१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

आङफुलाको आशा

Share:
  

पर्वतारोही रब हल र स्कट फिसरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको घटनामा आधारित चलचित्र 'एभरेष्ट' अहिले विश्वभर प्रदर्शन भइरहेको छ। कलाकार विजय लामासँगै एभरेष्टमा ११ जना नेपाली शेर्पाले माउन्टेन गाइडका रूपमा अभिनय गरेका छन्। तीमध्ये मुख्य गाइड भएर चलचित्रमा देखिएका आङफुला शेर्पा (३०) हाल अमेरिकामा छन्। सेप्टेम्बर ९ मा भएको 'प्रिमियर शो' का लागि लसएन्जलस पुगेका उनी अभिनयका लागि राम्रो तारिफ पाइरहेको बताउँछन्। “यहाँका दर्शकले हिमाल चढ्न गाह्रो रहेछ भन्ने खालको प्रतिक्रिया दिइरहेका छन्”, शेर्पा भन्छन्, “फिल्ममा मैले गाइडको भूमिका निर्वाह गरेको छु।” सन् १९९९ मा मजदूर बनेर पर्यटन क्षेत्रमा छिरेका उनी पछिल्लो समय हिमाली पथप्रदर्शकका रूपमा कार्यरत थिए। “आफ्नै पेशाबारे अभिनय गर्दा रमाइलो लाग्यो”, उनी भन्छन्, “यो चलचित्रले शेर्पा जातिलाई कलाकारिता क्षेत्रमा पनि उँचो बनाइदिने आशा लिएको छु।” ८ असोजमा काठमाडौंको कुमारी हलमा एभरेष्टको 'प्रिमियर शो' गरिएको थियो।


बाँच्नका लागि दौड

१ असोजमा दोलखामा पहिलो पटक अन्तर्राष्ट्रिय बालदौड प्रतियोगिता 'रेस फर सर्भाइभल' आयोजना गरियो। दोलखा स्वास्थ्य चौकीदेखि चरिकोट–टुँडिखेलसम्मको ३.८ किमीको दौडमा दोलखाका बाह्र विद्यालयका ३०० विद्यार्थीले भाग लिएका थिए। १२ वैशाखको महाभूकम्पमा क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनःनिर्माण र उपयुक्त स्वास्थ्य सेवा प्रदान गरी बाल मृत्यु दर घटाउन पहल गर्दै सेभ द चिल्डे्रनले उक्त कार्यक्रम आयोजना गरेको थियो। बाल मृत्युदर घटाउने अन्तर्राष्ट्रिय अभियान 'एभ्रीवान' अन्तर्गतको यो दौडलाई ग्रामीण विकास संघ टुकी र हुराडेकले समायोजन गरेका थिए। ८ असोजमा नुवाकोटमा पनि यस्तै कार्यक्रम गरियो। यो वर्ष विश्वका २८ देशमा बालदौड कार्यक्रम आयोजना गरिनेछन्।


रीमासँग रोहित

१० असोजमा अभिनेत्री रीमा विश्वकर्माको विवाहको लगन जुरेको छ। बेलायत निवासी रोबर्ट (रोहित) विश्वकर्मा उनको जोडी बनेका छन्। रीमाले इष्टमित्रसँगै चलचित्रकर्मी साथीभाइलाई होटल हायातमा हुने विवाह समारोहमा आमन्त्रण गरेकी छन्। त्यसो त, ६ महीनाअघि नै रीमा र रोबर्टले 'कोर्ट म्यारिज' गरिसकेको खबर सुनिएको थियो, तर रीमाले यसलाई अस्वीकार गरेकी थिइन्। भीजेबाट म्युजिक भिडियो मोडल हुँदै चलचित्र खेल्न थालेकी रीमाले 'स्वर', 'भिसा गर्ल', 'ऋतु' आदिमा अभिनय गरेकी छन्। उनको पछिल्लो चलचित्र 'भाले फाइट' अहिले चलचित्रगृहमा चलिरहेको छ।

comments powered by Disqus

रमझम