१७-२३ असोज २०७२ | 4-10 October 2015

सुनसान अन्नपूर्ण क्षेत्र

Share:
  
महाभूकम्प र मधेश आन्दोलनको लगातारको धक्काले मुलुकको पर्यटन व्यवसाय चौपट भएको छ।

युवराज श्रेष्ठ
अन्नपूर्ण क्षेत्रमा पर्ने 'सार्क भिलेज' अर्थात् लमजुङको रमणीय घलेगाउँ।
पर्यटक व्यवसायीहरूको सपना थियो, १२ वैशाखको महाभूकम्पबाट तहसनहस बनेको पर्यटनको पहिलो सिजनको क्षतिलाई थोरै भए पनि दोस्रो सिजन (असोज–मंसीर) ले पुर्नेछ। तर, दुई महीनादेखि तराई–मधेशमा जारी आन्दोलन र भारतको नाकाबन्दीले उनीहरूको सपना तुहाइदिएको छ।

पर्वतारोहण र साहसिक पदयात्राका लागि विश्वमै विख्यात अन्नपूर्ण क्षेत्र यतिवेला सुनसानप्रायः छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो वर्षको २९ सेप्टेम्बरसम्म अन्नपूर्ण क्षेत्रमा ४० हजार ५५० पर्यटकले पाइला टेकेका छन्। जबकि गत वर्ष यो संख्या एक लाख २९ हजार ९६४ थियो। (हे. तालिका)
जिल्लामा यस्तो दिन पनि देखियो, विश्व पर्यटन दिवस (१० असोज) मनाउन पर्यटक सिला खोजेजस्तै खोज्नुपर्‍यो। बल्लतल्ल बेसीशहरमा दुई जर्मन पर्यटक फ्लोरिन बाउम र रेगिना बाउम फेला परे। आयोजकले उनीहरूलाई नै स्वागत गरी दिवस मनाए। “अघिल्लो वर्ष यो सिजनमा पर्यटक व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो, अहिले त देख्नै मुश्किल छ”, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ भन्छन्।

अन्नपूर्ण क्षेत्रमै पर्ने मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको विरेठाँटी, मुस्ताङको जोमसोम र उपल्लो मुस्ताङ लोमान्थाङको अवस्था पनि यस्तै छ। “बिल्कुलै उत्साह छैन”, एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामा भन्छन्। महाभूकम्पले पूरै नेपाल सकिएजस्तै गरी कतिपय सञ्चारमाध्यमले छरेका समाचारले धेरै पर्यटक नेपाल आएनन्। लगत्तैको 'नेपाल सुरक्षित छ' अभियानले भने विस्तारै सकारात्मक सन्देश फैलाइरहेको थियो। “यो अभियानले प्रभाव थालेकै वेला तराई–मधेशमा आन्दोलन चर्कियो। हाम्रो परिश्रम माटोमै मिल्यो”, लामाको दुःखेसो छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने सार्क राष्ट्रका पर्यटकलाई रु.२०० र अन्यलाई रु.२ हजार प्रवेश शुल्क लिने गरिएको छ। यो शुल्कबाटै अन्नपूर्ण क्षेत्रको पर्यटन विकास, संरक्षण, जीविकोपार्जनका अभियान चलाइएको छ। “यस वर्ष दस्तुर कम उठ्ने भएकाले स्थानीयस्तरमा कार्यक्रम चलाउन समस्या पर्ने देखिएको छ”, एक्याप प्रधान कार्यालय पोखराका निर्देशक लालप्रसाद गुरुङ भन्छन्।

भारतकै भर

स्थलमार्ग भएर आउने अधिकांश अन्तर्राष्ट्रिय पर्यटक भारत भएरै हो। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अनुसार अहिले हवाई मार्ग भएर मात्र पर्यटकहरू आइरहेका छन्। “भारत घुमेर नेपाल जान्छु भन्ने ठूलो संख्याका पर्यटकलाई आन्दोलन र भारतको नाकाबन्दीले रोकेको छ”, बेसीशहरस्थित पर्यटक चेकजाँच केन्द्रका नन्दराज भट्ट भन्छन्। व्यवसायीहरूले भारत बाहेक अर्को मुलुकका पर्यटकलाई हवाई मार्गबाट मात्र नेपाल भित्र्याउने नीति बनाउने हो भने यस्तो समस्या नपर्ने दाबी गरेका छन्।

पोखराका पर्यटन व्यवसायीको 'चलिए पोखरा' अभियानबाट आकर्षित धेरै भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रभित्रकै मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कन्थे। तर, यो वर्ष भारतीय पर्यटक पनि स्वाट्टै घटेको लेकसाइड, पोखराका पर्यटन व्यवसायी नवराज साँखी बताउँछन्।

मंसीरपछि हिउँसँगै चिसो बढ्ने हुनाले पर्यटकहरू पदयात्रा तथा पर्वतारोहणमा जान सक्दैनन्। तर, जारी आन्दोलनको निकास तत्कालै निकाल्ने हो भने अझै पनि केही पर्यटकको आशा गर्न सकिने बेसीशहरस्थित पर्यटन व्यवसायी भेषबहादुर पौडेलको विश्वास छ।

युवराज श्रेष्ठ, लमजुङ

comments powered by Disqus

रमझम