मुनामदन खण्डकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा 'हातको मैला, सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले...' भन्छन्। तर, पात्र मदन परिवारलाई गरीबीबाट उकास्ने बाध्यताले भोट गइछाड्छन्।
नेपालका लागि भोट अर्थात् तिब्बत कुनै वेला नूनदेखि सुनसम्मको सहारा थियो। 'ल्हासामा सुन छ कान मेरो बुच्चै' भन्ने उखान उहीवेला बनेको हो। मानवशास्त्री प्रा. डोरबहादुर विष्ट त तिब्बतसँग नून र सुनको मात्र होइन रगतको समेत सम्बन्ध रहेको बताउँथे।
छोटाछोटा आलेखमा लेखकले भूगोल, वातावरण र स्थानीय चालचलनबारे जानकारीमूलक तथ्य प्रस्तुत गरेका छन्। ठाउँठाउँमा बुद्ध र भृकुटीको प्रसंग उठाए तापनि लेखकले तिब्बत र नेपालबीचको सयौं वर्षदेखिको सम्बन्ध, तीनपटकको युद्ध (१८४५–१९१२) जस्ता महत्वपूर्ण घटनाबारे घोत्लिने मिहिनेत गरेको देखिंदैन। टिपोट र विवरणसँगै प्रस्तुतिमा थोरै मात्र ध्यान दिएको भए कृतिले वेग्लै रुप धारण गर्नेथियो। पुस्तकको अन्त्यमा राखिएका रंगीन तस्वीर र सन्दर्भ सूचीले पुस्तकलाई आकर्षक बनाएको छ।
यात्रा नै जीवन भन्न मनपराउने पदयात्राका सौखिन पराजुलीले आफ्नो जीवनमा पारेको प्रभाव समेटिएको कृति निकाल्ने हो भने आममानिसका लागि प्रेरणादायी हुनसक्छ।
रविन गिरी
आकांक्षाको कमलो अभिव्यक्ति
भर्खरै देखेको सपना खोज्न
सखारै उठेर हिंडेको
एउटा पहाडी खोला
दोभानमा–
अपहरित भएछ, नदीबाट।
चन्द्र रानोहोंछाको कविता कृति थिबिया चराको गीत मा संग्रहित यो 'अपहरण' शीर्षकको पहिलो सिङ्गो कविता हो, जसले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको कतिपय सीमान्तकृतहरुको भाव बोकेको छ। राजधानीको व्यस्त बागबजारमा पेन्टिङ गर्दै साहित्य सिर्जनामा लागेका चन्द्रको साहित्यिक अभिव्यक्तिको विषयवस्तु पनि आदिवासी जनजाति तथा सीमान्तकृतको धर्मसंस्कृति, भावना र आकांक्षा नै हो। किरात मिथक खेलाउने उनका सिर्जनामा मूलतः पूर्वी पहाडको परिवेश पाइन्छ।
कविताकृति मनमा आँधी चलेपछि लिएर २०६७ सालमा नेपाली साहित्य संसारमा झुल्किएका चन्द्रले त्यसको दुई वर्षमा भाउजू लडेको भीर मार्फत कथा जगतमा तरंग ल्याएका थिए। विविध जातजातिका माझ किरातवासीका सहजीवन, दैनन्दिन, दुःख–सुख, पीर–व्यथा र आकांक्षाको जीवन्त कथाहरु लेखेका उनले तेस्रो कृतिसम्म आइपुग्दा परिष्कार र दृष्टिकोणको दायरालाई धेरै फराकिलो पारेका छन्। उनले आफ्नो वैचारिक पक्षलाई अझ तिखो बनाएका छन्, कमलो अभिव्यक्ति–विशेषतालाई टड्कारै राखेर। यो संग्रहमा चन्द्रका कवि रहर, आकांक्षा, अफशोच, आह्वान र अठोट बताउने पाँचदेखि ७३ लाइनसम्मका कुल ४० कविता छन्। सबै कविताले पाठकलाई तरंगित पार्ने शक्ति बोकेका छन्।
आनन्द पी. राई
चिनारी