नेपालमा एकातिर इन्धन अभावले जनजीवन अस्तव्यस्त छ भने अर्कातिर 'नाकाबन्दी गर्यो' भन्न पनि नमिल्ने गरी मुखबन्द गर्न खोजिएको छ। दृश्यमा आन्दोलनकारी नेपालीहरू छन्, सीमा नाकामा धर्ना बसेका। उनीहरूले सीमापारिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साएको र उतैको मेसमा खाना खाइरहेको तस्वीर पनि अखबारहरूमा आएका छन्। यो घटनाले नालापानीको किल्लाभित्र जाने पानीको मुहान अंग्रेजलाई देखाउने र थुन्न सघाउने पनि नेपाली नै थिए भन्ने इतिहास सम्झाएको छ, मनले पत्याउन नमान्दा नमान्दै पनि। र यो सब महान् छिमेकीको 'कृपा'ले भएको छ।
नरेन्द्र मोदीलाई नेपाल असाध्यै मनपर्छ। लालकिल्लादेखि नेपाल, भूटान अरू अन्तर्राष्ट्रिय मञ्चसम्म उनले नेपालप्रेमलाई लिएर लम्बेलम्बे भाषण दिएका छन्। नेपालको संविधानसभामा उनको मुखबाट निस्केको नेपाल महिमाले सारा नेपालीलाई गद्गद् पारेको थियो। तिनै मोदीको कृपाले यतिवेला नेपाल इन्धन पीडाले छटपटाइरहेको छ। तर, सिक्काको अर्को पाटो पनि छ, जसमा नेपालीभित्र राष्ट्रिय भावना जागेको छ। प्रमुख दलहरू एकढिक्का भएका छन् र तेल बाँड्न नसक्दा पनि सरकारले जनताको गाली खाएको छैन।
एउटै छिमेकीसँग सबै कुरामा परनिर्भर हुँदाको पाठ हो, यो। अहिले नेपालीमा देश बन्नुपर्छ, बनाउनुपर्छ र परनिर्भरता हटाउनुपर्छ भन्ने भावना जागेको छ। यो नाकाबन्दीको पाठ लिएर नेपालले अब प्रगति गर्नुपर्छ। विष नभएको सर्प र ईख नभएको मान्छे काम लाग्दैन भन्छन्। नभन्दै, यतिवेला नेपालीहरू ईखालु भएका छन्। यो ईख सेलाएन भने महामहिम मोदीको यो नाकाबन्दी नेपालको लागि समृद्धतर्फको प्रस्थानबिन्दु हुनेछ। गरीब भएको बोध गराइदिने र स्वाबलम्बनको पाठ पढाइदिने छिमेकी महान्!
भारतले हाम्रा लागि नून, तेल र ग्यास मात्रै नभई राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री लगायत मुलुकका प्रमुख पदहरू पनि पारिबाटै पूर्ति गरिदिन चाहँदा यो अवस्था आएको घामजस्तै छर्लङ्ग भएको छ। आफ्ना कुरा अखबारमार्फत सार्वजनिक गर्ने अनि त्यसलाई एक राउण्ड खण्डन गर्ने दिल्लीको पुरानै शैली हो। इण्डियन एक्सप्रेस मा छापिएको 'नेपालको संविधानमा संशोधन हुनुपर्ने ७ बुँदा' ले भारत नेपालभित्र कति खतरनाक खेल खेल्न खोजिरहेछ भन्ने देखायो। अनि, त्यो सात बुँदेसँगै खण्डन र नाकाबन्दी आयो।
नाकामा कुहिन थालेका तरकारी पठाउने रहर गरेको भारतले त्यसलाई पकाउने ग्यास छोड्न चाहेन। एकदिन त कुखुराको दाना पनि पठायो। अर्को दिन खरानी बोकेको ट्रकसमेत नेपाल भित्रेको समाचार आयो। १५ असोजको खबर अनुसार 'अलि बढी खुलेको' सुनौली नाकाबाट विभिन्न सामान बोकेका १६० वटा गाडी नेपाल पसे। तीमध्ये जम्मा एउटा चाहिं पेट्रोल ट्यांकर परेछ। यसले देखाउँछ, मोदी सरकारको छिमेकनीति।
नेपालको उत्तरी नाकाहरूलाई प्राकृतिक प्रकोप भुईंचालोले ध्वस्त बनाएको छ, दक्षिणी नाकाहरू राजनीतिक भुईंचालोको शिकार भएका छन्। यसरी हेर्दा नेपाल यतिखेर छिमेकीविहीन भएर एक्लै बाँच्ने अभ्यास गरिरहेछ। यो संकटमा नेपालीले धैर्य गुमाएका छैनन्। पेट्रोल नपाइने लाइन, रित्तिन लागेका सिलिन्डर र पाइन छाडेका सवारी साधनसँग जीवनलाई अभ्यस्त बनाउँदै गर्दा नेपाली जनताले सरकारलाई गाली होइन, समर्थन गरिरहेका छन्। यस्तो धैर्य र चेत्ने अवसर दिने छिमेक महान्!
अंग्रेजको दासताबाट मुक्त हुन महात्मा गान्धीले राजीखुशी अनेक हैरानी खेपेका थिए। मोदी सरकारले नेपालीलाई हैरान पारेर यता पनि गान्धीहरू जन्माउन खोजेको छ। अहिले भारत अंग्रेजको छ, नेपाल गान्धीको स्थानमा। छिमेकको दबाबमुक्त देश बनाउन नेपालीहरू गान्धी बन्नुको विकल्प छैन। हामीलाई गान्धी बन्न प्रेरित गर्ने ऋषिमनवाला छिमेकीको जय होस्।