२४-३० असोज २०७२ | 11-17 October 2015

बिच्छी र भ्यागुतो

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ

भानु भट्टराई
निर्लज्ज नाकाबन्दीको विरोधमा आवाज उठिरहेको माहोलमाझ पार्टी त्याग गरेका एक नेताको चर्चा पनि नामालुम किन हो चुलिन थालेको छ, त्यसलाई राजनीतिले नै व्याख्या गर्ला! तर मेरो मनमा भने फेरि बालापनको विगतबाट एउटा पञ्चतन्त्रको नीतिकथा वर्तमानमा उत्रन पुग्यो। हिमाल खबरपत्रिका को गतांकमा झै यो पनि भ्यागुतोकै कथा हो। फरक कति मात्र भने, यसमा सर्पको ठाउँमा बिच्छीको भूमिका प्रधान छ।

बिच्छी स्वभावैले विषालु हुन्छ। डसालु हुन्छ। सयौं–हजारौं निर्दोष प्राणीको ज्यान लिएर गोलाबन्दीमा बसेको एउटा बिच्छी आफ्नो समुदायबाट अलग्गिएर एउटा खोलाको किनारमा आइपुग्छ। उत्तरी सोच र दक्षिणी इच्छामा परेर रनभुल्ल बिच्छी खोला तरेर दक्षिण दिशाको यात्रामा जाने युक्ति खोज्न थाल्छ। तर, आफूलाई पौडन आउँदैन, खोला कसरी तर्ने? बिच्छी एक्लै यस्तै रनभुल्लमा परिरहँदा त्यहाँ एउटा भ्यागुतो आइपुग्छ।

मालुमै छ, भ्यागुतालाई समथर भूमिको नदी वारपार गर्न कुनै समस्या हुँदैन। त्यसैले भ्यागुताको सहयोग माग्दै बिच्छीले भन्न थाल्यो, “ए भ्यागुता दाइ! मलाई पिठ्यूँमा बोकेर खोला तारिदिनुस् न, तपाईंको ऋण जसरी पनि तिरौंला। यति गुन गर्नुपर्‍यो!”

“तिमी विषालु छौ। डसिदियौ भने त म खुत्रुक्कै हुन्छु नि! यस्तो जोखिम पनि कसैले मोल्छ?” भ्यागुताले भन्यो।

“ए दाज्यू, नदी तर्दा तिमीलाई डसें भने म पनि त डुबेर मर्छु नि! के कुरा गरेको? लौ हिंड, पिठ्यूँ थाप, तिमीलाई पनि त पारिकाले बोलाएको छ नि!” बिच्छीले सम्झायो।

सोझो मन भ्यागुतालाई कुरा बेमुनासिब लागेन र आफ्नो पिठ्यूँमा चढाएर बिच्छीलाई खोला तार्न लाग्यो। खोलाको बीचमा पुग्दा नपुग्दै बिच्छीले भ्यागुतालाई डसिहाल्यो।

“ऐया, ए बाबु! के गरेको?” भ्यागुतो चिच्यायो।

“डस्नु त मेरो स्वभाव नै हो, नडसी बस्नै सकिन्न के त गरौं?” बिच्छीले आफ्नो बाध्यता सुनायो। त्यसपछि दुवै डुबेर मरे रे! यो नीतिकथामा समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर स्वभाव बदलिंदैन भन्ने शिक्षा पस्केका हुन् पं. विष्णुदत्त शर्माले।

comments powered by Disqus

रमझम