१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

'ब्लु लाइन' सुरक्षा

Share:
  
- रामेश्वर बोहरा, दक्षिणी लेवनानबाट फर्केर
भूराजनीतिक संवेदनशीलताले निम्त्याउने संकटको उदाहरण हो, ११ हजार विदेशी सैनिकले पहरा दिइरहेको लेवनान।

रामेश्वर बोहरा
सन् ७० को दशकमा विश्वकै सुन्दर शहर पेरिससँग तुलना गरिन्थ्यो, मध्यपूर्वको सानो देश लेवनानलाई। कुल १० हजार ४५२ वर्ग किलोमिटर क्षेत्रफलको लेवनानको जनसंख्या अहिले पनि काठमाडौं बराबर छ, करीब ४० लाख। यसमध्ये पनि करीब आधा यूरोप–अमेरिकामा छन्। आम्दानीको मुख्य स्रोत नै रेमिट्यान्स हुन पुगेको लेवनानमा करीब १४ लाख सिरियाली र प्यालेस्टिनी शरणार्थीले आश्रय लिएको अनुमान छ।

त्यसमाथि थपिएका विदेशीहरू हुन्– राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका ३७ राष्ट्रका करीब ११ हजार सैनिक। लेवनानी भूमिको सुरक्षामा लेवनान सरकार र लेवनानी सेनालाई सक्षम तुल्याएर फर्कने भन्दै ३७ वर्षअघि पसेको राष्ट्रसंघीय अन्तरिम फौज (युनिफिल) फिर्ता हुने संकेत अझ्ै देखिएको छैन। सिरिया युद्धका कारण पछिल्लो समय लेवनानी भूमि केही शान्त देखिए पनि जुनसुकै वेला जे पनि हुनसक्ने भय यथावत् छ।

'प्रोक्सी वार' को थलो

करीब ९०० वर्ष अरब, सन् १५१६–१९१८ मा तुर्कमेनिस्तान मातहत, त्यसपछि विभिन्न गठबन्धनको नियन्त्रण क्षेत्र र फ्रान्सेली उपनिवेशहुँदै १९४५ मा स्वतन्त्र राष्ट्र बन्यो लेवनान। त्यसको तीन वर्षपछि नै यसको दक्षिणी सीमामा स्वतन्त्र मुलुकका रूपमा 'स्टेट अफ इजरायल' उदायो। धार्मिक समुदायहरूबीचको तनावले १९५८ बाट गृहयुद्धको संकेत देखिन थालेको लेवनानमा १९६४ बाट 'प्यालेस्टाइन लिवरेशन अर्गनाइजेशन (पीएलओ)' को चलखेल बढ्यो। १९७० मा त पीएलओले राजधानी बेरुतलाई हेडक्वार्टर बनाएर दक्षिणी लेवनानबाट इजरायलमाथि 'रेड' गर्न थाल्यो। पीएलओमाथि लेवनानी क्रिश्चियन पार्टीले आक्रमण थालेपछि लेवनान क्रिश्चियन–मुस्लिम गृहयुद्धको भुमरीमा पर्‍यो।

त्यसले कति भयानक रूप लियो भने राष्ट्रपति सुलेमान फ्रान्जिहले गृहयुद्ध रोकिदिन आह्वान गरेपछि सिरियाली सेनाले पूरैजसो लेवनानी भूमि नियन्त्रणमा लियो, मुख्यतः दक्षिणमा केन्द्रित भएर। १९७८ मा पीएलओका गुरिल्लाहरूले इजरायली नागरिकको हत्या गरेपछि इजरायलले दक्षिणी लेवनानमा हमला गर्‍यो। युद्ध शुरू भएको पाँच दिनमै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले 'यूएनएससीआर–४२५ र ४२६' बमोजिम दक्षिणी लेवनानमा युनिफिल खटाउने निर्णय लियो। नेपाली सेना पनि त्यही वेलाबाट लेवनानमा तैनाथ छ।

सिरियाली सैनिक लेवनान पसेसँगै पूर्वी बेरुतमा क्रिश्चियन समुदायमाथि बमबारी गर्‍यो भने इजरायलले 'प्रोक्सी वार' का लागि दक्षिणी लेवनानमा 'साउथ लेवननिज आर्मी/मिलिसिया' खडा गर्‍यो। त्यहाँ पहिल्यैबाट पीएलओको दबदबा छँदैथियो। त्यसरी द्वन्द्व बढ्दै गएपछि इजरायलले सिरियाली फौज र पीएलओ फिर्तीको माग गर्दै लेवनानमाथि हमला गरेर दक्षिणी भूभाग कब्जा गर्‍यो। सिरियाली फौज फिर्ता गर्ने शर्तमा इजरायली फौज लेवनानबाट हटे पनि सिरियाले अस्वीकार गरेपछि परिस्थिति थप बिग्रियो र दक्षिणी लेवनानमा हिज्बुल्लाह पनि देखा पर्‍यो, 'सिया इस्लामिक मिलिट्यान्ट ग्रुप' को रूपमा। यसरी लेवनानले १९९० सम्म गृहयुद्धको अकल्पनीय रक्तपात बेहोर्नु पर्‍यो।

राष्ट्रसंघीय सेना शान्ति स्थापनार्थ खटिएका अन्य मुलुकभन्दा लेवनान धेरै हिसाबले फरक छ, आज पनि मध्यपूर्वको भूराजनीतिक चलखेलको 'ककपिट' नै रहेकोले। लामो समय लेवनान बसेका नेपाली सेनाका एक अधिकृतको विश्लेषणमा, यो देश मध्यपूर्वको भूराजनीतिदेखि महाशक्तिसम्मका 'प्रोक्सी पावर' हरूको खेलमैदान बनेको छ। उनका अनुसार, मध्यपूर्वको भूराजनीति र सामरिक मह140वमा इजरायली चासो बढेपछि त्यसमा अमेरिकी रुचि पनि जोडियो। “अनि युनिफिललाई कुसनको रूपमा यहाँ राखियो”, ती अधिकृत भन्छन्, “भूराजनीतिक डायनामिक्सको लागि पनि युनिफिल बसिराख्नुपर्ने बाध्यता बन्न पुगेको छ।”

उत्कर्षमा 'हिज्बुल्लाह'

१९८५ मा सिया शेख इब्राहिम अल अमिनले 'प्रतिरोध संघर्ष' को घोषणापत्र जारी गरे, जुन 'सिया इस्लामिक मिलिट्यान्ट ग्रुप' का रूपमा रहेको हिज्बुल्लाह सुमहको उद्घोष थियो। १९८२ मा इजरायलले दक्षिणी लेवनानमा 'अकुपाई' गरेसँगै हिज्बुल्लाह जन्मेको थियो। २००६ मा लेवनानसँगको युद्ध सकिएपछि इजरायली प्रधानमन्त्री यहुद बाराकले भनेका थिए, “हामी लेवनान प्रवेश गर्दा दक्षिणका सिया समुदायले हामीलाई वासनादार भोजन र फूलले स्वागत गरेका थिए, त्यसबेला त्यहाँ हिज्बुल्लाह थिएन। त्यो हाम्रै दबाब थियो, जसले हिज्बुल्लाह जन्मायो।”

१८ वर्षसम्म लेवनानी भूमि 'अकुपाई' गरेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) लाई सन् २००० मा लेवनानबाट फिर्ता गराउनमा मुख्य भूमिका हिज्बुल्लाहकै थियो। अस्तित्वमा आएसँगै आईडीएफमाथि खनिएको हिज्बुल्लाहले इजरायलभित्रै पनि आक्रमण गर्‍यो। मध्यपूर्वमा आत्मघाती आक्रमण, हत्या र विदेशी सैनिकलाई कब्जामा लिने पहिलो इस्लामिक समूह हिज्बुल्लाह नै हो। पश्चिमा मुलुकहरूले आतंकवादीको सूचीमा राखे पनि आज लेवनानमा राष्ट्रिय सेनाको समानान्तर शक्तिका रूपमा रहेको हिज्बुल्लाहले रकेट लञ्चरदेखि मिसाइलसम्म प्रयोग गर्‍यो।

१९९० मा गृहयुद्धको अन्त्यपछि लेवनानी, गैर–लेवनानी सबै सैन्य–मिलिसिया भंग गर्ने 'तैफ सम्झ्ौता' भए पनि त्यसवेलासम्म लेवनानमा नियन्त्रण गरेको सिरियाले हिज्बुल्लाह समूहलाई इजरायलसँग जोडिएको सिया मुस्लिमबहुल दक्षिणी क्षेत्र खुल्ला छाडिरह्यो। हिज्बुल्लाहलाई इरान र सिरियाले आवश्यक सबैखाले सहयोग गरेको 'ओपन सेक्रेट' छ। गृहयुद्ध सकिएपछि विद्रोही सैन्य समूहबाट राजनीतिक दल बनेर १९९२ को आमनिर्वाचनमा १२ सीट जितेको हिज्बुल्लाहले इजरायली फौज फिर्ता नभएपछि १९९७ मा 'मल्टी कन्फेसनल लेवनानिज ब्रिगेड' खडा गर्‍यो। लेवनिज आर्मीको 'प्रोक्सी फौज' का रूपमा उसले लडेको युद्धले नै अन्ततः इजरायललाई लेवनानबाट हट्न बाध्य पार्‍यो। राष्ट्रसंघले सन् २००० मा इजरायल र लेवनानबीचको सीमा विवाद सुल्झाउन काल्पनिक बोर्डरका रूपमा 'ब्लु लाइन' निर्धारण गर्दा लेवनान राष्ट्रको पहरेदारका रूपमा हिज्बुल्लाहको जयजयकार गरियो। इजरायली फौज फिर्ता भएको २५ मेलाई अहिले लेवनानमा मुक्ति दिवसका रूपमा मनाइन्छ।

यस्तो सफलता र वाह्वाहीले हिज्बुल्लाहलाई उग्र बनाउँदै लग्यो। उसले इजरायलभित्रै आक्रमण गरेर तीनजनाको हत्या र दुइ इजरायली सैनिकको अपहरण गरेपछि 'समर वार'का नामले चर्चित जुलाई २००६ को युद्ध निम्तिएको थियो। ३३ दिनसम्म चलेको 'समर वार' मा १३०० लेवनानी र १६५ जना इजरायलीको मृत्यु भयो, दक्षिणी लेवनानका कैयौं बस्ती ध्वस्त भए। २००१ मा मिसन कटौती गरेको राष्ट्रसंघले २००६ मा युनिफिलको आकार पुनः बढायो। पहिले कटौतीमा परेको नेपाली सेनाको सहभागिता पनि २००६ पछि पुनः शुरू भयो।
इजरायलसँगको तनावमा हालसम्म लेवनानतर्फ करीब २० हजारको ज्यान गएको अनुमान छ, जसमा अधिकांश सर्वसाधारण छन्। इजरायलतर्फ पनि करीब ३ हजारको ज्यान गइसकेको छ। लेवनान–इजरायल पछिल्लो तनाव सीमारेखाको विवादमा केन्द्रित छ। एकइन्च जमीनको विवादले राष्ट्रहरूलाई कतिसम्म तनावमा पार्छ भन्ने उदाहरण हो, इजरायल–लेवनान विवाद।

सीमा स्पष्ट नभएकोे इजरायल–लेवनान विवादको अस्थायी समाधानका लागि राष्ट्रसंघले 'ब्लु लाइन' निर्धारण गरेको छ। त्यसकै उल्लंघन हुन नदिन इजरायल–लेवनान सीमामा ११ हजार विदेशी सैनिक खटिएका छन्। आफ्नोतर्फ पूरै तारबार गरेको इजरायलतर्फबाट 'ब्लु लाइन' उल्लंघन नभए पनि मुख्यतः हिज्बुल्लाहले मौका पाउनासाथ इजरायलतिर रकेट हान्ने गरेको छ। सिरिया र इरानबाट यथेष्ट सहयोग पाइरहेको हिज्बुल्लाहले दक्षिणी लेवनानमा समानान्तर सरकार पनि चलाउँछ। २००८ को राष्ट्रिय सरकारमा सहभागी भइसकेको हिज्बुल्लाह लेवनानी संसद्मा विपक्षी गठबन्धनको मह140वपूर्ण सदस्य रहेको छ। ६५ हजार लडाकू रहेको विश्वास गरिएको हिज्बुल्लाहलाई लेवननिज आर्म्ड फोर्स (ल्याफ) भन्दा शक्तिशाली मानिन्छ।

नेपाली सेनाको काम

आक्रमणको ताकमा रहने हिज्बुल्लाहलाई रोक्ने जिम्मेवारी राष्ट्रसंघका तर्फबाट खटिएका सैनिकहरूमा छ। त्यसमा सबभन्दा संवेदनशील मानिने दक्षिणी लेवनानको ९६ वर्गकिमी क्षेत्रफलसहित १५ किमोमिटर लामो 'ब्लु लाइन' सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ। अहिले हिज्बुल्लाहका लडाकूहरू इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आईएस) सँगको लडाईंमा सिरियाली सेनालाई सघाउन गएकाले दक्षिणी लेवनान शान्त छ। “तर, यहाँ कुनै पनि वेला जे पनि हुनसक्छ” नेपाली सेनाको ५६औं डफ्फा कृष्ण दल गणका प्रमुख सेनानी राजेन्द्रमणि गिरी भन्छन्, “चौबीसै घन्टा तयार बस्नुपर्छ।”

हुन पनि, लेवनानतिरबाट बाख्रा चराउँदै जाने गोठालाले 'ब्लु लाइन' नाघ्दा पनि इजरायलबाट फायर खुलिहाल्छ। त्यही निहुँमा युद्ध निम्तिएका कैयौं घटना छन्। १९७८ यता दुवैतिरबाट भएका यस्तै आक्रमणमा २८ जना नेपाली शान्ति सैनिकको ज्यान गइसकेको छ। यस्तो कठिन परिस्थितिमा नेपाली सेनाले दुवैतिर सुमधुर सम्बन्ध बनाएर जिम्मेवारीलाई सजिलो बनाउने जुक्ति प्रयोग गरिरहेको छ। प्रमुख सेनानी गिरी व्यवहारबाटै वातावरण सहज बनाएको बताउँछन्। “अरू देशका शान्ति सैनिकहरूले जस्तो आर्थिक सहयोग गरेर मन जित्न हामीसँग स्रोत छैन”, प्रमुख सेनानी गिरी भन्छन्, “त्यसैले, व्यक्तिगत सम्बन्ध बढाउनेदेखि स्मारकहरू सरसफाई गरिदिने र स्वास्थ्य शिविर चलाउनेसम्मका काम गरिदिन्छौं।”

यस्ता गतिविधिले नेपाली सेनाप्रति स्थानीयको आत्मीयता बढाएको छ, जुन दक्षिणी लेवनान घुम्दा सहजै अनुभव गर्न सकिन्छ। हाउला कल्चरल सेन्टरका अध्यक्ष हनी मुस्तफा (७२) ले नेपाली सैनिकहरूलाई गजबका सहयोगी मानिसको रूपमा चित्रण गरे। १२ वैशाखपछि नेपालमा पटक–पटक ठूल्ठूला भूकम्प गएको खबर सुनेर आफूहरू आत्तिए पनि उनीहरू विचलित नभई काममा खटिरहेको बताए। “नेपाली सैनिकमध्ये कतिका घर भत्केका थिए, आफन्तहरूको यकिन खबर थिएन”, मुस्तफाले भने, “तर पनि उनीहरू विचलित भएको देखिएन, हामीले १९७८ बाट देखेदेखि नै उनीहरू यस्तै हुन्, गजबका!”

comments powered by Disqus

रमझम