१७-२३ असोज २०७२ | 4-10 October 2015

झटपट झोला

Share:
  

१२ वैशाखको महाभूकम्पपछि लगभग एक महीनासम्म कलंकी, दुर्गानगर कोलोनीकी प्रिया लामा (२३) सँग जहाँ जाँदा पनि काँधमा झोला हुन्थ्यो। “मम्मीको औषधि, टर्च लाइट, पानीको बोतल, चाउचाउ, सर्टिफिकेट, पैसा, एटीएम कार्ड, मोबाइल चार्जर र एयरफोन राखेकी थिएँ”, उनी भन्छिन्, “घर ढलिहाल्यो भने पनि अत्यावश्यक सामग्री मसँगै सुरक्षित होऊन् भनेर त्यसो गरेकी थिएँ।”

'गो ब्याग' वा झटपट झोलाबारे थाहा नहुँदै प्रियाले त्यसको प्रयोग गरेकी थिइन्। परकम्प आयो कि उनी ब्याग टिपेर चउरतिर दौडिहाल्थिन्। “भाइलाई समेत झोला बोक्ने टे्रनिङ दिएकी थिएँ”, प्रिया भन्छिन्। विपत्तिमा 'गो ब्याग' को उपयोगिता बुझेकी उनले अहिले पनि ब्याग जस्ताको तस्तै राखेकी छन्।

भूकम्पलगायतका विपत्मा सबैले प्रियाले जस्तै 'झटपट झोला' तयार पारिराख्नुपर्छ। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का विपत् पूर्वतयारी एवं आकस्मिक प्रतिक्रिया विभागका निर्देशक गणेशकुमार जिमी भन्छन्, “१२ वैशाखको भूकम्पअघि मानिसमा झोलाबारे खासै वास्ता थिएन। तर, ७.८ म्याग्निच्यूडको धक्काले धेरैलाई झस्काइदियो।” एनसेटमा झटपट झोलाबारे जानकारी लिनेको संख्या बढिरहेको भन्दै उनी संस्थाकै पहलमा दुई/तीन हजार वटा झोला बाँडेको बताउँछन्।

के के राख्ने?

हामीमध्ये धेरैमा 'भूकम्प गइहाल्यो, फेरि अर्को झट्का कहिले आउँछ कहिले' भन्दै पूर्वतयारीमा ध्यान नदिने प्रवृत्ति छ। तर, विपत्ति भनेको जुनसुकै वेला आउन सक्छ। हालैको विपत्तिबाट पाठ सिकेर झटपट झोला तयार गर्न विलम्ब गर्नुहुँदैन।

झटपट झोलामा आफूलाई नभई नहुने सामग्री राख्नुपर्छ। एनसेटका जिमी यस्तो झोलामा नागरिकता, स्कूल/कलेजका प्रमाणपत्र, घर–जग्गाका कागजपत्र, औषधि, टर्चलाइट, रेडियो, नबिग्रिने खानेकुरा, केही लुगाफाटा राख्न सल्लाह दिन्छन्। आफूलाई आपत् परेका वेला अरुलाई जानकारी दिन झोलामा सिट्ठी पनि राख्न सकिन्छ। रेडियो सेटले प्रकोपबारे सञ्चारमाध्यमबाट सत्य–तथ्य जानकारी लिन मद्दत गर्छ। झोलालाई बच्चाबच्चीले नभेट्ने ठाउँमा जतनसाथ राख्नुपर्छ। “ती सामान तीन–चार महीनाको अन्तरालमा फेरबदल गरिरहनुपर्छ”, एनसेटका जिमी भन्छन्, “यसो गर्नाले विपत्मा दुई, तीन दिनसम्म घरबाहिरै गुजारा गर्न सकिन्छ।”

घरका सबै सदस्यले आ–आफ्नै झटपट झोला बनाउनु राम्रो हो। यो सम्भव नभए एक परिवारले कम्तीमा एउटा झोला तयारी अवस्थामा राख्नैपर्छ।

भूकम्पले नयाँबानेश्वरकी सविता क्षेत्री (२७) लाई पनि झटपट झोलाको महत्व बुझायो। उनी भन्छिन्, “जमीन हल्लिनासाथ छोरो बोकेर बारीमा कुदिहालें। सामान केही थिएन। पालमै भेटिएका एक जनाले झटपट झोला बोकेका रहेछन्। उनीसँग पानी मागेर छोरालाई खुवाएँ।” त्यसपछि भने आफूले झटपट झोला तयार पारेको उनी बताउँछिन्।

सजना बराल

comments powered by Disqus

रमझम