१७-२३ असोज २०७२ | 4-10 October 2015

यस्ता पो प्रहरी

Share:
  
प्रहरी बनेर देशको सेवा गर्ने सपना बोकेका वीरेन्द्रसिंह जोहारीको सपना साकार भएको छ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला, दार्चुलामा जन्मिएका वीरेन्द्रसिंह जोहारीलाई सानैदेखि प्रहरी बन्ने रहर थियो। प्रहरीले लगाउने नीलो पोशाकले समेत उनलाई लोभ्याउँथ्यो। नभन्दै, २०५८ सालमा उनी प्रहरी सहायक निरीक्षक भइछाडे। त्यसको चार वर्षपछि उनी प्रहरी नायब निरीक्षकमा बढुवा भए। “म र मेरो परिवारका लागि त्यो ज्यादै खुशीको क्षण थियो”, उनी भन्छन्, “मैले सधैं देशको सेवा गर्ने सपना देखेको थिएँ।”

देशको सेवा गर्ने यही उत्कट इच्छाले जोहारीलाई यस वर्षको 'डब्लुडब्लुएफ अब्राहम कन्जरभेसन अवार्ड' दिलाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का तर्फबाट महाकाली क्षेत्रीय अनुसन्धान समूह प्रमुख उनले नेपाल–भारत सीमा तस्करी रोक्न महत्वपूर्ण कार्य गरेको आधारमा विश्व वन्यजन्तु कोष, नेपालले जोहारीलाई सम्मानित गरेको हो।

“नेपालमा वन्यजन्तु तस्करी घट्दो भए पनि भारतमा बढिरहेकै छ”, जोहारी भन्छन्, “त्यसले असर गर्ने नै नेपाललाई हो।” भारतमा मारिएका जनावरका अंग नेपालको बाटोहुँदै चीन पुर्‍याइने गरेको उनी बताउँछन्।

सीआईबीमा छँदा जोहारीले १२ वटा अवैध–शिकार विरुद्धको अप्रेसनमा नेतृत्व गरेका थिए। त्यो अवधिमा ३० जना शिकारी पक्राउ परे भने चितुवाको छाला र ४.९ केजी बाघको हड्डी, ६ जोडी रातो पान्डाको छाला र गैंडाका दुइटा सिङसँगै वन्यजन्तुका अन्य अंग पनि बरामद गरिएको थियो। “सीमा–नाकाका अपराधीलाई पक्रन सजिलो छैन”, उनी भन्छन्, “अपराधीको ठूलो जालो हुन्छ। कहिलेकाहीं एउटा व्यक्तिलाई समाते पनि बाँकीले आफ्नो काम गरिरहेका हुन्छन्।”

आफूले अँगालेको पेशा जोखिमपूर्ण छ भन्ने जोहारीलाई राम्ररी थाहा छ। बारम्बार धम्की समेत सहेका छन्। उनी आवरण बदल्दै अपराध र अपराधीको सञ्जाल पत्ता लगाउन हिंड्छन्।

इमानदारी र लगनले वन्यजन्तु अपराधसम्बन्धी काम गर्नेहरूमाझ जोहारी चर्चित छन्। जिल्ला वन कार्यालय, कञ्चनपुर र नेपाल प्रहरीले पनि उनलाई पुरस्कृत गरेको छ।

सहिना श्रेष्ठ

comments powered by Disqus

रमझम