मजलिसको आँखा– २३ बाँकी एउटा लालदरबार

Share:
  
- क.दी.
महाराज वीरशमशेरलाई नेपाली भवन निर्माणमा अंग्रेजी पाराले 'रिनासाँ' व्यक्ति भने हुन्छ, किनभने नेपालमा 'दरबारहरू' बनाउने कुरामा उनलाई कसैले जित्न सकेनन्।

वीरशमशेरले एक दर्जन जति दरबार निर्माण गराए नेपालमा। उपत्यकामा मात्र होइन, वीरगन्जमा समेत उनले एउटा दरबार बनाउन लगाए। गहवामाईको मन्दिर भएका नाताले पहिले 'गहवा' भनिने बस्तीमा आफ्ना भाइ शेरशमशेरलाई बडाहाकिम बनाएर पठाएका थिए, वीरशमशेर महाराजले। शेरशमशेरले त्यो बस्तीलाई साफसुथरा पारेर दाइ महाराजका नामबाट 'वीरगन्ज' नगर बनाइदिए। त्यस कार्यबाट प्रसन्न भएका वीरले त्यहाँ 'एउटा राम्रो दरबार बनाउनू' भनेर भाइलाई उर्दी दिए।

शेरशमशेरलाई त्यति भनेपछि पुगिहाल्यो! उनले पहिले त्यहाँ डेढ–दुई सय रोपनी (बिघा हुनुपर्छ!) जग्गा घेरेर नामी नामी फलफूलका बिरुवाहरू रोपे अनि त्यसको बीचमा एउटा भव्य भवन बनाउने परिकल्पना गरेर दरभङ्गा र पटनाबाट जान्ने–जान्ने मान्छे झिकाएर काममा लगाए। भारततिरका कालिगढहरू भएकाले स्वाभाविक रूपमा उनीहरूले उतैको शैलीमा बनाइदिए त्यो दरबार। माथि छाना नभएको रिङ्गै खुला छत भएको अर्थात् 'मुण्डा' छाना भएको देखेर महाराजले त्यसलाई 'कस्तो मुडुलो दरबार!' भनेछन्। त्यसैबाट त्यसको नाम 'मुडुली दरबार' रहन गएछ। पछि भारततिरबाट वीरगन्ज आएर दुकानहरू खोल्न थालेका व्यापारीहरूले 'मुडुली दरबार' भन्न नजानेर 'मुरली दरबार' भन्न थालेछन् अनि त्यसको नामै त्यही भएको भनिन्छ।

लालदरबार पहिले र अहिले।

गोपेन राई।
आजको हाम्रो विषय 'मुरली दरबार' थिएन, तर महाराज वीरशमशेरको स्थापत्यकलाको बखान गर्न लाग्दा यो यसै भित्रिएछ। त्यसैले अब आजको विषय लालदरबारतिर लागौं। यो दरबार सेतोदरबार जत्तिको भव्य नभए पनि ऊभन्दा विशाल थियो। यसको क्षेत्रफल झ्न्डै ३०० रोपनी थियो रे! वीरशमशेरले यो दरबार आफ्नी कान्छी महारानी तोपकुमारीका लागि बनाउन लगाएका थिए उनै 'भाजुमान' स्थापितलाई लगाएर। महाराजको निधन पनि यसै दरबारमा भएको थियो १९५९ फागुनमा। महाराजको मृत्युपछि महारानी तोपकुमारी आफ्ना ठाहिला छोरा तेजशमशेर अथवा 'सानोहजूर' सँग यसै दरबारमा बसिन्। मुमाको मृत्यु भएपछि लालदरबारका मालिक बनेका सानोहजूर चाँडै नै पक्षाघातले थला परे।

जुद्धशमशेर महाराजले बिरामीकै अवस्थामा सानोहजूरलाई १९९० चैतमा रोलक्रमबाट हटाए। अनि उनी परिवारसहित वीरगञ्ज नजिकै 'रानीगन्ज' मा बस्न गए। २००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि मात्र सानोहजूरका सन्तानहरू काठमाण्डू आएर आफ्नो घर (लालदरबार) मा बस्न पाए। सानोहजूर भने त्यस वेलासम्म मरिसकेका थिए।

सानोहजूरका सन्ततिहरूले लालदरबारलाई अंशबण्डा गरी भाग लगाए। कतिपय जग्गा र घरहरू पछि बनेको (राज–मार्ग) 'किङ्स वे' मा परेर पनि बेपत्ता भए। अनि कति चाहिं बेचिंदै बेचिंदै टुक्राटुक्रा भए। पहिलेको लालदरबारको बचेको भाग र भनूँ भने मुख्य दरबार चाहिं ऐलेसम्म सग्लो छ। त्यो पनि ऐले त बेचिएर होटल 'याक एण्ड यती' भइसकेको छ। भित्री कुरा त थाहा छैन, तर भनिन्छ त्यो दरबार बेच्नुको कारण एक जना विदेशी सज्जन थिए रे!

रसियाली नागरिक बोरिस लिसानोबिच पैलेको रायल होटलबाट अपहेलित भएर निक्लिएपछि पनि नेपालको माया मार्न नसकेर यतै बसिराखेका थिए। उनैले लालदरबारको पश्चिमतिरको एउटा सानो कुना भाडामा लिएर सानोसानो खालको एउटा रेस्ट्राँ खोले 'याक एण्ड यती' भन्ने। कलकत्ताबाट उडाएर ल्याएका माछा मासुको परिकार बनाएर दिने भएकाले त्यो रेस्ट्राँ यहाँका 'सम्भ्रान्त' परिवार र विदेशी रैथानेहरू बीचमा खूब लोकप्रिय भयो, हुँदै गयो। अनि त्यसबाट उत्साहित भएर बोरिसले त्यस नामको होटलै खोल्ने जमर्को गरे।

याक एण्ड यती होटल त खुल्यो, तर के कसरी र कसको पैसाले खुल्यो ती सबै कुरा थाहा छैन। त्यो सार्वजनिक भएन। त्यस होटलको समेत अलि नाम चल्न थालेपछि बोरिस यताबाट पनि बाहिरिए। भग्नहृदय बोरिस त्यसपछि नेपालमा मात्र होइन, यस संसारमै बसेनन्! (एउटा कुरा स्पष्ट पारिराखौं: 'होटल याक एण्ड यती' बारेमा यी माथि भनिएका कुरा आधिकारिक होइनन्, उसवेला चलेका 'उडन्ते' कुरालाई लिपिबद्ध गरिएको हो। वास्तवमा लालदरबार कल्ले, कल्लाई, कैले बेचेर त्यो होटल बन्यो त्यो कुरा जनतालाई थाहा छैन। 'याक एण्ड यती' ले नै त्यो खुलाइदिए बेस हुनेथियो।)

अब टुङ्ग्याऊँ यो लालदरबार प्रकरण यत्ति थप भनेर– 'बिल्डिङ किङ', महाराज वीरशमशेरको स्थापत्यकलाको नाम चिरस्थायी राख्ने ऐले नेपालमा एउटै दरबार बाँकी रह्यो यही लालदरबार। यसमै हामीलाई गौरव छ, यो 'दृश्य सम्पदा' लाई बचाइराखेकोमा।

comments powered by Disqus

रमझम