धानविनाको संविधान

Share:
  
महाभूकम्प, संविधानको विरोधमा मधेशमा जारी आन्दोलन र खडेरीका कारण धान उत्पादनमा आउने कमीले मुलुकमा खाद्य संकट निम्त्याउन सक्छ।

धानमा बाला लाग्ने वेला किसानमा वेग्लै उमङ्ग छाउँछ। तर, मर्चवार, रूपन्देहीका रामदेव राय (५३) खेतमा पहेंलिंदै गरेको धान हेर्दै टोलाइरहेका छन्। बाला लाग्नुपर्ने वेला बालीको यस्तो अवस्था देख्दा उनको मन पिरोलिएको छ। “अघिको जस्तो धान नफल्ने भो”, चिन्तित राय भन्छन्।

धानमा नेपालकै उर्वरमध्येको रूपन्देहीका अधिकांश किसानको अवस्था यतिवेला रायको जस्तै छ। कारण हो, रासायनिक मलको अभाव। नयाँ संविधानको विरोधमा मधेशमा जारी आन्दोलनले दुई महीनादेखि बजार ठप्प बनाएपछि किसानले न मल किन्न पाए, न हाल्न नै। मधेश आन्दोलनका कारण खेतमा मल राख्न नपाएपछि किसान आक्रोशित छन्। रायको गुनासो छ, “संविधानले त के दिन्छ र? धानले दिन्थ्यो। बर्बाद भो!”

नेपालमा ७० प्रतिशत धान तराई/मधेशमा उत्पादन हुन्छ। तर यसपटक खेती शुरू भएदेखि नै यो भेगमा आन्दोलनको तनाव छ। रोप्नुअघि खेतमा थोरै मल राखे पनि त्यसपछि धानले मल देख्न पाएको छैन। त्यसमाथि खडेरीले पनि किसानलाई संकटमा पारेको छ।

नेपालको प्रमुख खाद्य बाली भनेकै धान हो। धानको उत्पादन तलमाथि पर्दा कृषिक्षेत्र मात्र होइन, मुलुककै अर्थतन्त्रमा प्रभाव पार्छ। कृषि विकास मन्त्रालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २० प्रतिशत छ। वार्षिक उत्पादन हुने धानको मूल्य करीब रु.१ खर्ब छ।

विज्ञहरू, मधेश आन्दोलन र खडेरीका कारण यसवर्ष देशभर धान उत्पादनमा करीब ४० प्रतिशतले कमी आउने बताउँछन्। यसको सबैभन्दा बढी प्रभाव बारा, पर्सा, धनुषा, महोत्तरी, रौतहटलगायतका जिल्लामा पर्ने अनुमान गरिएको छ। तराई/मधेशमै धान अभावका कारण खाद्य संकट निम्तिने खतरा समेत छ।
धानबालीविज्ञ भोलानाथ बस्नेत भन्छन्, “मधेश आन्दोलन र खडेरीले यस वर्ष धान उत्पादनमा अकल्पनीय ह्रास आउने देखिएको छ। अर्थतन्त्रमा नै उथलपुथल ल्याउन सक्छ।”

जिल्ला कृषि विकास कार्यालय, रूपन्देहीका प्रमुख कृष्णभद्र अधिकारी तराईका जिल्लाहरूमा ७० प्रतिशतसम्म उत्पादन घट्ने सम्भावना देखिरहेका छन्। शहर नजिकका थोरै किसानले साइकलमा मल लगे पनि गाडी नचल्दा पहाडी भेगका किसानले मल हाल्नै नपाएको बताउँदै उनी भन्छन्, “त्यसैले तराईमा मात्र होइन, यो वर्ष पहाडमा समेत धान उत्पादनमा ठूलो कमी हुनेछ।”

मुलुकमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला झापा हो, त्यसपछि मोरङ र रूपन्देही। रूपन्देहीबाट उत्पादितमध्ये ५० प्रतिशत धान जिल्लाबाहिर खपत हुन्छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार रूपन्देहीको ८२ हजार हेक्टर कृषियोग्य जमीनमध्ये ७० हजारमा खेती हुन्छ, जसबाट करीब तीन लाख टन धान उत्पादन हुन्छ। खडेरीले अन्यत्र रोपाईं प्रभावित भए पनि रूपन्देहीमा ९९ प्रतिशत खेतमा रोपाईं गरिएको थियो। तर, समयमा मल राख्न नपाएपछि मिहिनेत खेर गएको छ।

रूपन्देहीका लागि हरेक वर्ष २२ हजार टन रासायनिक मल आवश्यक पर्दछ। रूपन्देहीका धान बाली अधिकृत जयबहादुर महत्रा यो वर्ष जिल्लाका ८० प्रतिशत किसानले मल नपाएको बताउँछन्।

रोग पनि यही वेला

आन्दोलन र खडेरीको मारमा परेका किसानलाई यहीवेला रोग र कीराले पनि दुःख दिएको छ। धानका बोटमा पातबेरुवा, मिलिबड लगायतका कीराको संक्रमण फैलिएको छ। बालीलाई सिट्थ ब्लाइथ नामको रोगले पनि सताउन थालेको छ। धानबाली अधिकृत महत्रा यस्ता कीरा र रोगले धान पहेंलो बनाउने, बाला नलाग्ने जस्ता समस्या देखिएको बताउँछन्।

“पहाडमा महाभूकम्प, तराईमा आन्दोलन, खडेरी र रोग, धानलाई चौतर्फी प्रहार भइरहेको छ। यसले खाद्य संकट हुनसक्छ”, धानविज्ञ बस्नेत औंल्याउँछन्।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम