१७-२३ असोज २०७२ | 4-10 October 2015

ब्याट्री बचाउने उपाय

Share:
  
हरेक ब्याट्रीको आयु हुन्छ। थोरै मात्र सावधानी अपनाउने हो भने ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ।

मोबाइल पावर ब्यांक।
स्मार्टफोन, ट्याब्लेट या ल्यापटपका नयाँ–नयाँ विशेषताले आकर्षित गर्ने प्रयोगकर्तालाई सधैंको पिरलो हो, ब्याट्री। चलाउने मात्रा, ब्याट्री क्षमता र लोडसेडिङ समस्याका कारण पनि ब्याट्री खपतबारे हामी चासो राख्न बाध्य छौं। तर, हाम्रा कतिपय आनीबानी थोरै मात्र बदल्ने हो भने ब्याट्रीको आयु लम्बिन सक्छ।

कसरी?

ब्याट्रीको चार्ज सिध्याउने प्रमुख कुराहरू हुन्; नेटवर्क, स्त्रि्कनको उज्यालोपना, एप्लिकेशनले प्रयोग गर्ने र्‍याम र सीपीयुको हिस्सा। त्यसो त ती डिभाइस चलाउने प्रवृत्ति पनि कम जिम्मेवार छैन। फोन, ट्याब्लेट, ल्यापटप सबैमा नेटवर्क हुन्छन्। फोन या ट्याब्लेटमा भएका मोबाइल नेटवर्क, वाईफाई, ब्लुटुथ र टुजी/थ्रीजी/फोरजी (एलटीई) जस्ता मोबाइल डाटा प्रविधि, पोर्टेबल हटस्पट, टिथरिङ्ग लगायतका सुविधा नेटवर्कसँग सम्बन्धित हुन्छन्। त्यसैले जति धेरै समय नेटवर्क प्रयोग गर्छौं, त्यही मात्रामा ब्याट्रीको चार्ज सकिन्छ। यीमध्ये पनि मोबाइल डाटा, पोर्टेबल हटस्पट, वाईफाईले बढी नै ब्याट्री खपत गर्छन्। ल्यापटपमा पनि वाईफाई, ब्लुटुथ, हटस्पटले ब्याट्री चाँडै सिध्याउँछन्। त्यसैले नचाहिएका वेला नेटवर्क विकल्प (अप्सन) हरू बन्द गर्नुपर्छ।

फोनको थ्रीजी मोबाइल डाटा या वाईफाई बन्द गर्न बिर्संदा वा जानेर अन मोडमा राख्दा पनि चार्ज थाहा नपाएरै कम भइसकेको हुन्छ। हटस्पट अन छ भने त जस्तोसुकै स्मार्टफोनको ब्याट्री पनि १–२ घण्टामै सकिन्छ। मोबाइल फोनले बलियो नेटवर्क सर्च गरिरहेको वेला पनि ब्याट्री खपत भइरहेको हुन्छ। साथै, नेटवर्क विकल्प धेरैपटक खोल्ने र बन्द गर्दा पनि चार्ज कम हुँदै जान्छ।

हामीमध्ये धेरैले अँध्यारो वा पर्याप्त प्रकाश भएको ठाउँमा पनि स्त्रि्कनलाई उज्यालो मोडमा छाडेका हुन सक्छौं। यसको साटो प्रकाशको मात्रा अनुसार स्त्रि्कनको उज्यालोपन तलमाथि गरेमा पनि ब्याट्री टिकाउन सकिन्छ। प्रत्येक मोबाइल र ल्यापटपमा भएको अटो एड्जस्टेबल ब्राइटनेस् अप्सन यसमा विशेष सहयोगी हुनसक्छ।

ब्याट्रीको चार्ज सिध्याउने अर्को माध्यम भनेको र्‍याम र सीपीयू बढी प्रयोग गर्ने एप्लिकेशन पनि हुन्, जसमा गेम, ब्याकग्राउण्ड एप्लिकेशन (फोन नचलाउँदा पनि चलिरहने) सामाजिक संजाल र फोटो, भिडियो, अडियो सम्पादन जस्ता एप्लिकेशनहरू पर्छन्।

यी बाहेक ग्याजेटलाई धेरैपटक खोल्ने र बन्द गर्ने, चिसो ठाउँमा राख्ने, चार्ज भइसक्दा पनि बत्तीमा जोडिराख्ने, पटकपटक स्ट्याण्ड बाई टाइम अप्सन प्रयोग गर्ने, एचडी भिडियो हेर्ने, ठूला आकारका फाइल डाउनलोड गर्दा पनि ब्याट्रीको चार्ज घटाउँछ। यस्ता आनीबानीमा परिवर्तनसँगै ब्याट्रीको चार्ज बढ्छ।

ब्याट्रीको आयु

ब्याट्री ब्याकअप, त्यो ब्याट्रीको उमेरसँग पनि सम्बन्धित हुन्छ। साधारणतया मोबाइल र ल्यापटपको ब्याट्री तीन–चार वर्षमा फेर्नुपर्ने हुनसक्छ। तर, केही निश्चित तरीका अपनाउने हो भने ब्याट्रीको आयु बढाउन सकिन्छ।

हरेक ब्याट्रीको आयु हुन्छ। त्यो आयुलाई साइकल (कतिपटक पूर्ण रुपमा चार्ज गरियो र कतिपटकपूर्ण रुपमा चार्ज सिध्याइयो भन्ने चक्र) मा नापिन्छ। फोन वा ल्यापटप पूरै चार्ज भइसक्दा पनि बत्तीमा जोडिराख्नु भनेको ब्याट्रीको आयु घटाउनु हो। त्यसैगरी १०–२० प्रतिशत मात्रै ब्याट्री चार्ज सकिंदा समेत चार्जमा जोडिहाल्ने बानीले पनि ब्याट्रीको आयु कम गर्छ। वेला वेलामा (सिद्धान्ततः प्रत्येक एक महीनामा) साइकल पूरा हुने गरी ब्याट्री डिस्चार्ज (पूरै चार्ज सिध्याएर ग्याजेट अफ हुने गरी चलाउने) गर्नुले ब्याट्रीको आयु केही थपिन्छ।

पावर ब्यांक

लामो समय बत्ती नभएको ठाउँमा जानुपर्ने या ब्याट्री छिटोछिटो चार्ज गरिरहनुपर्ने अवस्था आइपरे, पावर ब्यांक अर्थात् ब्याट्रीजडित र पहिले नै चार्ज गरेर राख्नुपर्ने चार्जर उपयोगी हुनसक्छ। यस्ता पावर ब्यांक एकपटक पूरै चार्ज गरेपछि स्मार्टफोनका लागि चार–पाँच पटकसम्म रिचार्ज गर्न मिल्छ। साधारणतया बजारमा तीन–चार हजारदेखि १५–२० हजार एमएएच (मिलीएम्प आवर वा मिलीएम्पियर आवर) सम्मको क्षमताका पावर ब्यांक उपलब्ध छ। यसका निम्ति रु.६–७ सयदेखि रु.२–३ हजारसम्म खर्च हुन्छ। तर, यस्ता पावर ब्यांक नक्कली परेमा चाहिं उल्टै ब्याट्रीको क्षमता घटाउनेमा होश पुर्‍याउनुपर्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम