१७-२३ असोज २०७२ | 4-10 October 2015

भित्ताको सुरक्षा

Share:
  
भित्ता बलियो बनाउन बीम अनिवार्य छ। बलियो बीमका लागि गुणस्तरीय सिमेन्ट र ईंटको संयोजन नभई हुँदैन।

भूकम्पको जोखिम बेवास्ता गरी घर बनाउँदा कस्तो परिणति भोग्नुपर्छ भन्ने पाठ १२ वैशाखले सिकाएर गएको छ। भत्किएका घरका भित्ताले थिचेर धेरैको ज्यान गयो। कैयौं घाइते भए। नभत्किएका अधिकांश घरका भित्तामा पनि ठाडो र तेर्सो चिरा पर्‍यो। ज्यान पनि जाने र करोडौंको लगानीमा बनाएको घर क्षणभरमै स्वाहा हुने यो विपत्ति कुनै पनि वेला दोहोरिन सक्छ।

भूकम्पले हल्लाउँदा घरका अन्य संरचनाभन्दा पहिले भित्तो भत्किएको पाइन्छ। यसो हुनुको मुख्य कारण सहायक बीम नराख्नाले हो।

झयालको मुनि सिलबीम र माथि लिन्टेल बीम राख्दा त्यसले भूकम्पको कम्पन थेग्न ठूलो मद्दत पुर्‍याउँछ र भित्तो भत्किन र चर्किन दिंदैन। तर, हाम्रा अधिकांश घरमा यस्तो गरिएको पाइँदैन।

ब्रिज सिमेन्ट उद्योगका स्ट्रक्चरल इन्जिनियर रविकुमार रौनियार भित्तो दह्रो बनाउन सिल र लिन्टेल बीम राख्नै पर्छ भन्ने चेतना फैलाउनुपर्ने बताउँछन्। “खर्च बढाउँछ भन्ने सोच्नुहुँदैन, सुरक्षाका लागि बनाइने घर बलियो हुनै पर्छ”, उनी भन्छन्।

अहिले पनि गाउँका काँचो ईंटा वा माटोको गारो भएका घरहरूमा काठको नस हाल्ने चलन छ। त्यो भनेको एकप्रकारको लिन्टेल बीम नै हो। जसले भित्तो बलियो बनाउँछ। भूकम्पका वेला गाउँका यस्ता घरमा कमै क्षति पुगेको छ। अचेल सिमेन्ट, ईंटा र जाली सहजै पाइने भएकाले माटो वा ढुंगाका परम्परागत घरहरूमा पनि चारैतिर बीम राख्नुपर्छ।

विश्व ब्यांकको परियोजनामा कार्यरत स्ट्रक्चरल इन्जिनियर प्रमोद न्यौपाने भूकम्पपछि थुपै्र घरका फ्रेम उस्तै भए पनि भित्ताहरू भत्किएको बताउँछन्। “फ्रेम बलियो भए सबै ठीक हुन्छ भन्ने गलत सोचले काम गर्‍यो”, न्यौपाने भन्छन्। झयाल, ढोका नभएका भित्तामा र ठूला पर्खालमा पनि बीम आवश्यक हुने उनको तर्क छ।

कहाँ, कसरी?

घरको गारो कम्तीमा पनि नौ इन्चको हुनुपर्छ। एउटा ईंटा (४ इन्च) को गारो बीचमा न बीम राख्न सजिलो हुन्छ, न बलियो नै।

बजारमा उपलब्ध सबै ईंटा गुणस्तरीय छैनन्। राम्रोसँग नपाकेका गुणस्तरहीन ईंटाले भित्तो कमजोर बनाउँछ। त्यसैले विज्ञहरू ईंटाको गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्।

ईंटा जोड्ने मसला राख्दा सबैतिर बराबर मिलाउनुपर्छ। कतै मोटो र कतै पातलो मसला राख्दा सतह नमिलेर भित्ता चर्किने खतरा हुन्छ। मसलाको मिश्रणमा सिमेन्टको गुणस्तरमा विचार नपुर्‍याई हुँदैन। पिलर र बीम बनाउने तर सिमेन्टमा ख्याल नगर्नु भनेको आत्मघाती कदम हो।

कतिपय घर बनाउँदा पिलरसँगै गारो पनि उठाउने र माथिबाट बीम पनि राख्ने गरेको पाइन्छ। तर, पिलर र बीम सँगसँगै उठाइएका घरका भित्ताहरू पनि भूकम्पका वेला कमजोर देखिएको इन्जिनियर न्यौपाने बताउँछन्। उनी घरको फ्रेम तयार भइसकेपछि मात्रै भित्ता उठाउनुपर्नेमा जोड दिन्छन्। सिल र लिन्टेल बीमलाई पिलरसँग जोड्नका लागि भने पिलर उठाउने वेला नै गाँस्ने ठाउँ बनाइराख्नुपर्छ। घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्ने हो भने यस्ता अनेकन् जोखिमबाट सहजै बच्न सकिन्छ।

संजीव शर्मा

comments powered by Disqus

रमझम