जेष्ठ नागरिक सहज घर अपांग भएकाहरुका लागि समेत उपयोगी हुन्छ। बनिसकेको घरलाई पनि जेष्ठ नागरिक वा अपांगता अनुकूल बनाउन सकिन्छ। “हाम्रो माया र सद्भावले नै बुढेसकाल सुहाउँदो घर बनाउन सकिन्छ”, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको कम्युनिटी मेडिसिन विभाग प्रमुख प्रा.डा. लोचना श्रेष्ठ भन्छिन्, “खासै ठूलो कुरा होइन।”
डा. श्रेष्ठले ललितपुरको सानेपास्थित सत्मार्ग गल्लीमा 'हेल्थ होम केयर नेपाल' स्थापना गरी १४ जना ज्येष्ठ नागरिकको हेरचाह गरिरहेकी छन्। संस्थामा रहेका ६३ देखि ९७ वर्षसम्मका सदस्यका लागि भर्याङदेखि प्यासेजमा समाएर हिंड्न मिल्ने 'वाकिङ सपोर्ट रेलिङ' राखेकी छन्। भर्याङमा कार्पेट विछ्याएकी उनी सके भर्याङको सट्टा र्याम्प बनाउनु उत्तम हुने बताउँछिन्।
यस्तो बनाउने
पाको उमेर वा अपांगता भएका सदस्य घरमा छन् भने मूलढोकादेखि भान्सा, शौचालय, शयनकक्षको संरचनामा विशेष ख्याल राख्नुपर्छ। ह्वीलचेयर प्रयोगकर्ताका लागि ढोकामा खुट्किला राख्नुहुँदैन। ढोकाछेउ अल्झिने वा ठोक्किने सामानले दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरामा सचेत हुनुपर्छ। भुईंमा कार्पेट ओछ्याउँदा चिसो नलाग्ने र चिप्लिएर लड्ने खतरा पनि कम हुन्छ।
“बूढाबूढी शौचालयमा चिप्लिएर लडेको धेरै सुनिन्छ”, नेपाल मेडिकल कलेज, काठमाडौंका हाडजोर्नी विभाग प्रमुख राम के साह भन्छन्, “शौचालयमा नचिप्लिने खालको टायल ओछ्याउनुपर्छ।” उनका अनुसार बाथरुममा उचाइ घटाउन/बढाउन मिल्ने खालको धारा र भित्र–बाहिर दुवैपट्टिबाट खोल्न मिल्ने डोर–लक राख्नुपर्छ। शौचालयको सीट र बेसिन नजिकै टेको वा सानो खम्बा गाडिदिए समात्ने ठाउँ मिल्छ। साबुन, सावर र ह्यांगर सीट नजिकै राखिदिनुपर्छ।
पाका मान्छेका लागि उनीहरूको उँचाइ अनुसारकै खाट वा लो–बेड बनाउनु उत्तम मानिन्छ। खाटमा रेलिङ राखेमा सुत्न/उठ्न सजिलो हुन्छ। बत्तीका स्वीच खाटबाट भेटिने गरी बनाउनुपर्छ। भान्सामा पकाउने ठाउँ, डाइनिङ टेबुल आदिको निर्माणमा पनि ख्याल गर्नुपर्छ।
'जेरियाटि्रक्स हेल्थ इन नेपाल' विषयमा अध्ययन समेत गरेकी डा. श्रेष्ठ बूढापाकाका लागि उज्यालो घरले विशेष अर्थ राख्ने बताउँछिन्। “घर कुन दिशामा फर्किएको छ र कोठाहरू कत्तिको उज्याला छन् भन्ने याद गर्नुपर्छ”, उनी भन्छिन्, “होइन भने दुर्घटना हुने खतरा हुन्छ।”
सजना बराल