आमा पात्रहरू आफ्ना शिशु बोकेर रमाउँदै मञ्चतिर आउँछन्। तर, केहीक्षणमै उनीहरूको अनुहारमा बादल देखापर्छ। आफ्ना बच्चा बोल्न र सुन्न नसक्ने भएको चाल पाएपछि उनीहरू आत्तिन्छन्।
आमाहरूको प्रयासले बोल्न र सुन्न नसक्ने बच्चा भविष्यमा सफल साहित्यकार, समाजसेवी, वैैज्ञानिक र इन्जिनियर बन्छन्। १४ असोजमा ललितपुर, स्टाफ कलेजको प्रेक्षालयमा तिनै बच्चा हुर्काउँदाको संघर्षमा आधारित सांकेतिक नाटक 'हामी' देखाइएको थियो। नाटकको लेखन, परिकल्पना तथा निर्देशन कृष्ण शाह यात्रीले गरेका हुन्। नाटकमा अभिनय गरेका अजय कर्ण, वर्षा गुरुङ, समीक्षा सापकोटा, वृन्दा राना, सिर्जना तामाङ, सविना महर्जन, विमल लामिछाने, प्रेरणा लामा, विनिता पोखरेल, रुथ रोका, कृष्ण गुभाजु, विवेक भुजेल, इङ्क राना, श्यामप्रकाश चौधरी, शिवराम श्रेष्ठ, सम्झना अधिकारी, सुवास काफ्ले, ईश्वर सिंहलगायत दुई दर्जन कलाकार सबै श्रवणविहीन हुन्।
शाहले यसअघि तीन दर्जन संकेत नाटक लेखन र निर्देशन गरिसकेका छन्। १५ वर्षअघि मञ्चन गरिएको 'मान्छे/मान्छेहरू' लाई बहिरा संघले नेपाली सांकेतिक भाषाको पहिलो नाटक घोषणा गरेको थियो।
संगीतकर्मीका कथा
'विस्तारै विस्तारै' बोलको गीत गाउँदै स्टेजमा आएका रोहितले १९७४ एडीसँग आबद्ध हुन पाउँदा गौरव लागेको बताउँदै आर्थिक कठिनाइका कथा दर्शकलाई बाँडे। १९७४ एडी ब्याण्डकै गितारवादक मनोज केसीले चिकित्सा क्षेत्रमा लाग्ने उद्देश्य रहे पनि संगीतको नशा चढेपछि यतै मोडिएको बताए। हालै दिवंगत आफ्नी श्रीमतीको सम्झनामा उनले रोहितजोनको सहयोगमा 'परेलीमा लुकाइराख' बोलको गीत सुनाए।
चर्चित मेटल ब्यान्ड 'अन्डरसाइड' का गायक अभिषेकले अन्डरग्राउन्ड ब्यान्डका रूपमा काम गर्दै अन्तर्राष्ट्रिय स्टेजसम्म पुग्दाको पृष्ठभूमि सुनाए। “अनेक ब्यान्डसँग काम गर्दा थुपै्र उतारचढाव सहियो”, उनले भने, “अन्डरसाइड फर्म भएपछि चाहिं पछाडि फर्किनु परेन।” सेरिजका अन्तिम वक्ता दिवेशले सन् १९९६ मा 'कववेब' ब्यान्ड खोल्दाका वेला र अहिलेका सांगीतिक वातावरणबारे आफ्ना अनुभव साटे। अरूको कथा सुनेर प्रेरणा जागोस् भन्ने हेतुले श्रृंखलाको आयोजना गरेको स्टोरी टेलर्सका संस्थापक प्रशान्त मानन्धर बताउँछन्।
विकासका लागि झण्डोत्तोलन
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को एक टोलीले दिगो विकासका लक्ष्यहरू पूरा गर्नका लागि विश्वको ध्यान आकृष्ट गर्ने उद्देश्यले गत साता गोरखाको केरौंजामा झण्डा फहराउने कार्यक्रम आयोजना गरेको थियो। पर्वतारोही निम्डोमा शेर्पाले यसको नेतृत्व गरेकी थिइन्। निम्डोमाका अनुसार न्यूयोर्कमा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय दिगो विकास सम्मेलनको पूर्वसन्ध्यामा आयोजित झण्डोत्तोलन कार्यक्रमले निकै अर्थ राख्नेछ।
दोलखा, सिमीगाउँकी निम्डोमाले दिगो विकासका १७ वटा लक्ष्यमध्ये लक्ष्य दुईका लागि झ्ाण्डा फहराइसकेकी छन्। “हामीले हिंडेको लामो र कठिन पदमार्गले भोकमरी अन्त्यमा टेवा पुर्याउनेछ”, उनी भन्छिन्, “हिमाली क्षेत्रमा मैले यो झ्ाण्डा नेपालका लागि, डब्लुएफपी र विश्वका लागि फहराएकी हुँ।”
भोकमरी र चरम गरीबी अन्त्य गर्ने, असमानता र अन्याय हटाउने, जलवायु परिवर्तनलाई व्यवस्थापन गर्ने उद्देश्यले डब्लुएफपीले वर्षेनि विश्वभर १७ वटा झण्डोत्तोलन कार्यक्रम गर्दै आएको छ।