१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

दंग डेनिस राजकुमार

Share:
  

३ असोजमा स्वदेश फर्किएका डेनमार्कका राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियन (४७) को तीनदिने नेपाल भ्रमण 'विशुद्ध निजी' थियो। तर, लमजुङका गाउँलेका लागि उनको यही भ्रमणले 'सार्वजनिक महत्व' राख्यो।

काठमाडौं उत्रिएकै दिन १ असोजमा स्थलमार्गबाट लमजुङ आइपुगेका राजकुमारले दुर्गम पाचोक र फलेनी गाउँ पुगेर भूकम्पपीडितसँग भलाकुसारी गरेका थिए। डेनिस रेडक्रसको सहयोगमा जिल्लाका ६ गाविसमा सञ्चालित समुदाय उत्थानशील परियोजना र अर्थक्वेक रेस्पोन्स परियोजनाको काम हेर्न आएका उनी यहाँको प्राकृतिक सौन्दर्यमा मुग्ध देखिए। पहिलोपटक नेपाल आएका फ्रेडरिकले बारम्बार नेपालका नदी–नाला, झरना र हिमालले आफूलाई लोभ्याएको बताए। लमजुङको उदिपुरस्थित झरना र त्यहाँबाट देखिने हिमाल हेर्न उनले गाडी नै रोक्न लगाएका थिए।

राजकुमार फ्रेडरिकले घरदैलोमै पुगी समस्या सोध्दा गाउँले खुशी देखिए। लप्सीबोटमा आयोजित राहत वितरण कार्यक्रममा राजकुमार आफैंले जस्तापाता बोकेका थिए। “भूकम्पपछि जिल्लाकै नेताहरू समेत मुश्किलले पुगेका गाउँमा डेनमार्कका राजकुमार आइपुग्नु गौरवको कुरा हो”, बन्सारस्थित फलेनी माविका शिक्षक केदार बोहराले भने।

राजकुमारलाई स्वागत गर्दै स्थानीय विपत् व्यवस्थापन समिति तथा आमा समूहले भूकम्पपछि विद्यालयहरू भत्किएसँगै पठनपाठनमा समस्या परेको दुःख पोखेका थिए। स्वास्थ्य समस्या र भौतिक पूर्वाधार अभावका कुरा पनि राखेका थिए।

युवराज श्रेष्ठ, लमजुङ

comments powered by Disqus

रमझम