२४-३० असोज २०७२ | 11-17 October 2015

सहयोगको सकस

Share:
  
- ज्ञानमणि नेपाल
भोट–ब्रिटिश बेपार खुल्नासाथ नेपाल–भोट कारोबार आधा घट्ने भए पनि महाराज चन्द्रशमशेर ब्रिटिशलाई सहयोग गरेरै आधाआधी घाटा पुर्ताल गर्ने दाउमा थिए।

यङ्ग हजवेण्डको अभियान धेरै दिनदेखि खामाजुङ्गमा अडिएको थियो। भोटसँग भरसक सलैले बेपार सम्झौता गरी अधिक जनधन क्षय–व्यय नगर्ने अंग्रेजको अभिप्राय थियो। परन्तु, भोट आफ्नो देशमा आक्रमण भएको सम्झी युद्धकै बन्दोबस्तमा लागिपर्‍यो। यङ्ग हजवेण्डले ब्रिटिशलाई सहयोग गर्न नेपाली फौज ओलाङ्चुङगोलातर्फबाट सिगात्सेसम्म आओस् भनेका थिए। तर, त्यसतर्फबाट सैनिक पठाउँदा नेपालले आक्रमण गर्‍यो भन्ने भोटलाई पर्ने, ब्रिटिश मिसनलाई सहयोग गर्नुपर्दा इलामस्थित कर्णेल हर्षजङ्गको टोली पठाउनुपर्ने, इलामबाट खामाजुङ्ग नजिक पर्ने र ओलाङ्चुङतर्फको बाटोको स्थिति पनि थाहा नभएको महाराज चन्द्रशमशेरको भनाइ थियो।

सुखिमको बाटो जाने बन्दोबस्त गर्नुपर्ने पक्षमा रहेका चन्द्रले भोटसँग कुरो पटेन भने दबाउको लागि चुम्बी उपत्यकासम्म कब्जा गरी बस्ता हुन्छ भनेका थिए। उनले भोटेहरूलाई “रूसतिर लहसियौ भने तिमीहरूलाई पनि हामीलाई पनि फाइदा छैन, ब्रिटिश सरकार तिमीहरूसँग सम्झौता गर्न चाहन्छ भने बाटो हाम्रो पनि हुन्छ, चौंरी पठाउँदा पनि उनीहरूले किनेर लगेका हुन्, दुवै राष्ट्रले मालसामान किन्न–बेच्न लैजान–ल्याउन पाउँछन्” भनेका थिए।

नेपाली फौज खुरुखुरु पस्यो भने नेपालले नै आक्रमण गर्‍यो भन्ने परेर ल्हासामा नेपाली महाजनका बत्तीस कोठी लुटिन सक्ने चन्द्रको अड्कल थियो। अघि रणोद्दीपका पालामा पनि एउटा मुगाको माला किनबेचको सानो मामिला नमिल्दा ल्हासामा ठूलो लूटपाट मच्चिएको थियो। नून, ऊन आदि ल्याउन नेपाल सजग भइरहनुपर्थ्यो। त्यसवेला भोटका कोठीमा नेपाली महाजनको ३० लाख जति धनमाल थियो। बेपारबाट अपार फाइदा दिने मात्र नभई सिर्तो समेत तिर्ने मित्र भोटलाई प्रत्यक्ष चिढ्याउन नहुने र ठूलो शक्ति ब्रिटिश–इण्डियालाई पनि विमुख पार्न नहुने बरु उसलाई सजिलो पारेर केही फाइदा लिने दाउ हेर्नुपर्ने द्वैधनीति अपनाउनुपर्ने महाराजको बाध्यता थियो।

त्यसमाथि, धनकुटाको बाटो चौंरी पुर्‍याउने कुरा तय भए पनि बुझने ठाउको ठेगान नहुँदा अप्ठ्यारो पर्‍यो। पटक–पटक गरी लैजानुपर्ने चौपाया बुझ्ाउने ठाउँ तिपतला वा फलत कहाँ हो भन्ने ठेगान नहुँदा यसको हल उतैबाट हुनुपर्छ भन्ने महाराजको भनाइ थियो। यहाँनेर विचारणीय के छ भने, नेपालले सहयोग दिए पनि नदिए पनि यङ्ग हजवेण्डको मिसन भोटसँग वाणिज्य सन्धि नगरी फर्कने थिएन। भोट–ब्रिटिश बेपार चल्नासाथ नेपाल–भोट बेपार आधा घट्ने निश्चितै थियो। बरु ब्रिटिशलाई सहयोग गर्दा नै यस घाटामा केही पूर्ति होला भन्ने महाराजको हिसाब थियो। यी संवादहरू यही समस्यामा केन्द्रित छन्।

रेजिडेन्ट र्‍याभिन्सा (गतांकमा र्‍यामोसा भनिएका) कप्तान अष्टमान सम्वाद

११ अक्टोबर सन्डे

रेजिडेन्ट– मीमसाहेब गौचर जानालाई यौटा ताम्दान महाराजकहांबाट मागि पठाइदिनु भये हुंदो हो.

कप्तान अष्टमान– हुन्छ, विन्ती चढाई पठाईदिउंला.

१२ अक्टोबर मन्डे (गौचर)

कप्तान– ३५ सये चौरी तपाईहरूलाई दि अरु भारामा दिने विषयेमा महाराजबाट अस्ति तपाईलाई लेखिबक्सनु भएको चिठीमा तपाईले के भन्नुभो भनि महाराजबाट मसंग सोधी बक्सियो. तेस्मा तपाईले केही भंनु भएन लेख्नु पनि भएन तपाईको तेस्मा के राय छ.

रेजिडेन्ट– तेस चिठीमा मेरो राये सोध्नु भएको छैन. चौरी भारामा दिनु भनि हुकुम पठाईदिन्छु भनि लेखिएको छ. भारामा दिएर चाहिए फेरि जम्मा गर्नु भए पनि हुन्छ.

क– भारामा दि सकेपछि चाहिने बेलामा जम्मा गर्नु मुस्किल होला.

रे–महाराजबाट ८ हजार चौरी दिन्छु भनेको बृटिश गभर्मेन्टले ८ हजार चौरी महाराज नेपालबाट चाहिने बेलामा आउनेछ भन्ने मनमा परेको हुनाले जैले जति र चाहिने भो उती लिने गरेका छन्. अब फेरी चाहिने नचाहिने गभर्मेन्टलाई लेखी १० दिन भित्र जवाफ दिउंला.

**भोट अभियान र चौंरी–कामदार पठाएको सम्बन्धमा श्री ३ चन्द्रसँग भएका रेजिडेन्ट र्‍याभिन्साका कुरा **

(१९०३ अक्टुवरको २१ तारीख मुतावीक् १९६० साल कार्तिक ६ गते रोज २ मा श्री ३ महाराज चन्द्रशमशेर जंगबहादुरको र रजिडंट र्‍याभींसा साहेब थापाथलि दर्बारमा आउंदा कुरा भयाको)

रजिडंट साहेब– मैले पठायाको तीवत्को खबर हेर्नुभयो कि... १

श्री ३– हेरें, हेर्न पठाउनुभयाको मेहरवानी हो... २

रजि– कर्णेल हर्खजङ्गले कर्नेल हजव्यांडसंग कुरो कहानी भयाको रीपोर्ट मलाई पठायाका रह्यछन्. तेस्मा मैले तपायींसंग सोध्नु पर्ने कुरा समेत्को मीमो लेखी राखेको छु. सो मीमो माथी देखिन् तलसम्म आफैले पढी बक्सी मीमो राख्नु हुन्छ भन्या राखनु होस् भन्या हुकुम हुंदा सुकरगुजारी जाहेर गरी रजिडंट साहेबले लीया... ३

रजि–ल्हासातर्फ बढ्ने कुराको मैले ता केही खवर पायाको छैन. सो काम हत्पतसँगै गर्नन् भन्या लाग्दैन. झ्िखाछे (सिगात्सो) सम्मलाई भन्या क्या हो कुंनी... ४

श्री ३– अब यस्मा कर्नेल हर्खजंगलाई क्या आडर पठाउ... ५

रजि– यस् कुराको जवाव तपायींलाई दीन सक्ने भया दीन्या थींयां. म आफ्ना गवरमेन्टमा साथी पठाउंछु जस्तो जवाव होला तपायींलाई खवर दीउंला... ६ ऐ. खवाझ्ं (खामाजुङ) सम्म पठाउनालाई तपायींलाई केही येतराज छैन होइन के... ७

श्री ३–खावाझुं (खामाजुङ) सेवाना नजिक पर्ने र ताहा बृटिस् मिसेन्लाई अप्थ्यारो परी आयो भन्या ताहसम्म गै मद्द गर्नाले अथवा सोठाउंमा बसी ग्यारेजन गरी बस्नालाई पनि भोट्लाई तिमीहरूले रुसको पछी लागी हाम्रा दोस्त ठुला बृटिस् सर्कारका तर्फबाट दोसाध गर्न आयाकाहरूमाथी तिमीहरूले बेहीसाब गरेको हुनाले तिमीहरूलाई हाम्रा बृटिससंग अहद भयाको हुनाले बनाउन पठायाका हौं भन्या ठाउं पनि रहंछ. होइन खावाझुं (खामाजुङ) बाट पनि अगाडी बढ्नुपर्छ भंनुहुन्छ भन्या सोही कुरो साफ भंनुहोस्. रुसको असर टीवत्मा बलियो हुन गयो भने नेपाललाई कदापी फाइदा छैन भंन्या तपायींलाई अघी पनि भनेकै हुं. रुसपट्टी लागी हाम्रा अहदसमेत् भयाका दोस्त बृटिस सर्कारसंग वास्ता नराखेको हुनाले फौज पठाउनु पर्‍याको भनि भोटेहरूलाई भन्या ठाउ छ. भोटेले नेपाललाई सिर्त्तो तिर्ने हुनाले यस्तो बेहिसाबको काम् किन गर्‍यौं भन्या ठाउं पनि छ. नेपालबाट चौरीहरू गयाको कुरालाई पनि बृटिसले आफ्ना मुलुकबाट हामीलाई जेसुकै माल पनी खुद्रा खरीद् गरी लैजान दीयाको हो भनी भंनु भनि हाम्रा ल्हासाका वकीललाई लेखी पठायाको छु... ८

ऐ. तेसै यौटा बलीयो कारन नभै हाम्रो फौज सुरुसुरु पठाउनाले जंगली मीजाज् भयाका भोटेहरूले हाम्रा ल्हासामा रह्याका वकील र नीजसंग रह्याका मानीसहरूलाई मारीदीया र नेपाली माहाजनहरूको धन्माल् लुटी दीया भन्या ठुलो गड्बड् हुन जाला. यस् कुराको बचाउ पनि मैले राखनु पर्छ. हाम्रा माहाजनहरूको ३० लाख् जतिको भोट्मा धनमाल होला. फेरी नुनको पनि बेपार बंद हुन जाने हुनाले वर्ष दीनलाई पुग्ने गरी हीन्दुस्तानतर्फबाट नुन झीकाई राखनुपर्ने हुन्छ. तेसो हुनाले यो हीसाबको कारवाई हुन लागेको छ. मैले यस् हीसाबको काम गर्नुपर्छ भन्या साफसाफ वेलैमा मलाई अगावै थाहा दीनुपर्छ... ९ रजि– तपायीले भंनुभयाको कुरा बुझें. यस् विषयमा तार लेखी भोली म आफ्ना गवरमेन्टमा पठाउंछु... १०

ऐ.भोटेसंग कुरा मिलेन भन्या नीजहरूलाई कायल गराउनालाई चुम्बि भ्याली दख्ल गरी राखनाको ईराद गवरमेन्ट इंडीयाले राख्याका छन्... ११

श्री ३– चुम्बि भ्याली ता सहजैसंग हात लाग्ला... १२

(९ दफाको बोली मूलमा रेजिडेन्टको परेको छ तर यो बोली श्री ३ चन्द्रको हो। अर्को प्रतिमा रेजिडेन्ट नलेखी सरासरै लेखिएको छ। यो प्रतिमा १२–२० दफा छैन। अर्को प्रतिबाट यहाँ जोडेको छु।)

श्री ३–चुम्बी भ्याली ता सहजैसंग हात लाग्ला. कर्नेल हाजव्यांडले बलाड्चुङ्को बाटो जाने कुरा गरेका छन्। सो बाटो जानलाई भोटेहरूले रोक्या भन्या फेरी अर्को फसाद हुन्या डर छ. तेसो हुनाले इलामको फौज जानुपर्‍यो भन्या दोर्जेलिङ, सुखीम्को बाटो गरी जानुपर्छ. वलाङ्चुनको बाटो के कस्तो छ, भोटेहरूको जोर तेसतर्फ कस्तो छ, हामीलाई थाहा छैन. उसै हाम्रो मुलुकमा विनाकारणले फौज ल्याउने भन्या भोटेहरूले ठाउ पाई ठुला केही उपद्र उठ्ने संभव छ। यस कुराको पनि बेस गरी जनाव् भाइसरायेलाई बोध गराई जानुपर्‍यो भन्या दार्जेलिङ् सुखीम्कै बाटो गरी जाने हिसाब गराई दिनुहोला... १३

रजि–हुन्छ. तपायीले भंनुभयाको कुरा मुनासिव हो. तपाईलाई अप्ठ्यारै पर्छ, राम्रो गरी बोध हुन्या हीसाबसंग लेखी पठाउंला... १४

श्री ३– इलामको फौज पठाउनुपर्छ. १ महीना अगावै खवर आवस्, किन भन्या यांहाबाट रेस्पान्सीवल अफिसर सो फौज हाक्नालाई पठाउनुपर्छ... १५ रजि– हुन्छ... १६

श्री ३– सो फौजलाई जाडोको लुगा फाटो पनी दीनुपर्ला कि... १७ रजि–दी राख्नु भया बढिया हो... १८

श्री ३– चौरीहरू बुझाउने ठाउंको ठेकाना दिनु भयेन. फलत्मा (फलत) बुझाउनु पर्ला भनि लेखनु भयाको हो. अब धनकुटातर्फबाट चौरीहरू बराबर चलान हुन लाग्यो हो. फलाना ठाउ बुझाइ दिनु भन्या ठेकाना भै आयामा २० दीनसम्ममा १०००। १२०० चौरी बुझाउने इन्तीजाम् हुन सक्छ. सबै चौरी यकै ठाउ राख्नालाई हुन नसक्ने हुनाले दफा दफा गरी चलाउनुपर्छ. तेसो हुनाले आया आया जति बराबर बुझीलिने बंदोबस्त भया १ दफा बुझाई सकेपछि सो ठाउंमा अर्को दफा ल्याई बराबर बुझाई दीन सुवीस्ता हुंछ. अघिल्लो दफा बुझी लिन ढीलो भयो भन्या पछी रहेको दफाहरू पनि सबै ठाउं ठाउंमा रोकीन जान्छ. तसर्थ बुझाउने ठाउंको ठेकाना होस... १९

रजि– हुन्छ. सोधी पठाउंला तर यस्मा कर्नेल हर्खजङ्ले मिष्टर व्हाइटसंग यस ठाउंमा बुझाउनुपर्छ भन्या कुरा मीलाई आया जति चौरी बुझाउने बंदोबस्त गरे बढीया होला की... २०

comments powered by Disqus

रमझम