डिजिटल-साम्राज्य

Share:
  
- रुविना महतो
संयमित विचारका पक्षपातीहरूको मौन बहुमतले सोसल मिडियामा आउने असहिष्णु कुराको प्रतिवाद गर्नु जरुरी भएको छ।
p54
तस्बीर: ऋषिराम कट्टेल

नेपालमा सोसल मिडियाको प्रयोगमा उत्साहजनक वृद्धिसँगै साक्षरता दर मुश्किलले ६५ प्रतिशत रहेको मुलुकमा यसको भूमिकाका सम्बन्धमा शंका पनि उब्जिन थालेको छ। फेरि इन्टरनेट डिजिटल डिभाइड (विभाजन)को समाधान पनि बन्नसकेको छैन। इन्टरनेटको जालोमा तिनै शहरिया मध्यमवर्गीय नेपाली आवद्ध छन्, जसको ठूलो संख्या काठमाडौंको चक्रपथभित्र बस्छन्।

नेपालमा अहिले साढे १४ लाख फेसबुक प्रयोगकर्ता छन्। यो संख्या कुल जनसंख्याको पाँच प्रतिशत भन्दा कम र नेपालका सबै प्रमुख दैनिक अखबारहरूको पाठक संख्या भन्दा बढी हो। यसबाहेक उल्लेख्य संख्यामा नेपालीहरू ब्लग, इन्टरनेट छलफल, अनलाइन समाचार, युट्युब र टि्वटरको माध्यमबाट पनि राष्ट्रिय मामिलामा आफ्ना विचार प्रस्तुत गरिरहेका छन्। सोसल मिडिया प्रयोगकर्ताहरूको अनलाइन समुदायले नेपालमा सार्वजनिक विचार निर्माणको नयाँ क्षेत्र सिर्जना गरेको छ, जुन यसअघिसम्म पत्रपत्रिकाका पाठक र लेखकहरूको एउटा सानो समूहमा सीमित थियो। सोसल मिडियाले प्रयोगकर्ताहरूलाई सूचना उत्पादनमा सहभागी हुन अभिप्रेरित गरिरहेको हुन्छ। त्यसमाथि यो अन्तरक्रियात्मक हुनुका साथै यसमा मल्टिमिडिया सामग्रीहरू प्रयोग हुन्छन्।


हालै हिमालमिडिया ले आयोजना गरेको सोसल मिडिया राउण्डटेबलमा सार्वजनिक विचार निर्माणमा सोसल मिडियाको प्रभाव बढ्दै जाने कुरा उठेको थियो। मानवअधिकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी सन्तोष सिग्देलको बिचारमा, व्यक्तिगत तहबाट राजनीतिमा प्रवेश गर्न थालेपछि नेपालमा सोसल मिडियाको मह140व बढेको हो। धेरै नेपालीले फेसबुक र टि्वटर लाई राजनीतिक विचार व्यक्त गरेर तिनमाथि छलफल चलाउन प्रयोग गर्न थालेका छन्।

p54a
तस्बीर: मुकेश पोखरेल

नेपालका स्थापित सञ्चारगृहहरूले भने अनलाइन माध्यमलाई त्यति प्राथमिकता दिएका छैनन्। विज्ञापनदाताहरूले अझै पनि छापामाध्यम नै रुचाउनु यसको कारण हो। पत्रकारहरू पनि छापामाध्यमको समयसीमालाई महत्व दिएर लेख्छन्। उनीहरू कुनै विशेष समाचार अनलाइनमा राख्नुअघि भोलि निस्किने प्रतिस्पर्धी पत्रिकालाई ध्यान दिन्छन्, जसले उछिन्न नसकोस्। कुनै घटनाबारे फेसबुक र टि्वटर बाट पहिले थाहा पाउने क्रम पनि बढेको छ। जस्तो, माओवादीमा फुटको जानकारी समाचार पोर्टल वा टेलिभिजनका ब्रेकिङ समाचार भन्दा अगाडि टि्वटर मा आएको थियो। प्रविधिमा रमाउने संवाददाताका टाइमलाइनमा मूलधारका सञ्चारमाध्यमले नभ्याउने गरी समाचारहरू आउन थालेका छन्।

संविधान निर्माणको समयसीमा सकिन लागेको बेला त पहिचानमा आधारित संघीयता विषयमा नेटवासीहरूले इन्टरनेटलाई काल्पनिक रणभूमि नै बनाएका थिए। त्यसबेलाका प्रायः टिप्पणीले विषयवस्तुलाई भन्दा लेखकका थर वा जातीय पृष्ठभूमिलाई सम्बोधन गरेका आर्थिक अनुसन्धाता तथा विश्लेषक चन्दन सापकोटाको मत छ। उनको भनाइमा, उनीहरू एकअर्काप्रति असहिष्णु र कट्टर देखिएका थिए। त्यसैले संयमित विचार राख्ने धेरै नेपाली यसमा मौन बस्न रुचाए। यस्तो बेला राजनीतिक तथा वैचारिक झ्ुकाव भएका समूहहरूले स्पष्ट लक्ष्यका साथ गर्ने आक्रमणको सामना कठिन हुन्छ। इन्टरनेटले अन्यत्र झै नेपालमा पनि समाजलाई खण्डीकरण गर्ने काम गरेको छ। यसका सबैभन्दा कुरुप उदाहरण हुन्― घृणा फैलाउने लेखाइले भरिपूर्ण पेज र जातिभेदवादी साइटहरू। तिनमा देखिने फोटोशपद्वारा विकृत पारिएका राजनीतिज्ञका तस्बीर र अनियन्त्रित रूपमा आउने हिंसा भड्काउने खालका आक्रामक बेनामे विचारहरूलाई नियमन गर्ने निकाय पनि देखिंदैन। बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूको लोकप्रिय इमेल छलफल समूह 'नेपाल नेटवर्क फर सोसल डेभलप्मेन्ट' (एनएनएसडी) का संयोजक अर्जुन ढकालका अनुसार प्रबुद्धहरूको साइटमा समेत छलफलले सीमा नाघ्ने र सिद्धान्त–सम्प्रदायका आधारमा एकअर्कामाथि खनिने चलन बढेको छ।

p54b
तस्बीर: मुकेश पोखरेल


तर, केही चर्काचर्की भए पनि अहिलेसम्म कुरा बिग्रिसकेको छैन। नेटमा भनिएका कुरालाई लिएर त्यतिविधि डराइ नै हाल्ने अवस्था छैन। मानिसहरूले मन शान्त पार्न विचार व्यक्त गर्ने ठाउँ पाएका छन्। संयमित विचार र दृष्टिकोण राख्ने बहुसंख्यक व्यक्तिहरूले अब मौन नबसी अतिवादी विचारलाई जवाफ दिन अघि सर्दा पुग्ने देखिन्छ। एउटा राम्रो पक्ष के पनि छ भने, आगामी निर्वाचनमा थपिने करीब ३५ लाख नयाँ मतदातामा अहिले सोसल मिडिया प्रयोग गरिरहेकाहरू पर्छन्।



तर्क होइन आग्रह !
अनुप पहारी

हिजोआज ब्लग, सोसल मिडिया र विचारपृष्ठहरूमा धेरै नेपालीले गर्ने गरेका विवाद र छलफल व्यक्तिको बुद्धिविवेक, ज्ञान वा तर्कभन्दा भावना, पूर्वाग्रह वा निजी चरित्रमा आधारित भएर परस्पर आक्रमणको तहमा उत्रिएको छ। यस्तो चलन यति सामान्य भइसकेको छ कि धेरैले त्यसलाई आग्रहप्रेरित ठान्न छाडेका छन्। यसबाट आम मानिसहरूमा बौद्धिक विमर्श भनेकै यस्तै हो भन्ने छाप समेत पर्न गएको छ।

विवेकशील पाठक र लेखकहरूलाई आफ्नो लेखाइलाई आग्रहबाट मुक्त राख्न आग्रहप्रेरित लेखाइका तल प्रस्तुत केही दृष्टान्तहरू उपयोगी हुनसक्छन्। लेखक, टिप्पणीकार, पत्रकार र सञ्चारकर्मीहरूलाई सार्वजनिक स्तरमा केही लेख्दा वा प्रस्तुत गर्दा कसरी लेख्ने र तर्क गर्ने भन्ने कुरामा सचेत एवं स्पष्ट हुन यी उदाहरणले मद्दत पुर्‍याउन सक्छन्। यिनले कसैको विचार, दृष्टिकोण वा तर्कलाई त्यसका गुण–दोषका आधारमा नभई ती कुरा लेख्ने व्यक्ति को हो वा उसको व्यक्तिगत पहिचान के हो भन्ने आधारमा वा उसले अर्कै सन्दर्भमा प्रस्तुत गरेको आधारमा प्रतिवाद गरेको देखाउँछन्।

केही उदाहरण हेरौं: 
१. “माओवादीहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहन्छन्। कम्युनिष्ट भएकाले यो उनीहरूको सत्ता कब्जा गर्ने अप्रत्यक्ष बाटो हो।”
२. “भारत नेपालमा प्रजातन्त्र चाहँदैन, किनभने ऊ अप्रजातान्त्रिक विकल्पहरूको माध्यमबाट नेपालमाथि हैकम चलाउन चाहने प्रभुत्ववादी शक्ति हो।”
३. “ओबामा मुसलमान पृष्ठभूमिको भएकाले उनको मध्यपूर्व नीतिमाथि विश्वास गर्न सकिंदैन।”
४. “तपाईं नेपालमा बस्नु वा काम गर्नुहुन्न, त्यसैले नेपालका बारेमा तपाईंले बोलेका कुरालाई नेपालमै बसेका वा काम गरिरहेकाहरूले गम्भीरतापूर्वक लिनु जरुरी छैन।”
५. “उनले जवाहरलाल नेहरू युनिभर्सिटीमा पढेको हुनाले उनका विचारहरू स्वाभाविक रूपमा भारतीय स्वार्थ र दृष्टिकोणबाट निर्देशित हुन्छन्।”
६. “उनीहरू नेपाली कांग्रेस र एमालेका बाहुन नेता भएकाले स्वभावतः नेपालको यथास्थितिलाई बदल्नुपर्छ भन्ने कुरामा विश्वास राख्दैनन्।”
७. “यी यी मान्छे माओवादीसँग नजिक भएकाले यो विषयमा उसको प्रस्ताव र विचार तटस्थ र जायज छैनन्।”
८. “प्रजातन्त्रको लागि १५ वर्ष जेल जीवन बिताएकाले उनी सधैं निस्वार्थ भावले देशको भलो सोचेर अगाडि बढ्छन्।”
९. “उनी प्रगतिशील नारीवादी कार्यकर्ता भएकीले (नेपाली) महिलाहरूबारे उनको दृष्टिकोण कुनै पुरुषको भन्दा युक्तिसंगत हुनेछ।”
१०. “उनी शिक्षित हुन् र उनले द्वन्द्व व्यवस्थापनको डिग्री लिएका छन्। त्यसैले नेपालको शान्ति प्रक्रियामा उनका दृष्टिकोण र तर्कहरूको वजन र गुण धेरै छ।”
माथि उल्लिखित १ देखि ७ नम्बरका आग्रहप्रेरित लेखाइले कुनै तर्कलाई त्यसको वास्तविक गुण–दोषको आधारमा विश्लेषण गर्नुपर्छ, तर्क गर्र्ने व्यक्तिको पहिचान र जीवनीबाट प्रभावित भएर होइन भन्ने मान्यतालाई इन्कार गरेका छन्। त्यसैगरी, ८ देखि १० नम्बरका उदाहरणमा चाहिं तर्कमा निहित गुण–दोषले भन्दा तर्क गर्ने व्यक्तिको पहिचान र जीवनीबाट स्वतः बन्न जाने एक प्रकारको विचार वा दृष्टिकोणले प्रभाव पारेका छन्। 


(प्रहारीको फेसबुकमा राखिएको सामग्रीलाई अनुवाद गरिएको हो।)


 

समाजको शक्ति

सोसल मिडियाका विकृतिलाई सेन्सरले होइन, उचित कानून र प्रयोगकर्ताको जिम्मेवारीले रोक्न सक्दछ।
 

p56
फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यान। 

फेसबुक का संस्थापक मार्क जुकरवर्गले १९ मेमा प्रिसिला च्यानसँग विवाह गरेको तस्बीर विना टेक्स्ट फेसबुक टाइमलाइनको माइलस्टोनमा राखेको महीना दिन नपुग्दै १५ लाखले 'लाइक' र दुई हजारले 'कमेण्ट' गरे। 'शेयर' गर्ने र शुभकामना दिने पनि हजारौं भए। नेपालमै पनि नेपाली कांग्रेसका नेता गगन थापाले फेसबुक पेजमा स्टाटस वा तस्बीर अपलोड गर्दा ५० हजारसम्म लाइक पाएका छन्।

टि्वटर मा पनि कैयौं व्यक्तिको एउटै ट्वीट सयौं पटक रि–ट्वीट हुन्छ। यसको मतलब, यस्ता सोसल मिडिया व्यक्तिगत सूचना प्रवाहको प्लेटफर्म बनेका छन्, जहाँ लेखिएका छोटा वाक्यले छिनभरमै विश्वभर फैलिएर धेरैलाई प्रभाव पार्छन्। गत अक्टोबरमा अमेरिकामा भएको वालस्ट्रिट आन्दोलनमा फेसबुक र टि्वटर ले हजारौंलाई सडकमा उतारेका थिए। नेपालमा पनि सार्बजनिक महत्वका भेलाहरुमा सोसल मिडियाको चमत्कार देखिन थालेको छ।

छोटा वाक्यको शक्ति
टि्वटर को स्टाटसमा स्पेससहित १४० अक्षर लेख्न पाइन्छ। फेसबुक मा पनि 'सी मोर' नगर्ने हो भने स्क्रीनमा ४२१ अक्षर मात्र देखिन्छन्। तर त्यति छोटा–छोटा स्टाटस पनि लाखौं ओठमा मुस्कान ल्याउन सिंगो किताब भन्दा प्रभावकारी सामाजिक शक्ति बन्न सक्छन्। त्यसो त छोटो लेख्न सजिलो हुँदैन। प्रसिद्ध अंग्रेज कवि जोन मिल्टनले एउटा प्रेमपत्र यसरी शुरू गरेका थिए― 'प्रिय, छोटो लेख्न मसँग समय नभएकाले आज लामो पत्र लेख्दैछु।' अर्थात्, छोटो लेखाइमा धेरै कुरा भन्ने खुबी चाहिन्छ।
सोसल मिडियामा अनावश्यक ट्याग र अश्लील सामग्री अपलोड हुन थालेपछि कति प्रयोगकर्ता यस्ता सञ्जालबाट टाढिन पनि थालेका छन्। आफ्नो नाममा अज्ञात व्यक्तिले खोलेको फेसबुक एकाउण्टबाट पीडित साहित्यकार उर्मिला थपलिया समस्याबाट छुटकारा पाउन प्रहरी नै गुहार्नु परेको बताउँछिन्। सोसल मिडियामा देखिएका विकृतिले व्यक्तिगत चरित्रमा लाञ्छना लगाउनेदेखि सामाजिक सद्भाव खल्बलाउनेसम्मका काम गरेका छन्।

p56a


विकृति बढेपछि गृहमन्त्रालयले फेसबुक मा फोटो ट्याग र शेयर गर्नेलाई मात्र हैन ट्याग भएकालाई समेत कानूनी दायरामा ल्याउने जमर्को गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा अमर्यादित सामग्री प्रसारण, प्रदर्शन, बिक्री, वितरण र प्रवाह गर्नेलाई रु.१ लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजाय गरिने व्यवस्था छ।
अब प्रविधिको जिम्मेवारीपूर्वक सदुपयोग गर्ने या सजाय भोग्ने, निर्णय सोसल मिडिया प्रयोगकर्ताले नै गर्नुपर्छ।

गणेश आचार्य

सोपा र पिपा


संयुक्त राज्य अमेरिकाले विकृति रोक्ने निहुँमा सोसल मिडिया र इन्टरनेटका अरू माध्यममाथि बन्देज लगाउन अपनाउन लागेको 'स्टप अनलाइन पाइरेसी एक्ट' (सोपा) र 'प्रोटेक्ट आइपी एक्ट' (पिपा) जस्ता उपायको विश्वभर विरोध भइरहेको छ। अनलाइनमा राखिएका कुराको मनिटरिङ र सेन्सरसीपको यो कसरतको खास गरेर गुगल, वर्डप्रेस, फायरफक्स लगायतका अनलाइन पोर्टल र सर्च इन्जिनले कडा विरोध गरेका छन्। विरोधको क्रममा गुगल, वर्डप्रेस, फायरफक्स लगायत संसारभरका अनलाइन पोर्टलले आ–आफ्ना हेडरमा कालो ब्यानर राखेका थिए। कतिले त ब्यानरमा 'स्टप सेन्सरसीप' लेखेका थिए।

नेपालमा पनि अनलाइन पोर्टलमा काम गर्ने र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूले 'सोपा' र 'पिपा' को विरोध गरेका छन्।

comments powered by Disqus

रमझम