भगवानको ‘पुनर्जन्म’

Share:
  
- दीपक अर्याल
p8a
 
चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमाल का लागि नेपाली आकृतिमा
२०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।

हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो ।
 
रवि वर्माको प्रेसमा छापिएका धार्मिक तथा अन्य फोटोहरू दक्षिण एशियामा मात्र होइन युरोप र अफ्रिकातिर पनि प्रसिद्ध भए, राम्रैसँग पैसा कमाउन थाल्यो । त्यसपछि उनका चित्रहरूको नक्कल र बिक्रीले व्यापकता पायो, रवि उदय, रवि वैभव जस्ता प्रेसहरूको जन्म भयो । वर्माकै कलाको नक्कल गर्दै फरक–फरक भगवानका लाखौं प्रति फोटोहरूको उत्पादन, बिक्री–वितरण र उपभोग भए; जसमध्ये लक्ष्मी र सरस्वतीका फोटोहरू सबभन्दा लोकप्रिय भए । यी चित्रहरू यति प्रचलित र आम मानिसले अपनाउने खालको भयो कि यिनकै पेन्टिङका आधारमा हिन्दी सिनेमा र टीभी सिरियलका ‘भगवान’, ड्रेस, पहिचान र दृश्यहरूको खोजी थालियो ।
 
बिक्री वितरणका लागि यस्ता फोटोहरू कहिलेदेखि नेपाल भित्रिए भत्रे कुराको विस्तृत अध्ययन भएको छैन । नेपाली हिन्दू धार्मिक पुस्तकहरूमा यस्ता फोटोहरू प्रशस्त प्रयोग भएका छन् । पहिलोपटक मुद्रित हुँदा लाइन टोन ब्लक वा हाल्फटोन ब्लकको प्रयोग गरी कथावस्तु बुझउने वा भगवानहरू चिनाउने गरिए पनि सोही पुस्तकको पछिल्लो संस्करणमा यस्तै फोटोहरूले ठाउँ पाउन थाल्यो । ठूलो परिमाणमा प्रकाशित हुने देवी–देवताका तस्वीरहरू सस्ता हुन्थे त्यसैले पुस्तक वा कथाका लागि आवश्यक ठानिएका धार्मिक चित्र वा तस्वीरहरू सजिलै प्रयोग हुन्थे । कलकत्ता, बम्बई, बनारस र अलि पछि गोरखपुरमा तयार पारिएका यस्ता तस्वीरहरूले नेपाली भाषाका पुस्तकको शोभा बढाउँथे ।
 
बजारमा भेटिएका भगवानका तस्वीरलाई कथाको माग अनुसार पुस्तकभित्र राख्दा फरक–फरक ठाउँमा उत्पादित वा फरक व्यक्तिहरूले बनाएका तस्वीरहरू एउटै पुस्तकभित्र पर्ने गर्थे । उदाहरणका लागि नेपालभित्र प्रकाशित कोमलनाथ अधिकारीद्वारा अनूदित श्रीमद्भागवत गीता (वि.सं. १९९०), केदारनाथ उपाध्यायको श्रीमद्भागवत गीता (वि.सं.१९८७), कृष्ण चरित्र (२६औं संस्करण, वि.सं.१९८८) र भानुभक्तको रामायण (७३औं संस्करण, वि.सं.२०१२) मा प्रयोग भएका तस्वीरहरू कुनै कलकत्तामा प्रिन्टिङ भएका छन् भने कुनै एलएम शर्माको, कुनै देवनारायण वर्माको र कुनै गीता प्रेस गोरखपुरको छ ।
p8
 
रवि वर्माले वि.सं. १९५३ मा बनाएको सरस्वतीको र केदारनाथ उपाध्यायको
श्रीमद्भागवत गीता (वि.सं.१९८७) मा प्रयोग भएको देवनारायण वर्माको तस्वीर।

नेपालभित्र प्रेसको ढिलो प्रवेश, ठूलो बजारको अभाव वा लागतमा कमी ल्याउन नसकेकै कारण ‘नेपाली भगवान’हरूले छापिने र प्रचलित हुने मौकै पाएनन् । अहिले त नागपञ्चमीमा रैथाने तवरले बनाइने र टाँसिने नागका आकृतिहरूलाई सस्तो, आकर्षित, रङ्गीन र अनेकौं कथामा आधारित नागहरूले विस्थापित गर्न थालेका छन् । मेकानिकल मास प्रोडक्सनको प्रभावले भगवानका यस्ता रूपहरू यति सस्तो र प्रचलित भइदियो कि अब टायलमा पनि भगवानहरू देखा पर्न थालेका छन् र फोहोर फाल्ने वा दिसा–पिसाब गर्ने ठाउँमा समेत यस्तै भगवानको प्रयोग गरेर शहर सफा राख्ने चलन बढेको छ ।

 

comments powered by Disqus

रमझम