२४-३० असोज २०७२ | 11-17 October 2015

बन्करगिरी भर्सेज गान्धीगिरी

Share:
  
- महेश थापा
गान्धी जयन्तीको छेकोमा दुनियाँलेे बापूजीलाई सम्झिरहेको वेला नेपालमा भने उही भारतबाट बन्करगिरी आइलागेको छ।

भानु भट्टराई
अहिंसाका पुजारीहरूमाथि जाइकटक गर्न तम्सने कौन औतारी पैदा भयो? भन्नुहोला भनेर अग्रिम अर्जी हाल्छु– म घनघोर गान्धीवादी हुँ। हजुरको पत्यारग्रन्थिमा कैफियतको बक्यौता छ भने पनि पयठ लाएर भन्छु– पछिल्ला दिनहरूमा मभित्रको गान्धीवाद घनघोर कित्तामा प्रविष्ट भइसकेको स्थिति हो। अझ् मेरो मनभित्र दुम्चिएर बसेको गान्धीवादको गुरुत्वलाई पछिल्लो समय आइलागेको परिस्थितिले थाम्नै नसक्ने गरी विस्तारित बनाइदिएको अवस्था हो। नपत्याए खाँचैसित्ति, तर एउटा गान्धीवादी सत्य बक्नबाट रत्तिभर नडग्ने हुनाले म यो कुरा कसैले नसोधी भनिरहेको छु।

तपाईं 'उसो'भे बापूजीसँग के समस्या पर्‍यो त, बिरादर?' भनिरहनुभएको होला, मनमनै। त्यसको उत्तरमा म भन्छु–बन्कर हजुर, बन्कर! गान्धीजीले छाडा छाडेका आधा दर्जन बन्करले नाकामा दम गराए।

“अन्टसन्ट बक्छौ, बेसोमती?” अब तपाईं खुलेआम पड्कनु होला– “गान्धीजीका बन्दर तीनथान मात्र होइनन्?”

यो प्रश्नलाई म झ्ड्केलो ठान्दिनँ, आगे सुन्नुस्– झूरपटाँस जिनिस नहेर्ने, त्यसबारे नबोल्ने र त्यसलाई नसुन्ने गान्धीजीका बन्दर तीन वटै हुन्। बापूजीको सान्निध्यमा रहुन्जेल थान्कोमा बसेका ती बन्दर उहाँको शेषपछि पण्डितजीको पुलपुल्याइमा छुल्याहा भएर गए। बन्दरहरू यति बिग्डैल भएर गए कि तिनको उत्पातले त्यहाँको शासन/प्रशासन भरिभङ्ग पारेको दुखडा भारतीय मित्रजन सुनाउँछन्। यताबाट हामीले पञ्चशीलको सिद्धान्त अनुसार, छिमेकीको त्यो दर्दमा सदासयता र सहानुभूति दुइटै राखेको पनि उनीहरू सम्झ्न्छन्।

अझ् सुन्नुस्– हामीले त्यो किन गर्‍यौं भने, हाम्रो गच्छेले सक्ने त्यही थियो। नत्र त हामी पनि पञ्चशीलको पाँचै धारालाई रिट्ठो नबिराई पञ्चअश्शील बनाएर पडोसीलाई चेप्ने, छेक्ने, धुत्ने, लुट्ने र गिजोल्थ्यौं होला। मौैका पर्नासाथ उनका करेसामा विष्ट्याएर सकेसम्म दुर्गन्धित बनाएर हत्तु पार्दा हुम्, जुन अहिले उताबाट भएर मरिएको छ। उनको सीमा अरूतिर पनि नजोडिएको होइन, तर समस्या के छ कि, त्यतातिर यसो गरे सिङ फुकाल्देर '१९६२ अ लभ स्टोरी' याद दिलाइदिन्छन्। यताको चाहिं मजा के भने, मन्त्रीहरू नै उनको तावेदार छन्।

थप सुन्नुस्– गुजरातको ऋषिमनले थोपरेको हिंस्रक नाकाबन्दीको विरोध गर्न सक्ने पिताम् गान्धीवादीमा नहुने कुरै नाईं। भन्सार नाकाहरूमा ट्रक र ट्यांकरको उरुङ लागेको दुनियाँले देख्दा'नि गान्धीका यी बिग्डैल बन्कर देख्दैदेख्दैनन्। बाँकी बन्करहरू बोल्दैनन् र रहेसहे बन्करहरू नसुन्ने भएर मरेका छन्। त्यसमाथि, उताको बन्करे मति यताका ढेडुहरूमा सल्केर बित्यास पर्न लाग्या छ।

तपाईं 'त्यो कसरी त, बिरादर?' भनिरहनुभएको छ, मनमनै। ल सुन्नुस्– यताका मन्त्रीहरू कात्तिके दानको आशमा 'खोइ नाकाबन्दी?' भन्दै दशैंअघि नै देउसी खेल्न थालेका छन्, मानौं तिनको आँखामा फुलो परेर मरेको छ। राजदूत महोदय छिमेकीको माकुरी गफमा गफ मिलाउँदै पत्रकार सम्मेलन गरिरहेका छन्। अलमस्त सरकार केही देख्न, सुन्न र बोल्न नसक्ने भएर बसेको छ, नेपालीलाई विस्तारै गलाएर बहादुरीपूर्वक घुँडा टेकाउने सोच बनाएजस्तो गरी।

उता नाकाहरूमा डटेका वारिका छुल्याहाहरू पारिका बन्करहरूको इशारामा बाँदरधर्म निर्वाह गरिरहेका छन्। 'जसो–जसो बन्दर बाजे उसै–उसै स्वाहा' गर्नेहरूको यो बन्करगिरीले ज्यानलाई लास्टै पिरोले'नि महात्माका अनुयायीले गर्ने गान्धीगिरी नै हो। तर, बम्बैया 'गान्धीगिरी' मा मुन्नाभाइले गुलाब बाँडेर काम निप्ट्याए जस्तो सजिलो छैन, यताको वास्तविक संसारमा। मोटी चमडीवाला बन्दरहरूले हल्काफुल्का भर्सनको गान्धीगिरीलाई बालै दिन्नन्!

निमक उत्पादन र वितरणमा एकाधिकार लाउनुलाई ब्रिटिशकालीन भारतको सर्वाधिक घृणित कानून भन्दै बापूजीले दांडी मार्च गर्नुभो। बिग्डैल बन्करहरूले हाम्लाई भने किनिसकेको माल ओसार्दा धरि बाटो छेकेका छन्। अन्तबाट ल्याउन र आफ्नै खनिज उत्खनन् गर्न पनि रोक्छन्। अंग्रेजहरू चल्ता बने पनि तिनकै काँचो वायुको बुई चढेर बापूजीका चेलवाहरूले छिमेकीलाई उठी सुख न बसी सुख पारेका छन्। यस्ता बन्करवाद विरुद्ध अब हाम्ले 'पेट्रोलियम मार्च' गर्दा के विराम होला? बापूजीले यस्तै छिमेकमारा आजाद हिन्दूस्तान कल्पेका थिए होलान् त?

अब हाम्ले थाल्ने सत्याग्रहमा बापूको नैतिक समर्थन रहनेछ र घामट बन्करहरूलाई गान्धीगिरी गरेरै ठेगान लाइन्छ। तिनको उत्पादन बहिष्कारबाट थालिने आन्दोलनले पार नलागे 'नेपाल छोडो' को भुङ्ग्रो सल्काइन्छ। सक्कली गान्धीवादीले उनको विचार रक्षार्थ हात बाँधेर नबस्ने देखल छ।

comments powered by Disqus

रमझम