१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

जटिल र खर्चिलो शल्यक्रिया

Share:
  
- डा. विनोद विजुक्छे
मेरुदण्डसम्बन्धी समस्या पालेर बस्दा नसा च्यापिंदै गएर जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ।

हिजोआज वयस्कहरूमा 'पोस्चरल' वा 'लो ब्याक पेन' अर्थात् ढाड र कम्मर दुख्ने समस्या बढ्दै गएको छ। नेपालमा वार्षिक करीब पाँच हजार जनालाई यस्तो समस्या हुने गरेको अनुमान छ, तर उपचारका लागि अस्पताल पुग्नेको संख्या पुगनपुग एक हजार मात्र छ। यो अवस्थाले समस्याको गम्भीरता आकलन गराउँछ।

मेरुदण्डमा 'लो ब्याक पेन' हुन विशेष केही हुनैपर्दैन, बस्ने, काम गर्ने तरीका नमिल्दा, तौल बढ्दा र मानसिक चिन्ताका कारण पनि यो समस्या उत्पन्न हुन्छ। ढाडको क्षयरोग (टीबी), फ्याक्चर्ड, हड्डीको ट्युमर, डिजेनरेटिभ (हड्डी खिइनु), कर्डा इक्वेना सिन्ड्रोम आदि मेरुदण्डसँग सम्बन्धित समस्या हुन्। यीमध्ये क्षयरोग, फ्याक्चर्ड, ट्युमर आदि भएमा मेरुदण्डको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। हड्डीमा संक्रमण भई पिप जमेको छ भने त झ्न् तुरुन्त शल्यक्रिया गर्नुपर्छ। एमआरआई गर्दा नसा च्यापिएको देखिंदैमा 'अब प्यारालाइसिस हुनेभयो, खुट्टा चल्दैन होला, शल्यक्रिया गर्नुपर्छ' भनेर आत्तिनु पर्दैन। किनभने, सामान्य दुखाइ र एमआरआईमा नसा च्यापिएको देखिए पनि शल्यक्रिया नै गरिहाल्नु पर्दैन।

मेरुदण्डसम्बन्धी करीब ९६ प्रतिशत समस्या शल्यक्रियाविना नै बिसेक हुन्छ। यसको उपचार सजिलो छ। बस्ने तरीका फेरेर, औषधि खाएर र नियमित व्यायामबाट मेरुदण्डसम्बन्धी समस्या हल गर्न सकिन्छ। संक्रमण भए, रातमा ढाड बढी दुख्न थाले, दुखाइसँगै ज्वरो आए, लगातार तौल घटे, खाना नरुचे, हातखुट्टामा कमजोरीपन आए वा दिसा–पिसाब नियन्त्रण गर्न नसकिए समस्या जटिल छ भन्ने बुझनुपर्छ। यस्ता लक्षण देखिए तत्काल चिकित्सकको सल्लाह लिएर उपचार थाल्नुपर्छ।

यस्ता लक्षणसहित मेरुदण्ड सम्बन्धी समस्या लिएर हामीकहाँ आउने कतिपय विरामी 'औषधिले नै निको पार्छु' भनेर शल्यक्रिया गर्न मान्नुहुन्न। तर, यस्तो वेला शल्यक्रिया नगर्नुको परिणाम हुन्छ– ढाड कुप्रिंदै गएर केही समयपछि पहिलेभन्दा जटिल र खर्चिलो शल्यक्रिया। त्यसो त, सामान्य कम्मर दुखाइको पनि निदान गरिएन भने दैनिक क्रियाशीलतामा ठूलो असर पार्छ नै। त्यो असरले नदेखिने गरी गुणस्तरीय जीवनलाई ध्वस्त पार्छ।

अर्को खतरनाक कुरा, मेरुदण्डमा समस्या हुनु भनेको मुटु र फोक्सोमा समस्या आउनु हो। जति ढाड कुप्रिंदै जान्छ, त्यति नै मुटु र फोक्सोको लागि ठाउँ साँघुरो हुँदै जान्छ। मुटु र फोक्सो बस्ने घर साँघुरिंदै जाँदा छातीको समस्या उत्पन्न हुन्छ, जसलाई 'कार्डियोपल्मोनरी डिकम्पनसिएन' भनिन्छ।

मेरुदण्डको शल्यक्रिया अन्य शल्यक्रियाभन्दा जटिल उपचार विधि हो। यसका लागि स्त्रि्कउ, रड जस्ता सामग्री चाहिने भएकाले खर्च बढी हुन्छ। यसबाट जोगिने सबभन्दा राम्रो उपाय भनेको पूर्व सतर्कता, अर्थात् त्यो अवस्था आउन नदिनु नै हो। 'पोस्चरल' वा 'लो ब्याक पेन' हुन नदिन धेरै बेर निहुरिने वा टुक्रुक्क बस्ने गर्नुहुँदैन। 'अब रोगी भएँ, शल्यक्रिया गर्नुपर्ने भयो' भन्ने सोचेर चिन्तित बन्नु पनि पर्दैन। त्यसको साटो दुख्नाको कारण चाँडै पत्ता लगाई उपचार विधि शुरू गर्नुपर्छ।

पहिले–पहिले मेरुदण्डको शल्यक्रिया (स्पाइनल सर्जरी) अर्थोपेडिक वा न्युरोसर्जनहरूले गर्थे। अचेल 'स्पेसलाइज्ड' विषय भएकाले स्पाइनल सर्जनहरूले नै गर्न थालेका छन्। नेपालका कतिपय अस्पतालले मेरुदण्डको शल्यक्रियाको लागि अन्तर्राष्ट्रियस्तरको सुविधा जुटाएका छन्। ग्राण्डी अस्पतालले त अमेरिकाको 'स्पाइनल हेल्थ इन्टरनेशनल' सँगको सहकार्यमा कमजोर आर्थिक अवस्थाका बिरामीहरूलाई निःशुल्क रड, स्त्रि्कउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ।

(डा. विजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको स्पाइनल सेवा विभागका निर्देशक हुन्।)

comments powered by Disqus

रमझम