मानव तस्करको जालो

Share:
  
- रामेश्वर बोहरा
मुलुकको अर्थतन्त्रलाई त्राण दिने रेमिट्यान्समा ध्यान दिइरहेको राज्य आफ्ना हजारौं नागरिक अन्तर्राष्ट्रिय मानव तस्करहरूको फन्दामा परेको डरलाग्दो अवस्थाप्रति भने पूर्णतः बेपरबाह छ ।
p25
 
अफगानिस्तान, इराकलगायतका मुलुकमा अवैध रूपमा
कामदार पठाउँदै आएका कन्काई मनी चेन्जरका
सोमनाथ निरौला।

कोही १५–१६ वर्षका किशोरी, कोही पहिलो पटक शहर आए झै देखिने सामान्य लवाइखवाइका महिला अनि कोही कठ्यांग्रिने जाडोमा कुर्कुच्चा पटपटी फुटे पनि चप्पल मात्र लगाएका पुरुष । कोही दुबई, कोही कतार त कोही मलेशिया हिंडेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सोधखोज गर्दा सबैबाट ‘घुम्न जान लागेको’ भन्ने एउटै जवाफ आयो । उनीहरूसँग बढीमा दुई महीनासम्मको ‘भिजिट भिसा’ लागेको राहदानी, दुईतर्फी प्लेन टिकट, केही जोर लत्ताकपडा र ५०० अमेरिकी डलर थियो ।विमानस्थल प्रहरीका अधिकारीहरूले सोधखोज कडा बनाउँदा वास्तविकता खुल्यो– उनीहरू ‘भिजिट भिसा’मा विदेश ‘घुम्न हिंडेका’ नभई अन्तर्राष्ट्रिय मानव तस्करीको जालोमा परेका निर्धा नेपाली कामदार थिए, जसलाई राज्यको आँखा छल्न ‘पर्यटक’ बनाइएको थियो । त्यसपछि कडाइ थालेको प्रहरीले तस्करहरूले दैनिक १०० देखि १५० जनासम्म नेपालीलाई मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाटै लैजाने गरेको र यो क्रम करीब चार वर्षदेखि चलिरहेको डरलाग्दो तथ्य फेला पार्‍यो । यो हिसाबले वार्षिक कम्तीमा डेढदेखि दुईलाख नेपालीलाई यसरी विदेश पुर्‍याइएको देखिन्छ । 

यो आँकडा डरलाग्दो यसकारणले छ कि, यसरी विदेशिनेहरू राज्यको जानकारीमै हुँदैनन् । ‘भिजिट भिसा’मा जाँदा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनु नपर्ने भएकाले उनीहरूको अभिलेख कहीं कतै रहँदैन । उनीहरूलाई पठाउने संस्था, म्यानपावर कम्पनी वा व्यक्तिको संलग्नता खुल्दैन । “अवस्था साँच्चै डरलाग्दो छ”, तीन महीनाअघि विमानस्थल सरुवा भएका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विज्ञानराज शर्मा भन्छन्, “यो नेक्ससमा प्रहरी पनि संलग्न छन्, यसलाई तोड्न निकै मिहिनेत चाहिन्छ ।”    
 
मानव तस्करीको ‘सेटिङ’
राज्यले नेपालीको यत्रो संख्या कहाँ पुगेको छ र तिनको अवस्था के छ भनेर चासो देखाएको छैन । योभन्दा पनि डरलाग्दो स्थिति के छ भने, यो काम राज्य संयन्त्रका कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा भइरहेको छ, जसलाई ‘सेटिङ प्रथा’ भनिन्छ । श्रम स्वीकृतिको वैधानिक च्यानलहरू छल्न मिलाइएको ‘सेटिङ’ मा प्रायः उतैका कम्पनी वा एजेन्टहरूले यताका म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, मनी एक्सचेञ्ज वा व्यक्तिहरूलाई ‘भिजिट भिसा’ पठाउँछन् । अनलाइन भिसा प्रणालीले यसलाई अझ्ै सहज बनाएको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “कतिले त नक्कली भिसामै उडाउँछन् ।”
 
‘भिजिट भिसा’मा विदेश जान दुईतर्फी हवाइटिकट, होटल बुकिङ र न्यूनतम ५०० अमेरिकी डलर हुनुपर्ने अध्यागमन विभागको मापदण्ड छ । त्यति भएपछि ‘सेटिङ’ मिलेकाहरू सजिलै छिर्छन् । ‘सेटिङ’ मा गएकाहरूले बोकेको ५०० डलर चेकजाँच पछि र जहाज चढ्नुअघि अध्यागमनका कर्मचारी वा प्रहरीले लिन्छन् । अर्थात्, विमानस्थलस्थित अध्यागमनका कर्मचारी, अध्यागमन अधिकृतको रूपमा रहने राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर, प्रहरी र वैदेशिक रोजगार विभागका कर्मचारी नमिली ‘सेटिङ’मा मानव तस्करी संभव हुँदैन । 
 
विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कमा दुई सिफ्टमा गरी १२ कर्मचारी खट्छन् । अध्यागमन कार्यालयमा एक सहसचिव र तीन उपसचिवसहित १०० हाराहारी कर्मचारी हुन्छन् । अध्यागमन विभागका पूर्वमहानिर्देशक सुधीरकुमार शाह तीमध्ये माथिल्लो तहका चार कर्मचारीले चाहँदा ८० प्रतिशत ‘सेटिङ’ तोडिने बताउँछन् । “सेटिङ भनेकै सुब्बादेखि सहसचिवसम्मका कर्मचारीलाई मिलाउनु हो” शाह भन्छन्, “त्यहाँभित्र ठूलो गिरोह छ, जसलाई कुनै एउटा निकायले मात्र चाहेर केही गर्न सक्दैन ।” 
 
विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीहरू अधिकांश समय मोबाइलमै व्यस्त देखिन्छन्, भिजिट भिसामा कामदार पठाउनेहरूसँग कुरा मिलाउन । अध्यागमनमा भएको सीता राई लुट प्रकरणपछि प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले ४ माघमा बुझएको प्रतिवेदनमा अध्यागमन डेस्कका कर्मचारीलाई मोबाइल प्रयोगमा बन्देज लगाउनुपर्ने सिफारिस गर्नुले पनि उनीहरू ‘ड्युटी आवर’मा किन मोबाइल फोनमा व्यस्त हुन्छन् भनेर बुझएको छ । उनीहरूको मोबाइल वार्ता ‘भिजिट भिसा’मा जाने कामदारलाई सबै ‘प्रक्रिया’ मिलाएर जहाज चढाउनका लागि हुन्छ भन्ने प्रष्टै छ । 
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गएको ३ असोजमा नयाँबानेश्वरको केल्भिन ट्राभल्समा छापा मार्दा १४१ थान राहदानीसँगै मेडिकल डाक्टर र म्यानपावर कम्पनीका रबर स्ट्याम्पहरू बरामद गरेको थियो । ट्राभल्सका सञ्चालकहरू जगत न्यौपाने, शिव रेग्मी र अमित भनिने अरुण कुमार बर्मा पक्राउ परे । २५ मंसीरमा चाबहिलको गोविन्द ट्राभल्स एण्ड टुर्स प्रालिमा सीआईबीले ३९ थान राहदानी र २८ थान नागरिकतासँगै सञ्चालक लालबाबु भनिने शिवसिंह यादवलाई पक्राउ
गर्‍यो । 
 
सीआईबीको टोलीले त्यसअघि बालाजुस्थित कन्काई मनी चेन्जरमा छापा मार्दा १७५ थान राहदानी, १७ जनाको पुलिस र १८ जनाको मेडिकल रिपोर्ट भेट्यो । त्यो छापा पछि कन्काई मनी ट्रान्सफरले अफगानिस्तान, इराक, पोल्याण्ड र दक्षिण कोरियामा (भिजिट भिसा लगायत) अबैध ढंगले कामदार पठाइरहेको रहस्य खुलेको थियो । लामो समयदेखि यस्तो काम गरिरहेका दुर्गा निरौला र उनको छोरा सोमनाथलाई पक्राउ गरेको ६ दिनमा सीआईबीले बालाजु बाइपासको नेपाल जनस्वास्थ्य केन्द्र नामको पोलिक्लिनिकमा पनि छापा मारेर ४५ वटा मेडिकल रिपोर्टका साथ डा. दिनेश केसी र पोलिक्लिनिक सञ्चालक प्रवीणराज बज्राचार्यसहित चार जनालाई समात्यो । वैदेशिक रोजगार विभागको जिम्मा लगाइएका उनीहरू धरौटीमा छुटिसकेका छन् । “शक्तिकेन्द्रसम्म पहुँच रहेछ”, सीआईबीका एक अधिकृत भन्छन्, “हाकाहाकी जागिर खाइदिने धम्की दिन्थे, केही दिनमै छुटिहाले ।” 
 
कन्काई जस्ता कति मनी चेन्जरले मानव तस्करीको धन्दा चलाएर कति नेपालीलाई कहाँ—कहाँ अलपत्र पारिरहेका छन् भन्ने तथ्य खुलिनसकेको बेला गैर–सरकारी संस्थाहरू समेत यसमा जोडिएको प्रमाण फेला परेको छ । गएको ७ मंसीरमा सीआईबीले काठमाडौंको सीतापाइलास्थित स्वर्गद्वारी ह्युमन वेलफेयर सेन्टरमा छापा मार्दा ११ वटा राहदानी र ‘जापान पठाइदिने’ भनेर रुकुम, रोल्पा र धादिङका विभिन्न व्यक्तिहरूबाट लिएको रु.५० लाखको रसिद फेला परेको थियो । यसले ‘भिजिट भिसा’ को अवैध धन्दा कहाँसम्म मौलाएको छ भन्ने देखाएको छ ।
p26
 
नेपालबाट अबैध रुपमा कामदार पर्‍याइने देश ।

१ माघमा ओमान एअरको उडान नम्बर ०३३२ बाट मस्कट हुँदै कतार उड्न लागेका धनुषा, सिरहा, सर्लाही, रौतहट र बाराका ११ युवक काठमाडौं विमानस्थलमा समातिए, जसमध्ये पाँचजना जहाज चढिसकेका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभागको नक्कली श्रम स्वीकृतिपत्र र राहदानीमा त्यसकै स्टिकर टाँसेर पठाउने गौशालास्थित सुरेश टुर्स एण्ड ट्राभल्स सञ्चालक सुरेशकुमार महतो (३५) पक्राउ परे । ‘भिजिट भिसा’ मा हिंडेकाहरूमाथि विमानस्थलमा कडाइ हुन थालेपछि मानव तस्करहरूले नक्कली श्रम स्वीकृति पत्र चलाउन थालेको बुझन गाह्रो छैन । 

त्यसरी नै ४ कात्तिकमा दुबई जान लाग्दा समातिएका बाह्रबिसे, सिन्धुपाल्चोकका सञ्चमाया विक (३९) र मसली कामी (२९) ले आफूहरूलाई कसले पठाएको हो त्यो समेत बताउन सकेनन् । १७ मंसीरमा सीआईबीको टोलीले वैदेशिक रोजगार विभाग परिसरमा केही राहदानी र २५ थान श्रम स्वीकृतिको स्टिकरसहित तीन जनालाई समातेपछि मात्र उनीहरूलाई पठाउनेहरूको पोल खुल्यो । पक्राउ पर्ने सुकेधारास्थित वाइज इन्टरनेशनल लिमिटेडका महेश अधिकारी, महाराजगञ्ज–चक्रपथको फ्युचर इन्टरनेशनल सर्भिसका बुङसाङ दोर्जे लामा र ग्लोरी ओभरसिजका अभय पोखरेल थिए । यसबाट वैदेशिक रोजगारको वैधानिक अनुमति पाएका म्यानपावर कम्पनीहरू पनि यस्तो धन्दामा छन् भन्ने खुल्यो । 
 
विमानस्थल कडा हुन थालेपछि मानव तस्कर गिरोहले विदेशी वायुसेवाका कर्मचारीहरूलाई समेत हात लिन थालेका छन् । प्रहरी स्रोतका अनुसार, ‘भिजिट भिसा’वाहकहरूलाई कडाइ गर्न थालिएपछि यहाँबाट दिल्ली जाने भन्दै विमानस्थल पठाएर जहाज चढ्ने बेलामा दुबई, दोहा, क्वालालम्पुर आदि ठाउँको बोर्डिङ पास मिलाउन थालिएको छ । “ट्रान्जिट–ट्रान्जिटमै भिसा मिलाएर लैजाने ठूलो गिरोह सक्रिय छ” वैदेशिक रोजगार विभागका एक अधिकारी भन्छन्, “यो समस्या चाल्नो जस्तो छ, यता टाल्यो उता चुहिने ।”
 
भारतबाट झ्न् ठूलो लर्को
काठमाडौंको बसुन्धरास्थित जुम इन्टरनेशनल (द.नं.६६८) म्यानपावरले पाँचथरका राजीव (२७) लाई १२ असार २०६८ मा तान्जानियाको ‘साउथ–बिच रिसोर्ट’मा सहायक लेखापालको जागिरमा पठाउने भन्दै रु.१ लाख लिएर केही दिनपछि दिल्ली हुँदै मुम्बई पुर्‍यायो । त्यहाँबाट विना भिसा केन्याको नैरोबी हुँदै तान्जानिया पुगेपछि ‘टुरिष्ट भिसा’ पाएका राजीव १४ महीनामा ज्यान जोगाएर खालिहात नेपाल आइपुगे । ‘भिजिट–भिसा’मा किन पठाइँदो रहेछ भन्ने रहस्य उनले तान्जानिया पुगेर मात्रै थाहा पाएका थिए (हे.बक्स) । 
p26b
 
व्यवसायको आवरणमा मानव तस्करीः मनीचेन्जर सञ्चालक दुर्गा निरौला,
गैससकर्मी शशिधर खड्का र ट्राभल एजेन्सीका सञ्चालक सुरेश महतो।

अन्तर्राष्ट्रिय मानव तस्करहरूले नेपाल–भारत खुला सीमालाई ‘सुरक्षित नाका’का रूपमा प्रयोग गरिरहेका छन् । कुवेतस्थित नेपाली राजदूत मधुवन पौडेल काठमाडौं विमानस्थलमा प्रहरी लगायतले ‘सेटिङ’ रोक्न कडाइ गरेपछि मानव तस्करहरू भारतीय बाटोमा केन्द्रित भएको बताउँछन् । भारतीय बाटो हुँदै विभिन्न मुलुक पु¥याइनेमा महिलाहरू धेरै हुन्छन् । 

वैदेशिक रोजगार विभागका अनुसार, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २६ लाख नाघेको छ । आर्थिक वर्ष (२०६८÷६९) सम्म यो संख्या २४ लाख ६५ हजार (गत वर्ष मात्रै तीन लाख ८४ हजार) थियो भने चालु आवको पुस महीनासम्म त्यसमा दुई लाख जति थपिएका छन् । तर, विभागका अधिकारीहरू यो संख्या ३१ लाखको हाराहारी रहेको र ‘भिजिट भिसा’ वा भारतीय बाटोबाट गएका चार लाखभन्दा बढीको अवस्था राज्यको जानकारीमै नभएको बताउँछन् । 
 
युद्धक्षेत्र र यौन व्यवसायमा
अवैध रूपमा विदेशिएका यतिका नेपाली कहाँ छन् र तिनले के गरिरहेका छन् भन्ने बारे राज्य पूरै बेखबर छ । ‘भिजिट भिसा’मा गएकाहरू जहाँ भए पनि अवैध छन् । ‘भिजिट भिसा’मा दुबई, कतार लगायतका ठाउँमा जाने धेरै पुरुष कामदारहरूलाई त्यहाँबाट युद्धग्रस्त अफगानिस्तान, इराक, लिबिया र अफ्रिकी मुलुकहरूमा पु¥याउने गरिन्छ, कानूनी रूपमा कतैबाट नदेखिने गरी । गरीबी र बेरोजगारीले पिल्सिएका धेरै नेपालीलाई मानव तस्करहरूले युद्धग्रस्त वा अन्य क्षेत्रमा बँधुवा मजदूर या यौनदासी हुन बाध्य पारेको बताउने एक प्रहरी अधिकृत भन्छन्, “जानेर नजानेर हामी अन्तर्राष्ट्रिय मानव तस्करहरूको जालमा परिसकेका छौं ।”
 
संसारमा हतियारपछिको दोस्रो ठूलो ‘भूमिगत अर्थतन्त्र’ बनिसकेको मानव तस्करी सञ्चालन गर्ने गिरोहले नेपालमा ‘समानान्तर सरकार’ झै वैदेशिक रोजगार विभागदेखि अध्यागमनसम्म आफ्नो अनुकूल कर्मचारी राख्न र हटाउन सक्ने हैसियत बनाएको ती प्रहरी अधिकृतको विश्लेषण छ । अफगानिस्तान र अफ्रिकी मुलुक बसेर आएका अर्का प्रहरी अधिकृत कतिपय युद्धग्रस्त क्षेत्रमा रगत आपूर्तिका लागि नेपाली कामदार राखिएको सुन्न थालिएको बताउँछन् । उनी भन्छन्, “त्यसैले नेपाली पुरुष–महिला समान रूपमा बेचबिखनमा पर्न थालेका छन् ।” 
p26a
 
ट्राभल कि म्यानपावरः काठमाडौंको नयाँबानेश्वरस्थित
केल्भिन ट्राभल्समा सीआईबीले छापा मार्दा भेटिएका
राहदानीको चाङ।

अहिलेसम्म लेवनान लगायत खाडी मुलुक र मलेशिया लगिंदै गरेका नेपाली महिलाहरूलाई पछिल्लो समय किर्गिस्तान, तान्जानिया, केन्या, दक्षिण अफ्रिकालगायतका मुलुकमा समेत पु¥याउन थालिएको छ । विमानस्थलमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार, ‘भिजिट भिसा’मा जाने धेरैजसो युवती र किशोरीहरू सांस्कृतिक कार्यक्रमका लागि हिंडेको भन्छन्, तर तिनमा डान्सबार र क्यासिनोमा काम गरेका बाहेक अरू नाच्न त के राम्ररी बोल्न पनि नजान्ने हुन्छन् ।

यस्ता किशोरी, युवती र महिलाहरू यौन शोषणको शिकार बन्ने गरेको विभिन्न अध्ययन तथा घटनाक्रमहरूले देखाएका छन् । अमेरिकाको स्टेट डिपार्टमेन्टको मानव ओसारपसार सम्बन्धी रिपोर्ट–२०१२ मा खाडी, मलेशिया लगायतका मुलुकमा नेपाली महिलाहरू यौन शोषणमा परेको उल्लेख छ । गरीब परिवारका किशोरी– युवतीहरूलाई अनेक लोभलालच देखाई आफैं खर्च गरेर विभिन्न मुलुकमा पु¥याउने संगठित गिरोहहरूले नेपालका गाउँ–गाउँसम्म आफ्नो सञ्जाल बनाइसकेका छन् । महिला बेचबिखन विरुद्ध कार्यरत संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला भन्छिन्, “१३ वर्षकी बालिकालाई २३–२४ वर्ष भनेर नागरिकता र राहदानी दिन सिडिओले आँखा चिम्लिदिन्छन्, सरकार केही बोल्दैन, अनि कसलाई के भन्ने ?” 
 
शारीरिक रूपले असक्त र मानसिक रूपमा विक्षिप्त भएर वैदेशिक रोजगारीबाट फर्कने महिलाहरूको संख्या ठूलो छ । वैधानिक बाटोबाट जानेहरूको त यो हालत छ भने ‘भिजिट भिसा’मा जानेहरूले कस्तो नियति भोगेका होलान्, अनुमान पनि गर्न सकिन्न । पुरुष हुन् या महिला, अवैध रूपमा जानेहरूसँग न करारनामा हुन्छ, न आफूलाई मर्का पर्दा गुहार्ने उपाय । ‘भिजिट भिसा’मा जानेहरूले ‘वर्किङ भिसा’ नपाउने हुनाले बिरामी हुँदा रोजगारदाताले तिनको उपचारमा ध्यान दिंदैनन् र त्यहाँको श्रम कानूनले पनि केही मद्दत गर्न सक्दैन । किनभने, खराब नियत भएकै रोजगारदाताले ‘भिजिट भिसा’ मा आएको कामदार राख्ने हो । 
 
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई अवैध रूपमा विभिन्न मुलुक पुगेर अलपत्र परेपछि गुहार माग्नेहरूको संख्या बढ्दै गएको बताउँछन् । विभागमा पुस २०६८–मंसीर २०६९ को बीचमा परेको उजुरीमा संस्थागत ८९८ र व्यक्तिगत १४०८ छन् । ‘भिजिट भिसा’ मा जानेहरूले व्यक्तिगत उजुरी गर्छन्, त्यो पनि स्वदेश फर्कन पाए मात्र ।
 
आव २०६८÷६९ मा श्रम बेच्न विदेश गएका नेपालीबाट रु.३ खर्ब ३० अर्ब ९० करोड विप्रेषण (रेमिट्यान्स) भित्रियो, जुन मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २१.२ प्रतिशत हो । दशक लामो माओवादी हिंसात्मक विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरताले डुबाउन लागेको मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेको यो रेमिट्यान्समा मक्ख परिरहेको सरकार त्यही रेमिट्यान्स दिने आफ्ना हजारौं नागरिकको अवस्थाबारे भने उदासीन छ । रेमिट्यान्सको महत्व र योगदानको कुरा गर्ने अरू पक्षले पनि त्यसमा योगदान दिनेहरूले भोगिरहेको समस्याबारे बोलेका छैनन् । जसले गर्दा मानव तस्करहरूले मौका पाइरहेका छन्  ।

‘भागेर बचें’

राजीब
p25a
 
 

जुम इन्टरनेशनलले तान्जानियाको रिसोर्टमा सह–लेखापालको जागिर दिने भनेपछि रु.१ लाख बुझएँ, तर भिसा र अरू डकुमेन्ट नदिई ‘सब कुरा तयार छ’ भन्दै दिल्ली र त्यहाँबाट मुम्बई पुर्‍यायो । ‘एअरपोर्टमा भिसा लगाइहाल्छ’ भन्दै मुम्बईबाट उडाएर केन्या हुँदै तान्जानिया पुर्‍याएपछि मात्र ‘टुरिष्ट भिसा’ पाएँ । 

त्यहाँ ८ घण्टा हैन १२–१३ घण्टा काम गर्नुपर्‍यो, त्यो पनि रक्सी बेच्ने । १४ महीना काम गर्दा ६ महीनाको तलब पाइयो । रिसोर्ट मालिक हत्या लगायतको आरोपी रहेछ । म त केही पढेलेखेको मान्छे, तर चार महीनापछि तनहुँका हदै सोझ नुनबहादुर थापा आइपुगे । छिटै भाग्न नसके त्यहीं मारिने अवस्था देखेपछि पहिला उनैलाई उम्काउन आफू बन्धक बसेर साहुसँग पासपोर्ट मागिदिएँ । अनि पहिला बुझेको तलबले उनलाई नेपाल पठाएँ । 
 
अब मेरो पासपोर्ट माग्ने कुरै भएन । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावासलाई गोप्य ढंगले इमेल पठाएँ, उसले कुरियरबाट ट्राभल–डकुमेन्ट पठाइदियो । अनि त्यहाँ बस्ने नेपालीहरूसँग सहयोग मागेर भाग्ने पैसा जुटाएँ । तान्जानियाको एअरपोर्टमा १५० डलर घुस खुवाएपछि ट्राभल डकुमेन्टको आधारमा उड्न दियो । त्यहाँबाट मुम्बई आएँ, अध्यागमनमा सिक्किमतिरकी नेपाली बोल्ने केटी रहिछन्, उनैले बाहिर निकालिदिइन् । त्यहाँबाट जसोतसो रेल चढेर नेपाल आएँ ।
 
तान्जानियामा २०० जति नेपाली काम गर्छन् । धेरै नेपाली केटीहरूलाई यौन व्यवसायमा लगाइएको छ भन्ने सुनिन्थ्यो । सोच्छु, उनीहरू कसरी फर्केलान् ? 

 

comments powered by Disqus

रमझम