१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

बिर्सने रोगको सम्झना

Share:
  
क्यान्सरभन्दा डरलाग्दो रोग हो 'अल्जाइमर्स! क्यान्सर त निको पार्न सकिन्छ। तर यो 'अल्जाइमर्स' ले भेटेपछि भेट्यो भेट्यो!

भर्खर संविधान पाएर मक्ख परेका नेपालीलाई यस्तो नराम्रो कुरा किन सुनाउनु पर्‍यो? कारण छ। यो अंग्रेजी सेप्टेम्बरको महीनालाई विश्व अल्जाइमर्स रोग संघले 'विश्व अल्जाइमर्स महीना भनेर तोकेको छ। र, २१ सेप्टेम्बरलाई 'विश्व अल्जाइमर्स डे'। डे त गइसक्यो तर महीना बाँकी छ।

हामीले पनि अल्जाइमर्स रोगबारे चेतना फैलाउनै पर्ने भइसकेको छ, किनभने नेपालमा पनि यो रोग व्यापक रहेछ भन्ने बुझिएको छ। एक लाखको हाराहारी पुगेका छन् रे रोग लागिसकेका बिरामीहरू। लागेपछि निको हुँदैन यो रोग भनिसकियो। औषधि नै नभएको रोगबारे चेतना किन फैलाउने त? अरूलाई यो रोग नलागोस् भनेर नि!

पैलो कुरो हामीले के बुझ्नुपरुर्‍यो भने यो अल्जाइमर्स भन्ने रोग आफैंले बिरामीलाई मार्दैन, राम्रो स्याहार शुश्रूषा पाइराख्यो भने बिरामी दशौं वर्ष बाँच्न सक्छ। बिरामीको उचित स्याहार नै यसको औषधि हो। स्याहार नपुग्दा बिरामीको शरीरमा बल्झे‍‍र आउने अरू कुरा घातक हुन्छन्। जस्तो सरसफाई नभैदिंदा छातीमा निमोनिया हुनसक्छ। रोग बढ्दै गएपछि बिरामी आफैंले खान सक्दैन, खुवाउनुपर्छ। खानपिनमा बेवास्ता भए बिरामी सुकेरै 'जान्छन्'। हिंडडुल गर्न सक्दैन, ओछ्यानमै पथरा पर्छ, दिसापिसाब पनि त्यहीं हुन्छ। सफाई राम्रो भएन भने त्यहीं घाउ हुन्छ। घाउ बिसेक हुन्न। त्यसैले 'लैजान' सक्छ बिरामीलाई। अर्को कुरा, खानेकुरा निल्न झन्–झन् कठिन हुँदै जान्छ, खाँदाखाँदै सर्किन्छ। कसै कसैलाई त्यत्ति सर्काइ समेत 'ज्यानलेवा' भैदिन्छ। तर यो लाग्नै नदिन के गर्ने त?

यो 'ब्रेन' को रोग हो, मस्तिष्क अर्थात् हाम्रो मथिङ्गलको, गिदीको। गिदीमा रौंभन्दा पनि मसिना लाखौं तन्तुहरू छन्। तिनलाई खुराक पुरुर्‍याउँछन् हाम्रो मुटुबाट जाने रक्तप्रणालीले। रगतमा बोसो या प्रोटिनको मात्रा कमबेसी हुनगयो भने ती तन्तुहरू एकआपसमा अल्झिन्छन्, भनूँ लट्टा पर्छन्। हाम्रो शरीरका विभिन्न अङ्गलाई चलाउने स्थलहरू हुन्छन्। जुनजुन स्थलका तन्तुहरूमा लट्टा पर्छ ती–ती अङ्ग निष्त्रि्कय हुँदै जान्छन्। अल्जाइमर्सले सबभन्दा पहिले स्मृतिको केन्द्रमा हमला गर्छ अनि हामीलाई विस्मृति रोग लाग्छ, बिर्सने रोग। त्यो क्रम गिदीमा अरूतिर बढ्दै जान्छ र बिरामीका अरू–अरू क्रियाकलाप क्रमशः रोकिंदै जान्छन्।

भनेपछि यो रोग लाग्नै नदिन हामीले हाम्रो मुटु र रगत ठीक राख्नुपरुर्‍यो। त्यसका लागि शरीर चुस्तदुरुस्त राख्नुपर्‍यो। सन्तुलित भोजन गर्नुपरुर्‍यो। मस्तिष्कलाई सक्रिय राख्नु पनि जरूरी छ। त्यसका लागि लेख्ने, पढ्ने र सामाजिक कामहरूमा सहभागी भइरहने सल्लाह दिन्छन् डाक्टरसाहेबहरू। नेपालमा पनि अल्जाइमर्स सम्बन्धी काम गर्ने एउटा संस्था छ, 'अल्जाइमर्स विस्मृति समाज–नेपाल' भन्ने। त्यसको एउटा 'हेल्पलाइन पनि छ, नम्बर हो ९८५११५५२२०। इ–मेल ठेगाना होः ards.nepal2069@gmail.com त्यहाँ सम्पर्क गरे आवश्यक सहायता पाइन्छ।

हेरूँ त हाम्रो सामान्य मस्तिष्क कस्तो हुन्छ र विस्मृति रोग लागेको विकृत मस्तिष्क कस्तो। दाँजौं क र ख!

कमलमणि

comments powered by Disqus

रमझम