२४-३० असोज २०७२ | 11-17 October 2015

मोदीको 'क्षमापूजा'

Share:
  

नेपालमा नाकाबन्दी लगाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'पाप' गरेको भन्दै २१ असोजमा पशुपतिनाथ मन्दिरमा व्यंग्यात्मक क्षमापूजा गरियो। नेपाल आएका वेला पशुपतिनाथमा लामो पूजा गरेका मोदीले पशुपतिनाथ भएकै देशलाई अप्ठ्यारोमा पारेर 'पाप' गरेको भन्दै क्षमापूजा गरिएको हो।

क्षमापूजामा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, पूर्व मुख्यसचिव लीलामणि पौडेल, साहित्यकार कमल दीक्षितलगायतको सहभागिता थियो। पूजामा कलाकार गजुरेल मोदीकै स्वरुपमा उपस्थित थिए।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालीलाई दुःख दिइरहेका मोदीलाई पशुपतिनाथले सद्बुद्धि दिउन् भनेर पूजामा सहभागी भएको बताए। हरिवंश आचार्यले संविधानबाट चित्त दुःखाउने मधेशी, थारु, जनजातिको चित्त नेपाली आफैंले बुझाउन खोजेका वेला भारतले नाकाबन्दी गरेर ठाडो हस्तक्षेप गरेको बताए। महले नाकाबन्दीको मारमा परेका नेपालीको आँशुले भरिएको बोतल मोदी बनेका गजुरेललाई हस्तान्तरण गरेका थिए। मोदीको भेषमा गजुरेलले आफू अमेरिका गएका वेला सरकारले गरेको नाकाबन्दीप्रति क्षमा मागेका थिए।


पर्खाल ‍चेतना

यतिवेला चितवनका सार्वजनिक पर्खाल रंगिन थालेका छन्। तर, यसपटकको रंग राजनीतिक नारा र विज्ञापनको होइन, चेतनाको हो। साहित्यानुरागीको संस्था अक्षर समूह जिल्लाका सार्वजनिक पर्खाललाई सचेतनाका सन्देश छर्ने चित्र बनाउने अभियानमा लागेको छ।

अभियानको पहिलो चरणमा ८ राष्ट्रिय र १२ स्थानीय कलाकारले जिल्ला विकास समितिको पर्खालमा चित्र कोरे। पर्खालका चित्रमा प्रकृति संरक्षण, मानवअधिकार, महिला अधिकार, बाल अधिकारका साथै सांस्कृतिक जागरणका सन्देश छन्। चित्रकै कारण पर्खालको आकर्षण बढिरहेको छ। पर्खालमा उभिएर तस्वीर खिच्नेहरू बढेका छन्। “चित्रले दिने सन्देशले पनि मान्छेलाई तानेको छ”, जिविसका सूचना अधिकृत बलराम लुईंटेल भन्छन्। रु.५० हजार खर्चमा चित्र बनाइसकेपछि अब पर्खाल वरपर सरसफाईका साथै फूल तथा बिरुवा रोप्ने समूहको योजना छ।

“जिविसको कलात्मक चित्र देखेर निजी पर्खालमा समेत चित्र बनाउन आग्रह आएका छन्”, अक्षर समूहका अध्यक्ष एवं कवि भूपिन व्याकुल भन्छन्, “तर हाम्रो लक्ष्य सार्वजनिक पर्खाल नै हुन्।”

भूपिनका अनुसार यो अभियानलाई देशव्यापी बनाउने सोच राखिएको छ। अभियानका लागि केही रकम विदेशमा बस्ने नेपालीले सहयोग गरेका छन्।

सविता श्रेष्ठ


'हामी उठ्नेछौं'

हङकङ नेप्लिज् तेक्वान्दो एसोसिएसनको आयोजनामा हङकङमा भएको 'हामी उठ्नेछौं' कार्यक्रममा एकैसाथ दर्जनौं प्रतिभा प्रस्तुत भए।

कार्यक्रममा विभिन्न कलाकार, पत्रकार, गायक/गायिका आदिले प्रस्तुति दिए। कलाकार सरोज खनाल र सरिता गिरीले 'हाम्रो आवाज' नाटक देखाए। खनाल र अभिनेत्री करिश्मा मानन्धरको गीति नाटक 'प्रियसीका यादहरू' ले कार्यक्रममा रौनक थपेको थियो। सञ्चारकर्मी भूषण दाहालले अभिनेता राजेश हमालसँग 'फायरसाइड' कार्यक्रम सञ्चालन गरे।

नव–प्रतिभा पूजा राना मगर (१२), चलचित्र 'रेशम फिलिली' का कलाकार विनय श्रेष्ठ र मेनुका प्रधानले नृत्य प्रस्तुत गरे। गायिका कोमल ओली, अभिनेत्री सुष्मा कार्की, गायक दीपक लिम्बूको प्रस्तुतिलाई पनि दर्शकले रुचाए। कार्यक्रममा फोटो पत्रकार विकास रौनियार, मुकुन्द बोगटी, महेश प्रधान र निर्मल श्रेष्ठले महाभूकम्पका वेला खिचेका तस्वीरहरू पनि प्रदर्शन गरिएको थियो।

comments powered by Disqus

रमझम