१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

पशु घर

Share:
  

इन्टरनेट तस्वीर
गोङ्गबु, काठमाडौंका दीपकराज कुँवर (५७) को घरमा दुई वटा कुकुर छन्, बन्टी र काली। उनलाई कुकुरविना घर शून्य लाग्छ। “बिरालो र सुगा चाहिं अहिले छैनन्”, उनी भन्छन्, “नत्र, काली कुकुर र बिरालो एकै ठाउँमा बस्थे।”
गट्ठाघर, भक्तपुरका लीलानाथ पराजुली (४९) ले पनि जापानिज स्पिट्ज र जर्मन शेफर्ड जातका कुकुर पालेका छन्। तिनका लागि आकर्षक बासस्थान पनि बनाइदिएका छन्। “घरमा पाहुना आउँदा डिस्टर्ब गर्ने भएकाले यसो गर्नुपरेको हो”, पराजुली भन्छन्, “अरू वेला त बाहिरै उफ्रन्छन्।”

जंगलका जनावर जंगलमै रमाउँछन् तर, घरपालुवा जनावरका लागि घरमै बस्ने ठाउँ तयार गर्नुपर्छ। कतिपय मानिस सोख र शानका लागि घरमा जनावर त पाल्छन् तर उनीहरुलाई कस्तो व्यवहार गर्ने भन्ने जान्दैनन्। सोखका रूपमा पालिने कुकुर, बिरालो, सेतो मुसा, चराचुरुङ्गीदेखि जीविकोेपार्जनका लागि पालिने गाई, भैंसी, कुखुरा, परेवा आदि सबैलाई बास चाहिन्छ।
कुकुरलाई भने कतिपयले आफूसँगै सुताउने र खुवाउने गर्छन्। तर, त्यसो गर्नु स्वस्थकर नहुने चुच्चेपाटीस्थित अन्नपूर्ण भेटेरिनरी क्लिनिक एण्ड पेट शपका रमेश बस्ताकोटीको भनाइ छ। “घरमा पशुपक्षी राख्नेले तिनका लागि उपयुक्त बासस्थान, पोषणयुक्त खाना र चौबीसै घण्टा पानीको व्यवस्था मिलाइदिनुपर्छ”, उनी भन्छन्, “त्यसो गर्न सकिंदैन भने पशुपक्षी नपालेकै बेस हुन्छ।”
अर्को घर

पशुपक्षीलाई प्राकृतिक आवाससँग मिल्दो बासस्थान बनाउन सके सुगन्ध थपिन्छ। त्यसका लागि अलग्गै ठाउँ र स्रोत चाहिने भएकाले धेरैले खाँचो टार्ने पशु आवास निर्माण गरेको पाइन्छ। गाई, भैंसी, कुखुरा, हाँस, बाख्रा, सुँगुर आदिका लागि गोठ वा खोर बनाउनुको विकल्प हुँदैन। तर, कुकुर, बिरालो, खरायो आदि पाल्ने कतिपयले तिनको आवास निर्माणमा ध्यान नदिएको पाइन्छ।

घरपालुवा जनावरको आवास बनाउँदा क्षेत्रफलदेखि ढोका, भुइँ, छानो आदिमा ध्यान दिनुपर्ने रोयल केनल क्लब नेपालका संस्थापक सदस्य हिम केसी बताउँछन्। “पग, चिहुआहुआ जस्ता साना जातका कुकुर पाल्नेले तयारी केनल (कुकुर बस्ने घर) किने हुन्छ”, उनी भन्छन्, “तर, ग्रेट डेन, आइरिस मस्टिफ जस्ता ठूला जातका कुकुरका लागि आफैं घर बनाउनुपर्छ।”

बजारमा 'सुपर सफ्ट पेट स्लिपिङ हाउस', 'फोल्डएबल पेट हाउस', 'इको–फ्रेन्ड्ली पेट हाउस' आदि पाइन्छन्। थाइल्याण्ड, भारत र चीनबाट आयात गरिने यी 'रेडिमेड' पशु–घरलाई रु.५ हजारदेखि रु.८ हजारसम्म पर्छ। आफैंले बनाउँदा ग्रील वा काठ प्रयोग गर्न सकिन्छ। “ती घरलाई छत, बार्दलीमा राख्नुहुँदैन”, अन्नपूर्ण भेटेरिनरीका बस्ताकोटी भन्छन्, “चराले झारेको चिजबिज खाएर पशु बिरामी हुन सक्छन्।”

यस्तो घर बनाउँदा पशुपक्षीलाई भित्र/बाहिर गर्न सजिलो हुने किसिमको ढोका र हावा नछेकिने भित्ता बनाइदिनुपर्छ। पछाडिपट्टि थोरै अग्लो र अगाडि होचो बनाइयो भने पोखिएको पानी बाहिर जान पाउँछ। “पानी निकास गर्ने प्वाल बनाउन भुल्नु हुन्न”, बस्ताकोटी भन्छन्, “कार्पेट ओछ्याउँदा सफा गर्न गाह्रो हुन्छ, सिमेन्ट वा टायल राख्नुपर्छ।”

आवासछेउमै डोरी, रुमाल आदि राख्ने प्रबन्ध मिलाउनुपर्छ। त्यहीभित्र खाना खाने ठाउँ बनाउनुपर्छ। “सबैभन्दा महत्वपूर्ण कुरा चाहिं उनीहरू आनन्दले निदाउन सक्ने खालको आवास बनाइदिनुपर्छ”, केनल क्लबका हिम केसी भन्छन्।

सजना बराल

comments powered by Disqus

रमझम