१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

शान्तिका लागि कला

Share:
  
आगामी साता लन्डनमा हुने टकिङ पिस फेस्टिभलमा नेपाली कलाकारले पनि विश्वशान्तिको सन्देश दिनेछन्।

१ असोज, नयाँ संविधानको सन्दर्भमा खुशी र विरोध चलिरहेकै वेला एउटा नेपाली सांगीतिक ब्याण्ड भने ओस्कार विजेता संगीतकार एआर रहमानसँगको सहकार्यको घोषणा गरिरहेको थियो।

“प्रख्यात संगीतकार एआर रहमानसँग हाम्रा ब्याण्डका जेसन कँुवरको सहकार्य हुने कुरा सुनाउन पाउँदा खुशी छौं”, ब्याण्डले फेसबूकमार्फत भनेको छ। जेसनले यसअघि पनि रहमानसँग 'ओटी' बोलको गीतमा काम गरेका थिए, जसमा जेसनले बाँसुरी र धिमे बजाएका छन्। “आशा छ यो ट्रयाक र नाइट ब्यान्डसँगको सहकार्यले विश्व शान्ति स्थापनार्थ सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिनेछ”, फेसबूक सन्देशमा रहमानले भनेका छन्।

जेसन–रहमानको पछिल्लो जोडी भने 'पिस ट्रयाक्स्' अल्बमका लागि हो, जसलाई ३ अक्टोबरमा बेलायतको लन्डनमा हुने टकिङ पिस फेस्टिभलमा आधिकारिक रुपमा सार्वजनिक गरिनेछ। दुई मिनेट चार सेकेन्डको यो धुनमा जेसनले बाँसुरी, धिमे र स्वर दिएका छन् भने रहमानले पियानो बजाएका छन्। मानवअधिकारवादी समूह, इन्टरनेशनल अलर्टले 'ग्लोबल पिस इभेन्ट' कै हिस्साका रूपमा यो फेस्टिभल आयोजना गरेको हो।

“पिस फेस्टिभलमा नेपाली कलाकारका लागि प्रतिनिधित्व अत्यन्त सान्दर्भिक हुनेछ”, इन्टरनेशनल अलर्टकी चाँदनी थापा भन्छिन्, “यो सहभागिताले नेपालको सांस्कृतिक उपलब्धि चिनाउनुका साथै विदेशीहरूको दृष्टिकोण समेत सकारात्मक बनाउनेछ।”

फेस्टिभलमा जेसनको सांगीतिक धुनसँगै नेपालका अन्य कलाकार पनि सहभागी हुनेछन्। “राजनीतिक अस्थिरताले जनतामा डर र त्रास उत्पन्न गराएको छ”, पिस फेस्टिभलमा सहभागिताको तयारी गरिरहेका चित्रकार आदित्य अर्याल (साधु एक्स) भन्छन्, “तर पनि आशा गर्न छोड्नु हुन्नँ भनेर 'होप' शीर्षकमा चित्र कोरिरहेको छु।”

अर्की स्ट्रिट आर्टिस्ट श्रद्धा श्रेष्ठ पनि इन्टरनेशनल अलर्टको विश्वव्यापी अभियान 'आर्ट फर पिस' मा सहभागी हुने बीस कलाकारमध्ये एक हुन्। अभियानमा चित्रकलाको माध्यमबाट द्वन्द्व र शान्तिबारे छलफल गर्न प्रेरित गरिन्छ। 'डेडलाइन' नामबाट परिचित श्रद्धाले फेस्टिभलका लागि 'एण्ड वि वेर वान' शीर्षकको चित्र तयार पारेकी छन्। “भूकम्पका वेला हामीले एक हुँदाको अनुभव सँगाल्यौं”, उनी भन्छिन्, “त्यो विपत्तिले हामीलाई एकजूट हुँदा जे पनि हासिल गर्न सकिन्छ भन्ने पाठ सिकायो।”

इन्टरनेशनल अलर्टकी थापा नेपालका अन्य कलाकारले पनि महोत्सवमा भाग लिनुपर्ने बताउँछिन्। उनी यस्ता कार्यक्रम नेपालमै आयोजना गर्न सके अझ प्रभावकारी हुने धारणा राख्छिन्। साँच्चै नै, भूगोल र जातिबारे विवाद चलिरहेको यो वेला शान्ति र सद्भाव फैलाउने यस्ता कार्यक्रमको खाँचो छ।

सार्थकमणि शर्मा

comments powered by Disqus

रमझम