सचेत हुने कुरो

Share:
  
- केदार शर्मा

 

काँकडभिट्टा भन्सारको ढाट छेउबाट पूर्व लागेको एउटा युवकलाई सशस्त्र प्रहरीका जवानले लट्ठीले हान्दा उसको टाउकोको बोरा भुईंमा झ्रेर सडकभरि सुपारी छरियो । सुपारी नेपालबाट भारत निकासी गर्न प्रतिबन्धित वस्तु हो । यसमा पारिका भन्सार र प्रहरीले उति टाउको दुखाएको देखिंदैन, तर हाम्राहरू दह्रै गरी लागेका रहेछन् ।
 
मूल सडकबाट दिउँसै त्यसरी सुपारी ओसार्दा नियन्त्रणका लागि बसेकाहरूलाई रीस उठ्यो, युवकलाई पटापट पिट्न थाले, निकै पिटे । भोलिपल्ट एउटी महिलाले पनि भन्सारमा प्रहरीको कुटाइ खाएको देखियो । हामी छक्क प‍र्‍यौं । नेपालको कुनै पनि कानूनमा कसैलाई कुटेरै ठीक पार्ने व्यवस्था नभएकाले तिनीहरूलाई कानून अनुसार कारबाही गरेको भए हुन्थ्यो जस्तो लाग्यो । तर हामी बोलेनौं । देशका प्रधानमन्त्री नै कानूनको खिल्ली उडाउन लागिपरेका बेला भन्सारमा बसेका प्रहरी जवानहरूबाट के अपेक्षा गर्नू ?
 
यो होस् वा त्यो, सरकारहरू नागरिकलाई अपराधी बनाउने काममा कम्मर कसेर लागेका छन् । यहाँ ‘सरकार’ भनेर राजनीतिका नाममा सब कुरा गर्ने नेतागण, राष्ट्रसेवाका नाममा सबथोक भ्याउने कर्मचारीतन्त्र र सुरक्षाका नाममा जे पनि चलाउने सुरक्षा निकायलाई भनिएको हो । धेरैभन्दा धेरै नागरिक गैरकानूनी काममा मुछिएपछि आफ्नो पाप औंल्याउने कोही हुँदैन भनेर त्यसो गरिएको हो जस्तो लाग्छ ।
 
नेपालबाट गैर–कानूनी रूपमा भारत निकासी भइरहेका चिजमध्ये सुपारी एउटा हो । सबैलाई थाहा छ, नेपाललाई नचाहिने वा चाहिनेभन्दा बढी सुपारी आयात गर्न दिएको नै भारत निकासी गर्नलाई हो । भारतले नपठाइदेऊ भनेको चिज अन्तबाट ल्याई–ल्याई निकासी गर्दा आफ्नै डलर गुम्यो, आफ्नै नागरिक अपराधी भए अनि नेपालमै उत्पादित अलिकति सुपारीको सुरक्षित बजार पनि गुम्यो । विदेशी सुपारी आयात गरेर आफ्नो सुपारी नबिक्ने बनाइदिने व्यक्तिहरूलाई खोजीखोजी कारबाही गर्नुपर्ने होइन ? नेपाली अदुवाले नै बजार नपाएका बेला तिब्बतबाट अदुवा ल्याउन कसले र किन दियो भन्ने कुराको खोजी गर्नुपर्छ कि पर्दैन ? राम्रो काममा बाह्र–बिङ्गा लगाउँदै यता र उता देखाउने सरकारी हाकिमहरू यस्तो कुरामा किन मौन बस्छन् ? भोलि अदुवाको निकासी पनि प्रतिबन्धित भयो भने ‘विश्वको पाँचौं’ अदुवा उत्पादक मुलुकको अवस्था के हुन्छ ?
 
वीरगञ्ज वा अन्य नाकाहरूबाट रक्तचन्दन भित्रिन्छ, थानकोटमा कहिल्यै समातिंदैन । भारतीय प्रहरीले पनि नेपाल भित्रिंदै गरेको रक्तचन्दन वा सीहर्स (सीहर्स भनेको सीहर्स नै हो समुद्री घोडा होइन) उता समाएको समाचार आउँदैन । यसरी काठमाडौं छिचोल्ने त्यस्ता वस्तुहरूको केही परिमाण उत्तरी सीमातिर मात्र बरामद हुन्छन् । उत्तर सजिलो छैन तर अनुमानै गर्न नसकिने गरी गाह्रो पनि छैन ।
 
यता हामी गुट्खा उद्योगमा आत्मनिर्भर मात्र हैन, सम्भवतः संसारमै अब्बल भइसकेका छौं । स्वास्थ्यलाई बेफाइदा गरे पनि, राजस्व खासै नउठे पनि गुट्खा बोक्न हामीकहाँ चार्टर्ड हवाइजहाजहरू आउँछन् । दुई नम्बरी उद्योग–व्यापार हो भन्ने जान्दाजान्दै भारतले प्रतिबन्ध लगाएको परिमाणको उत्पादन आफूकहाँ गर्न दिन्छौं । तर, उसले वा अरू कसैले हाम्रो स्तरबारे केही भन्यो भने धुमधाम वक्तव्यबाजी गरिदिन्छौं । हामी आफ्नो इज्जत जाने काम आफैं गर्छौं र नेपालीको इज्जत नरहेकोमा राँकिन्छौं पनि । सरकार नै आफ्ना नागरिकहरूलाई दुईनम्बरी काम गर्न सजिलो बनाइदिन्छ र मुलुकमा भ्रष्टाचार बढेको गुनासो गर्छ । नेताहरू खराब छन्, कामै नलाग्ने छन् तर तिनीहरू भन्सारमा बसेका छैनन् ! पैठारी नीति बनाउने र कार्यान्वयन गर्ने पनि तिनीहरू होइनन् ।
 
कुरा नागरिकहरूलाई अपराधी बनाउने दीर्घकालीन षडयन्त्रको हो । हामीले कुनै बहानामा आफू त्यो षडयन्त्रको अङ्ग नभइयोस् भन्ने प्रयत्न गर्ने हो । सचेत हुने कुरो भनेको यही त होला नि ! 
 
comments powered by Disqus

रमझम