१७-२३ असोज २०७२ | 4-10 October 2015

नमो नमः दोबारा

Share:
  
- महेश थापा

भानु भट्टराई
महामहिम नमोजीलाई दोबारा नमन्!

कौन बकम्फुस् भोर/सबेर काएँ–काएँ कराएर निंद हराम गर्दैछ नभनिबक्सेला। म उही हल्लूँड हुँ, पिछले बरस हजुरले संविधानसभामा बिन बजाउँदा हाम्रा नेतागणले नागिन डान्स गरेकोमा उदेकिंदै चिठ्ठी लिख्ने। आफूलाई सुपरहिट भुइँफुट्टा ठानेर 'सिक्वेल' लेख्न अधमरिलियौ? भन्दै रिसानी नहोला। मेरो तरफसे हिट/फ्लपमा कौनो दावी नाई। मलाई मालुमै छ कि हजुर यताको प्रमाण–पत्रलाई बाल दिबक्सन्न। हजुरको किमती ट्यामको महत्व सम्झ्ँदै फटाक् से मनको बात कहने अनुमति चाहन्छु।

सोमनाथको भूमिबाट रास्ता नापेर विश्वनाथमा आउनासाथ राजनीतिको मैदान मार्नुभएको नमो सामु म अदनाले परिपाठ लाउनु 'छोटी मुँह, बडी बात' हुने भए'नि पशुपतिस्थलको बातै अलग छ। यहाँ बडेबडे सुरमाहरूले नराम्रो धजङ्गा भेटेको इतिहास छ। गाँठी सानो भए'नि उपमहाद्वीपको जेठो देशका नेपाली 'सर्वजन हिताय/सुखाय' को मन्त्र जप्छन्, कसैको भाइगिरी सहँदैनन्। नमोलाई मालूमै छ– मृत्युसँग डराउँदिन भन्ने मनुवा कि नम्बरी खोकन्दास हो कि त गोर्खा हुनुपर्छ। पहिलो त, अरिङ्गालको गोलोमा नाकाबन्दीको पत्थर नमारेकै अच्छा हुन्थ्यो। ढुटोपीठोको रास्ता छेकेपछि 'रोटीबेटी' को सम्बन्ध अब कति साबूत होला?

हाम्रा नेताहरू साह्रै गोथे भएकाले इन्डो–नेपाल छिप्पट सम्बन्ध एम्बुसमा तेर्सिएको देखियो। नीतिमा कूटता मिसिए'सि बल्ल कूटनीति बन्छ भन्ने जान्दैनन् बराहरू। संविधानसभामा हजुरको अलापको राग नबुझी टेबुल उपर धावा बोले यिनले। परिणाम, ऋषिमनको मोहनीमा लटि्ठएका यिनीहरू इन्तु न चिन्तु बनेका छन्। किन्तु, कमानसे फुर्र भइसकेको तीरको फिर्ती सवारी गराउन नमिल्ने भएबाट हजुरको नाकाबन्दी अब नसबन्दी लायक भइसकेको छ।

नेपालीले रगत नबगाई हिन्दुस्तानले कुनै युद्ध जितेको छैन भन्ने हजुरको कुट वाणीबाट हाम्रा मूर्ख महाराजहरू धेरै हौसिए। अरे बेवकूफों! रगत त शरीरभित्र फोकटमा उब्जिन्छ, लेकिन नूनको लागि समुद्र सुकाउनुपर्छ। यति सरल गणित नजान्नेले व्यापारमा घाटा खान्छ नै। मूरखहरू हाइवेज, आइवेज र ट्रान्सवेजमा रमरमिएको उतिवेलै ऋषिमनमा नेपाललाई हिट गरम्–गरम् लागेको थियो। संविधानको मस्यौदा गर्नुअघि तीमध्ये कुनै पनि 'वेज' बाट दिल्लीदर्शनमा नभेज्दा ड्राइवेजबाट हिट्न सक्ने मुरखहरूले बुझेर मरेनन्।

सार्क स्याटेलाइटबाट लुफ्त उठाउने हजुरको संदेशाको रूप पक्षमै मूर्ख माननीयहरू लोटपोट भए। ऋषिमनमा 'पहिला सिङ्गो दक्षिणएशियालाई भारतीय महानगरको स्याटेलाइट सिटी बनाउने गुरुयोजनामा ठप्पा त लगाऊ, अनि गरौंला उडनखटोलाको सवारी!' भन्ने थियो, मखलेल मुरखहरूले त्यो पनि बुझ्ेनन्। नमोलाई खरिखोटी सुनाउने म भुच्चुकको के जुर्रत, तर प्रभुजीको सन्देश बताउनै परो। हिजो सपनीमा टन्डली मार्दैथें, लैनचौरतिर भगवान पशुपतिनाथ तमाससँग केही ढुँढ्दै हुनुहुन्थ्यो। मैले सोधें, “किन 'मूड अफ', भोलेनाथ?”

“मन्दिरमा चार आना भेटी र चार टुक्रा चन्दन चढाएर चार अर्बको ढिंढोरा पिट्ने पितुङहरूले लास्टै टेन्सन दिए”, शम्भो आगबबूला हुनु भो, “भेटें
भने पड्केहरूलाई यही त्रिशूलले डामिदिन्छु!”

हे नमो– नेतागणको कृपाले हामी त गोलीगठ्ठादेखि खोलेखट्टोसम्म हजुरकै निगाहमा छौं। तर, भोलेनाथलाई कसले सम्झाउने? हजुरलाई उहाँको रीस मालूमै छ। हजुर पडोसी पर्धानमन्त्री मात्र नभई एक बढिया कलाकार पनि भएको नेपालीजनले यतिवेला बुझिलिए। नमोले बतियाउनु भाथ्यो– नेपालसँग बिजुली खरिदेगें, बगिजाने जिनिस चाहिं अन्ठ्याएरै लगेगें! परन्तु, वारिपारिको बानर सेनालाई दशगजामा पन्डाल टाँगेर भतेर खिलाई घोषित रूपमा अघोषित नाकाबन्दी ठेल्दै अड्काउनुभएको हरेक मालका निम्ति हामी पनि खनखन्ती रोकडा गन्ते हैं, मुफ्तमा थोडी लिन्छौं!

जेबमा गाँठ होउन्जेल यो बजारतन्त्रमा बेच्नेहरू घाट कुरिबसेेका हुन्छन् भन्ने पनि जाहेर गर्न चाहन्छु। पानी र जवानी ओरालो लाग्ने नुस्खा पनि बहुत कामको र'छ। पेट्रोलियम पनि 'लिक्विड' भएकाले रक्सौल–अमलेखगंज पाइपलाइनमा चढ्न ठसठस्ती कन्ला। दिल खुश भएको साइतमा चढ्ला, नत्र नचढ्ला। पलभरमै अभरमा पार्ने यो घामट जिनिस ओरालीतिर बगाउने प्रबन्ध ज्यादा भरोसेमन्द होला भन्छु। हजुरको उम्दा कलाकारिताले यसपालि ओस्कार नामक तोहफा चाहिं नेपाललाई मिल्यो। अरूको आशले जुनसुकै वेला सडकछाप बनाउने कुरोको चुरो हाम्रा नेताहरूले बुझे । नेतागणको घुच्चुकमा रहेको बुद्धिलाई ठीक ठाम्मा ल्याइदिनुभएकोमा नमोलाई सहस्र नमन्!

comments powered by Disqus

रमझम