी शारदालाई पीडाबाट उम्किन सहज नभए पनि परिवारजन विस्तारै भत्किएको मन बनाउने प्रयासमा छन्।

टीकापुरमै आन्दोलनकारीद्वारा मारिएका १८ महीने टेकुका परिवार बिर्सिन गाह्रो भइरहेको बताउँछन्। “घरमा सानो भनेको उही थियो, अब कराउँछ कि, अब कराउँछ कि भन्ने हुन्छ” उनका बुबा सशस्त्र प्रहरी हवल्दार नेत्र साउद भन्छन्। विस्तारै खुकुलो बन्दै गएको कर्फ्यू र घट्दै गएको आफन्तको आउजाउले एक्लो महसूस हुने टेकुकी आमा यशोदा बताउँछिन्। टेकुकी दिदी सृजनालाई हेरेर पीडा भुल्ने कोशिश गरेको बताउँदै उनी भन्छिन्, “दूध खाने बच्चा। उसले दूध खाने वेला कसरी बिर्सनु?”

घानमा निर्दोष

“चिन्ता नमान्नुस् आमा, मलाई केही हुँदैन”, १८ भदौमा घरबाट नेपालगञ्ज निस्कनुअघि करण सिंह (२२) ले आमा कृष्णालाई यसो भन्दै सम्झ्ाएका थिए। तर, नौवस्ता–२, बाँके घर भई कोहलपुर बस्दै आएका उनी कहिल्यै घर फर्किएनन्, शव मात्र आइपुग्यो।

राँझ्ास्थित इमामनगर ब्यारेकमा सैनिक जवानको आवेदन दिन र तीजका सामान किन्न नेपालगञ्जबाट हिंडेका करणलाई बन्दमा मोटरसाइकल चलाएको भन्दै गनापुर–२ पिप्रहवा चोकमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरी हत्या गरेका थिए। करण व्यवसायी बन्न चाहन्थे, तर उनका बुबा छोरो राष्ट्रसेवक भएको रुचाउँथे। त्यसैले उनी दुई वर्षदेखि किराना पसल चलाएर बसेका थिए। “सेना भन्दा पनि व्यापारी भएर देखाउँछु भन्थ्यो” आमा कृष्णा भन्छिन्, “बुबाको इच्छा टार्न नसकेपछि सेनामा जान लागेको थियो।”

सुरेश बिडारी
जयप्रकाश साहका आमाबुबा र श्रीमती नाबालकसहित ।
करणकी पत्नी बसन्ती (२०) को दिन–रात टोलाउँदै बितिरहेको छ। दुई वर्षको छोरो सरगम 'बाबा खोइ' भन्दै रोइरहन्छ। एकाएक सपना ढलेपछि अब के गर्ने भन्ने परिवारलाई थाहा छैन।

आमा कृष्णालाई संघीयताले छोराको ज्यान लिएको लागेको छ। उनी भन्छिन्, “संघीयताको आन्दोलन नभएको भए मेरो छोराको ज्यान जाँदैनथ्यो।” छोराका हत्यारालाई सरकारले कारबाही गरेको हेर्ने अन्तिम इच्छा भएको उनी बताउँछिन्।
मधेश आन्दोलनका क्रममा बाँकेका करणबाहेक अन्य दुईको ज्यान गइसकेको छ। तीमध्ये अर्का हुन्, कचनापुर–५ मदुईका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर बिक (३७)। संयुक्त राष्ट्रसंघीय शान्तिमिसनका लागि हेटौंडामा परीक्षा दिएर फर्किंदै गरेका थमनलाई १५ भदौमा आन्दोलनकारीले महोत्तरीको जलेश्वरमा कुटपिट गरेका थिए। थप उपचारका लागि जनकपुर अस्पताल लैजाँदै गर्दा उनलाई आन्दोलनकारीले एम्बुलेन्सबाटै थुतेर खेदी–खेदी हत्या गरेका थिए।
उनी कमजोर आर्थिक अवस्थाका कारण २०५६ सालमा सशस्त्र प्रहरीको जवानमा भर्ना भएका थिए। जागिरबाटै नेपालगञ्जमा घर पनि बनाए। मूली नै नभएपछि थमनको परिवार घरमै सहाराविहीन बनेको छ। आमा मैमीदेवी, पत्नी शोभा, पाँचवर्षे छोरो सुबोध राम्ररी दुःख बताउन सक्दैनन्। “साह्रै सहयोगी थियो, नाच्ने–गाउने भनेपछि हुरुक्कै हुन्थ्यो”, विद्यालयका दौंतरी चक्रपाणि देवकोटा भन्छन्।

पूर्वबाट बर्दिया सदरमुकाम गुलरिया आउँदै गरेका सवारी साधनलाई थरूहटका कार्यकर्ताले मैनापोखरमा रोकेर राखेका थिए। मैनापोखरमा कार्यरत प्रहरी हवल्दार देवबहादुर पाण्डे रोकिएका सवारीसाधनलाई स्कर्टिङ गर्ने काममा खटिएका थिए। त्यहीबीच आन्दोलनकारी र प्रहरीबीच झ्डप भयो। पाण्डेको खुट्टामा गोली लाग्यो। अत्यधिक रक्तस्रावका कारण १८ भदौमा नेपालगञ्ज मेडिकल कलेजमा उनको मृत्यु भयो। प्रहरीका अनुसार, आन्दोलनकारीले मकैबारीबाट लुकेर गोली प्रहार गरेका थिए।

धर्मावती–४, प्युठान स्थायी घर भई नेपालगञ्ज बस्दै आएका देवबहादुर २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। यही दशैंपछि अवकाश लिने सोचेका उनले जीवनबाटै विदा लिए। उनका जेठा छोरा सुगम (१२) कक्षा ६ मा र कान्छा सुमन (६) युकेजीमा पढिरहेका छन्।

वैदेशिक रोजगारबाट फर्केका भारदह–१ सप्तरीका ३५ वर्षीय राजेन्द्र राउत 'राजीव' ले गाउँमै केरा खेती शुरू गरेका थिए। सफल केराखेती व्यवसायी बन्ने उनको सपना थियो। तर, १ भदौमा भारदहमा आन्दोलनरत मधेशी र प्रहरीबीचको झ्डपमा प्रहरीको गोलीबाट उनको मृत्यु भयो।

राउतका बुबा भीमराज छोरोलाई आन्दोलनसँग कुनै सरोकार नभएको बताउँछन्। उनी भन्छन्, “ऊ त कृष्णजन्माष्टमीको मूर्ति बनाउन डोरी लिन बजार गइरहेको थियो।”

राजेन्द्रको मृत्युपछि एक वर्षीय छोरो आर्यन र तीन महीने छोरी आरजू, पत्नी नीलम र बुबाआमाको बेहाल छ। “केही व्यक्तिले सानोतिनो सहयोग त गरेका छन्, तर यसरी धेरै चल्दैन”, भीमराजको गुनासो छ।

भारदहमै आन्दोलनमा ज्यान गुमाउने पोर्ताहा–१ का रामकृष्ण राउत (६२) पनि आन्दोलनकारी थिएनन्। प्रदर्शनकारी र प्रहरीबीच २३ भदौमा झ्डप भइरहँदा उनी घरभन्दा करीब दुई सय मिटर पर रहेको शीतल किराना पसलमा सामान किन्न गएका थिए। त्यहीवेला अचानक उनलाई गोली लागेको थियो। कोशी कोलोनी परियोजना अन्तर्गत विराटनगरस्थित सम्पर्क तथा भू सर्जन कार्यालयमा चालकको रूपमा कार्यरत राउतले केही दिनअघि मात्रै अवकाश पाएका थिए।

जोडिएका गाविस भारदह र पोर्ताहाका दुई जनाको मृत्युपछि परिवारमा मात्रै होइन, टोलमै कृष्णजन्माष्टमी, रक्षाबन्धन, तीज र गणेश चतुर्थी पर्व खल्लो बन्यो। राउतका छिमेकी आकाश राजभण्डारी भन्छन्, “गाउँमा यस्तो भएपछि हामी मात्र कसरी रमाइलो गर्न सक्छौं?”

रहेनन् सहारा

जगरनाथपुर, वीरगञ्जका रामेश्वरप्रसाद चौरसिया र रामज्योति देवीका पाँचौं सन्तान थिए, दिलीप चौरसिया (२२)। उनी वीरगञ्ज इन्ष्टिच्युट अफ टेक्नोलोजी (बीआईटी) मा सिभिल इन्जिनियरिङको अन्तिम वर्ष परीक्षाको तयारीमा थिए। राधेमाईमा १४ भदौमा प्रहरीसँगको झ्डपमा सुरक्षाकर्मीको गोली लागि दिलीपले ज्यान गुमाए।

“छोराको मोबाइलमा फोन लगाएँ, उठेन। पाँचौं पटकमा पुलिसले उठायो। तपाईंको छोरालाई गोली लागेको छ। नारायणी अस्पतालमा आउनुस् भने। सास चलिरहेको छ भन्थे, ६ दिनपछि मात्रै मर्‍यो भने”, रामेश्वर भन्छन्।

कलिलै उमेरमा छोरो गुमाएपछि चौरसियाको परिवार शोकाकुल छ। “बाबु आन्दोलनमा नजा भनेको थिएँ। अहिले मलाई नै छोडेर गयो”, आमा राम ज्योति भक्कानिंदै भन्छिन्। दाजु पृथ्वीनारायण किरिया बसेका छन्। भन्छन्, “घाइते भनेर नारायणी अस्पतालमा हेर्न गएको थिएँ, मरिसकेको रहेछ। बुबाआमा पनि बाँच्दैनन् भनेर पाँच दिनसम्म भन्नै सकिनँ।” उनी छिटोभन्दा छिटो आन्दोलनमा मरेकालाई शहीद घोषणा गरी मधेशीलाई अधिकार दिनुपर्ने बताउँछन्।
“हामीलाई त भोक लागेको छ। दिने नदिने उनीहरूकै हातमा छ। तर, अधिकारको साटो गोली गट्ठा दिन्छन्, त्यसो गर्नुहुन्न”, बुबा रामेश्वरको दुःखेसो छ।

१५ भदौमा राधेमाईमै भएको आन्दोलनकारी र प्रहरीबीचको झ्डपमा वीरगञ्ज–२१, इनर्वा मनियारीका धर्मराज सिंह (२७) को जीवन पनि सकियो। प्रत्यक्षदर्शीका अनुसार घाइते एक आन्दोलनकारीको गोली निकाल्न निहुरिएको अवस्थामा उनको टाउकोमै गोली लागेको थियो।

धर्मराज सशस्त्र प्रहरीमा भर्ना भएका थिए। तर, प्रहरीको कठोर शारीरिक श्रममा उनी टिक्न सकेनन्। “जीउ नै नरहे जागिरको के काम भनेर मैले नै जागिर छाड् भनेको थिएँ”, बुबा प्रभु भन्छन्।

राधेमाईमै अघिल्लो दिन मारिएका दिलीप चौरसिया धर्मराजका साथी थिए। साथी मारिएपछि आक्रोशित धर्मराज आन्दोलनमा होमिएका थिए। “आमा आन्दोलनमा जान्छु भन्थ्यो। मैले नजा नजा भनें तर मानेन”, आमा कलावती पीडा पोख्छिन्, “गोली चलाउने वेला मरेन तर गोली चलाउन छोडेपछि गोली चलाएरै मारिदिए।”
प्रभु सिंह मधेशी समुदायको अधिकारका लागि युवा छोरो शहीद भएको बताउँछन्। मधेशका समस्या समाधान गर्छौ भनेका नेता कुर्सीमा बिक्दा यो समस्या आएको उनको तर्क छ। “अधिकारका लागि मरेको मेरो छोरो शहीद हुनैपर्छ”, उनी भन्छन्।

७ भदौ २०७२ मा टीकापुरमा मारिएका १८ महीने टेकेन्द्र साउदको परिवार ।
कलिला दुई सन्तान, श्रीमती र बूढीआमाको एक्लो सहारा सोहन साह कलवार (२५) १५ भदौमा प्रहरीको गोलीको शिकार भए। वीरगञ्ज–१९ नगवामा भएको त्यस दिनको आन्दोलनकारी र प्रहरीको झ्डपमा मारिएका उनी आन्दोलनमा नभई आमाको औषधि किन्न गएको परिवारको भनाइ छ।

आमा सुविरादेवी छोराले घर बनाएर सन्तोषले मर्न देला भन्ने सपना सकिएको बताउँछिन्। भुजा र पकौडा बेचेर गुजारा गर्ने सोहनका तीन र एक वर्षका छोरा छन्। किरिया बसेकी श्रीमती विनिता देवीले मधेश आन्दोलनले आफूलाई विधवा बनाएको बताइन्। “अब हामीलाई पाल्ने, बालबच्चा पढाउने जिम्मा नेताहरूले लिनुपर्छ”, उनको आग्रह छ।

सोहनका ससुरा मोहनप्रसाद साह छोरी कलिलै उमेरमा विधवा भएकोमा चिन्तित छन्। उनी भन्छन्, “छोराछोरी कलिलै छन्, सरकारले हेर्नुपर्छ।”
नौतन बहुअरीका २५ वर्षीय जयप्रकाश साह तेली (भोला) को दुई महीनाको छोराले अब कहिल्यै बुबाको अनुहार देख्न पाउने छैन। कारण, १५ भदौमै वीरगञ्जको लक्ष्मणवा चोकमा भएको झ्डपमा प्रहरीको गोलीबाट जयप्रकाश मारिए।

छोराको किरिया बसेका वृज बिहारीले हिमाल प्रतिनिधिसामु मधेश आन्दोलनको माग पूरा गर्नुपर्ने मात्र बताउनसके। आमा कुन्तीदेवी भन्छिन्, “हामीलाई पनि सरकारले मारिदिए हुन्छ।”

जयप्रकाशकी श्रीमती सन्जोगी देवी (१८) ले श्रीमान्लाई आन्दोलनमा जानबाट रोक्न साइकल नै चलाउन दिएकी थिइनन्। तर, जयप्रकाश रोकिएनन्। एकैछिनमा आउँछु भन्थे तर कहिल्यै आएनन्। सन्जोगीको प्रश्न छ, “अब हाम्रो जिन्दगी कसरी कट्छ? बच्चाको जीवन कसरी बित्छ?” जयप्रकाशका दाजु ओमप्रकाश मधेशको माग पूरा हुनुपर्ने, भाइ शहीद घोषणा गरिनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने बताउँछन्।

जयप्रकाशसँगै एउटै साइकलमा आन्दोलनमा गएका प्रसौनी–८ नौतनका दिनानाथ साह गोढ (२१) परिवारका एउटै सन्तान थिए। दिनानाथका बुबा शिवपूजन साह भन्छन्, “आन्दोलन हेर्न जान्छु भन्थ्यो, मरेको खबर आयो।” सुरक्षाकर्मीले विना कारण साइकलमा गइरहेका दिनानाथ र जयप्रकाशलाई गोली हानेको र पानीमा फ्यालेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

श्रीमान् बितेको वेला माइत गएकी दिनानाथकी श्रीमती अञ्जली कुमारी (१६) गर्भवती छिन्। खबर सुनेर उनी बेहोश भइन्। तर, श्रीमान्को मृत्युको पीडासँगै उनलाई एउटा कुराले भने अचम्मित तुल्याइरहेको छ। दिनानाथले केही समय पहिले उनलाई 'हेर्दै गर्, म मरेपछि मेरो जयजयकार हुन्छ' भनेका रहेछन्। नभन्दै उनको शवयात्रामा जयजयकार गर्दै हजारौं सहभागी भए।

“सरकारले क्षतिपूर्ति दिएर छोरालाई शहीद घोषणा गर्नुपर्छ”, बुबा शिवपूजन भन्छन्। उनलाई आन्दोलनमा अब कसैका छोरा नमरुन् भन्ने लागेको छ। “जो मरे पनि नेपाली नै हो”, उनको भनाइ छ।

comments powered by Disqus

रमझम