१७-२३ असोज २०७२ | 4-10 October 2015

संक्रमणकालका सफल समन्वयकर्ता

Share:
  
- शंकर तिवारी
सिन्धुलीको दुम्जाहुँदै विराटनगर पुगेर देशभर छरिएका कोइराला परिवारका एक सदस्य बीपीले सात दशकअघि शुरू गरेको संविधानसभाबाट संविधान बनाउने उद्घोषलाई त्यही परिवारका अर्का सदस्य सुशीलले पूर्णता दिएका छन्।

नेपाली कांग्रेसको घोषणापत्रमार्फत बीपी कोइरालाले भित्र्याएको संविधानसभाको विषय गिरिजाप्रसाद कोइरालाको आँटबाट नेपाली राजनीतिको मूलधारमा स्थापित भयो भने यसलाई सफलतामा टुंग्याएको श्रेय सुशील कोइरालालाई मिल्न पुग्यो। इतिहासमा व्यक्ति निर्णायक हुन्छन्। उनीहरूमार्फत समयले आफ्नो पदचाप छाडेको हुन्छ। सुशील कोइराला हठात् अहिले त्यस्तै बिम्व बन्न पुगेका छन्।

सुशीलको मूल्यांकन गर्दा कोइराला परिवारको विरासत, नेपाली कांग्रेस पार्टीको इतिहास, नेपाली लोकतान्त्रिक आन्दोलनको आरोह–अवरोह र त्यस वरिपरि फले/फुलेको उनको व्यक्तित्व नियाल्नुपर्छ। यसबाहेक, अहिलेका सत्ता साझ्ेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग मिलेको सुशीलको रसायनको पनि चर्चा गर्नै पर्छ।

सुशीलको व्यक्तित्व

सादगीपूर्ण छवि बनाएका सुशीललाई उनी नजिककाले कम आँक्ने गरेको कुरा नौलो होइन। भतिजा निरन्जन कोइरालाले केही पहिले सम्झे अनुसार, एक पटक निरन्जन, उनका भारतीय मित्र र काका सुशीलले बनारसको साँघुरो डेरामा रात बिताउनुपर्‍यो। खानपिनपछि निरन्जन र भारतीय साथी सुते, तर सुशील रातभर थोत्रो टाइपराइटरमा टाइप गरिरहे।

सुशीलको त्यो मिहिनेत देखेर भारतीय मित्रले उनीबारे थप जान्न खोज्दा निरन्जनले पदका हिसाबले यिनी पार्टीका 'फुटवर्कर' हुन् भनेका थिए। त्यसपछि मित्रले निरन्जनलाई भनेका थिए, “यिनलाई मिहिनेतले भविष्यमा ठूलो मानिस बनाउन सक्छ।” नभन्दै, स्वयम् निरन्जनले समेत कम आँक्ने गरेका काका सुशील कालान्तरमा नेपालका ठूला नेता बन्न पुगे।

नेकाको महामन्त्री र उपसभापति बन्दा समेत अन्तर्मुखी स्वभावका सुशीलको व्यक्तित्वमा आभा देखिएको थिएन। पञ्चायतकालीन भूमिगत जीवनमा अभ्यस्त बनेका उनले धेरैपछिसम्म पनि आचरण र जीवन शैलीमा बदलाव ल्याएनन्। गिरिजाप्रसादको निधनपछि महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएपछि उनी नेपाली राजनीतिको मियो बनेको देखिएनन्, जबर्जस्त शक्तिको रूपमा स्थापित भने भए।

प्रधानमन्त्री भएपछि चाहिं उनले सहयोगी छान्ने क्रममा पूरै 'यु–टर्न' लिएर पुराना सहयोगीहरूलाई बाहिरी र नयाँहरूलाई भित्री घेरामा राखे। अमेरिकी गृहयुद्धताका निर्वाचित राष्ट्रपति अब्राहम लिंकनले यही शैली अपनाएका थिए। पार्टीभित्र र बाहिरका विरोधीहरूलाई सँगै राखेर काम गर्ने लिंकनको यो शैलीबारे डोरिस गुडविनले 'टीम अफ राइभल्स' पुस्तकमा राम्रै प्रकाश पारेका छन्। विराटनगरको कोइराला निवासमै हुर्के–बढेका सुशीलले बीपी र गिरिजाप्रसादका सफलता/असफलता मात्र नभई नेपाली राजनीतिका अन्तरंग खेल, दाउपेच तथा षडयन्त्रहरूलाई नजिकबाट नियालेका थिए। विगतमा थोरै जिम्मेवारी लिएर अह्राउनेप्रति वफादार भई काम फत्ते गरेका सुशील कालान्तरमा नेका र दोस्रो संविधानसभाको नेताको बागडोर सम्हाल्न पुगे।

प्रत्यक्ष कार्यकारीमा सुशीलको अनुभवहीनता पार्टी भित्र र बाहिरका समकालीनहरूलाई संविधान निर्माण कार्यमा समाहित हुन सहायकसिद्ध भयो। उनको व्यक्तित्व नै यस्तो बन्यो, जसले नजिक जो भए पनि भएका कामको जस पाउने वातावरण बनायो। उनले संविधान निर्माणका हरेक पक्षमा हस्तक्षेप गरेर आफ्नो व्यक्तित्वको हिस्सा लिने सोच राखेनन्। बरु, संविधान जारी भए इतिहासमा आफ्नो महत्ता सुरक्षित हुनेमा विश्वस्त रहे। त्यही कारण, उनले कसैको चियोचर्चो नगरी जिम्मेवारी दिएका व्यक्तिहरूलाई विश्वास गरेरै संविधान निर्माणको समर सकिदिए।

पूर्व सहमति अनुसार अब सुशील कोइराला राष्ट्रपति बने वा नबने पनि उनले राजनीतिशास्त्री फिलिप नोर्टनले भनेझैं आफ्नो समन्वयी व्यक्तित्वको उपयोग गर्दै सहमति, समझ्दारी र सहकार्यमार्फत इतिहासको हाँकलाई नपत्याउने खोलाले बगाए जसरी सुस्त तर गतिशील शैलीमा पार लगाएरै छाडे।

नेका र मधेश

सुशीलले पार्टी महाधिवेशन गराउन नसकेर नेकालाई वैधानिकताको अल्झ्ोमा फँसाउँदा एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नजिकिए। उनीहरूले नयाँ संविधान जारी गरेरै यो वैधानिकताको विषय टुंग्याउन जोड लगाएपछि अन्तरिम संविधान संशोधन गरेर वैधानिकता लम्ब्याउन चाहेका सुशीललाई उम्किने ठाउँ भएन। र, मधेशका असन्तुष्ट पक्षलाई समेट्ने इच्छा हुँदाहुँदै पनि कांग्रेसले वार्ताको वातावरण बनाउन पाएन। पार्टी स्थापनाकालदेखि नै मधेश कांग्रेसको आधारभूमि भए पनि सुशील मधेशीहरूलाई असन्तुष्ट राख्दै संविधान जारी गर्ने निर्णयमा पुगे। कांग्रेसको लागि यसले 'विजेता नै पीडित हुने' अवस्था ल्याउन सक्नेछ।

नेपालमा वर्चस्व स्थापना गर्ने भारत र चीनको खेलका बीच कांग्रेसले आफ्नो परम्परागत आधार मधेशलाई न्याय दिलाएको अनुभूति गराउन सकेन। कतिसम्म भने, विजय गच्छदारले संविधानमा 'तराई मधेश' शब्द राख्न त्यत्रो जोड गर्दा सुशील मौन बस्न बाध्य भए, जसले अन्ततः नेपाल–भारत सम्बन्धसम्मलाई असहज बनायो। यसमा भारतको जतिसुकै मूढाग्रह भए पनि यो नेपाली कांग्रेस सरकार र सुशीलको कूटनीतिक असफलता पनि हो।

सुशील–केपी रसायन

सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओली दुवै जना आ–आफ्ना पार्टीभित्र परम्परावादी र माओवादी विरोधी छवि बनाएका नेता हुन्। पहिलो संविधानसभा निर्वाचनताका छायाँमा रहेका यी दुवै नेतालाई दोस्रो संविधानसभामा हर्ताकर्ता हुने सुयोग जुर्‍यो। दुवैले प्रधानमन्त्री भइसकेका आ–आफ्ना दलका नेता (शेरबहादुर देउवा र झ्लनाथ खनाल) लाई संसदीय दलको नेतामा पराजित गरेर आफूलाई बलियो बनाए।

दोस्रो संविधानसभाको समीकरणले कांग्रेस र एमालेको सहकार्य सहज बनायो र सहमतिको सातबुँदे 'रोडम्याप' तयार भयो। यसरी संविधान जारी नगरी सरकार नछाड्ने सुशीलको हठ र कमजोर स्वास्थ्य अवस्थाका केपी ओलीको प्रधानमन्त्री बन्ने हतारोका कारण संविधान जारी हुने अविश्वासलाई असत्य सावित गरिदियो। बागडोर लिएका सुशील केपीको विशेष सक्रियतामा बेखुशी भएनन् अनि एमाओवादी अध्यक्ष दाहाललाई समेत विश्वासमा लिन सफल भए, वाक्पटु केपी।

गत माघमा एमाओवादीले संविधानसभामा तोडफोड गरेपछि बिथोलिएको संविधान निर्माण प्रक्रियालाई वैशाखको महाभूकम्पले सुचारु बनायो। तर, दुईतिहाइ बहुमतको तागतबाट संविधान जारी गर्ने नाममा मधेशकेन्द्रित दलहरूलाई नसमेट्नेमा सुशील र केपी दुवै अग्रसर भए। यो अदूरदर्शिताका कारण संविधानमार्फत टुंगोमा पुग्नुपर्ने मधेशका मुद्दाहरू अनिश्चयतिर धकेलिदिएका छन्। र, संविधानप्रतिको स्वामित्वभाव खुम्चिएको छ। संविधान ल्याएको ऐतिहासिक सफलतासँगै यो असफलताका लागि पनि सुशीलको सम्झ्ना हुनेछ।

comments powered by Disqus

रमझम